साप्ताहिक संवाददाता
धनगढी प्रिमियर लिग (डीपीएल) चैत १७ गतेदेखि प्रारम्भ हुँदैछ र त्यसअघि सकिएको छ, खेलाडी अक्सनको प्रक्रिया । धेरै अर्थमा नेपाली क्रिकेटका लागि खेलाडी लिलामी प्रक्रिया नयाँ अनुभव हो जसको रोमाञ्चक दृश्य होटल अन्नपूर्णमा सञ्चालित डीपीएल–टु अक्सनका बेला देखियो । अक्सनमा कुन खेलाडीमाथि कति भाउ लगाउने हो, त्यो अनुमान मात्र भएर पुग्दैन, भाग्य पनि चाहिन्छ । अक्सनपछि कुन टिम कस्ता छन्, संक्षिप्त लेखाजोखा :
सीवाईसी अत्तरिया अक्सनमा खासै जम्न सकेन । त्यसैले अत्तरियाले अक्सनमा ७ लाख २० हजार रुपैयाँ मात्र खर्च गर्न सक्यो । यो टिम लगभग दोस्रो रोजाइका खेलाडीले भरिएको छ । टिममा सबैभन्दा महँगा खेलाडी नै १ लाख रुपैयाँका छन्, यस अर्थमा अत्तरियाले प्रमुख खेलाडीहरू किन्न असफल भयो, अथवा किन्ने प्रयास गर्दा पनि उसलाई भाग्यले साथ दिएन ।
अब प्रतियोगितामा राम्रो प्रदर्शनका लागि अत्तरियाले निकै मेहनत गर्नुपर्नेछ । अत्तरियालाई प्रतियोगिताको अर्को घरेलु टिम मानिन्छ, त्यसैले प्रतियोगितामा राम्रो प्रदर्शन गर्न उसलाई घरेलु दर्शकको पनि उत्तिकै साथ चाहिनेछ । यो टिमबाट चोटका कारण लामो समय मैदानबाहिर रहेका सुभाष खकुरेलले पुनरागमन गर्दैछन् ।
टिम : दीपेन्द्रसिंह ऐरी (रणनीतिक खेलाडी), कुशल भुर्तेल, सन्दीप जोरा, सुवर्णकार उराव, सुभाष खकुरेल, प्रेम तामाङ, कलमसिंह ऐरी, विनोद लामा, भुवन केसी, सागर भण्डारी, आकाश थापा तथा रोमन बम ।
डिपिएल–२ मा सबैभन्दा बलियो टिम कुनै छ भने त्यो विराटनगर किंग्स नै हो । यसको कारण हो, अक्सनका क्रममा विराटनगरले वास्तवमै बलियो टिम पाएको छ । यसका लागि विराटनगरले ठीक बोली मात्र लगाएको होइन, उसलाई भाग्यले पनि उत्तिकै साथ दिएको थियो । वसन्त रेग्मी सबैभन्दा बढी १ लाख ५० हजार रुपैयाँ भाउ लाग्ने खेलाडी रहे । सबै टिम रेग्मीलाई लिने पक्षमा थिए, तर गोलाप्रथामा उनी विराटनगरका खेलाडी बने । यस्तो अवसर धेरै पटक विराटनगरको पक्षमा गयो ।
त्यसैले अन्त्यमा सबैले भने, यसपटकको विराटनगर टिम ड्रिम टिम हो । टिमका रणनीतिक खेलाडी पारस खड्काले पनि माने, ‘हाम्रो टिम बलियो छ ।’ तर उनी यसलाई ड्रिम टिम मान्ने पक्षमा भने छैनन् । उनकै भाषामा आखिर चाहिएको त मैदानमा राम्रो प्रदर्शन नै हो । विराटनगरले अक्सनमा कुल ९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको थियो ।
टिम : पारस खड्का (रणनीतिक खेलाडी), वसन्त रेग्मी, पृथु बास्कोटा, पवन सर्राफ, रामनरेश गिरी, सौरभ खनाल, दिलीप नाथ, अनिल साह, पुरन विक, अविनाश बोहोरा, मञ्जित श्रेष्ठ, फिर्दोस अन्सारी तथा सुबोध ऐर ।
धेरै अर्थमा प्रतियोगिताको वास्तविक घरेलु टिम । त्यो भन्दा पनि महत्वपूर्ण तथ्य प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन । प्रतियोगिताको पहिलो संस्करण जित्दा धनगढीले विराटनगरलाई हराएको थियो । त्यतिबेला विजयी टिमका कप्तान थिए— पारस खड्का । अहिले उनी विराटनगर गएका छन् । यस्तोमा टिमको नेतृत्व गर्दैछन्, सोमपाल कामीले ।
नेपाली क्रिकेटले धेरै अपेक्षा गरेका खेलाडी सोमपालले पहिलो पटक घरेलु क्रिकेटमा ठूलो स्तरमा नेतृत्व गरिरहेका छन् । त्यसैले प्रश्न हुनेछ, उनको रणनीति कस्तो हुनेछ ? टिम ठिक्कको छ, यसमा १ लाख भाउ लागेका खेलाडी चार जना छन् । डिफेन्डिङ च्याम्पियनको भूमिकामा रहन उसलाई पक्कै कठिनाइ हुनेछ । धनगढीले अक्सनमा खर्च गरेको रकम हो— ७ लाख ५५ हजार रुपैयाँ ।
टिम : सोमपाल कामी (रणनीतिक खेलाडी), योगेन्द्रसिंह कार्की, ललितसिंह भण्डारी, सोनु तामाङ, राजेश पुलामी मगर, विजय राना, शंकर राना, रवीन्द्रजंग शाही, शम्साद शेख, राजु रिजाल, आसु कन्दोइ तथा महेश अधिकारी ।
ज्ञानेन्द्र मल्लको नेतृत्वमा छ, काठमाडौं गोल्डेन्स । यी रणनीतिक खेलाडीले प्रतियोगितामा कस्तो प्रदर्शन गर्ने हुन, त्यसले टिमको समग्र प्रदर्शनमा फरक पार्नेछ । ज्ञानेन्द्रले नेपाली राष्ट्रिय टिमका लागि आफ्नो लय गुमाएका छन्, त्यसैले टिमले राम्रो गर्न उनको प्रदर्शन पनि उस्तै हुनुपर्नेछ । घरेलु क्रिकेटमा भने उनले लगातार शानदार प्रदर्शन गरिरहेका छन् ।
अक्सनमा काठमाडौंले पनि खुलेर खर्च गर्न सकेन कि ? उसको खर्च रह्यो, ८ लाख ३५ हजार रुपैयाँ । यो टिमलाई सन्तुलित मान्न सकिन्छ र टिमको राम्रो प्रदर्शनमा फेरि एकपटक दोस्रो रोजाइका खेलाडीले उत्तिकै अब्बल दर्जाको प्रदर्शन गर्नुपर्ने हुन्छ । १ लाख रुपैयाँ भाउ लागेका नरेश बूढाऐर, ललित राजवंशी, अमित श्रेष्ठ, शाहब आलम तथा किशोर महतोमाथि राम्रो प्रदर्शन गर्ने दबाब हुनेछ ।
टिम : ज्ञानेन्द्र मल्ल (रणनीतिक खेलाडी), नरेश बुढाऐर, ललित राजवंशी, अमित श्रेष्ठ, शाहब आलम, किशोर महतो, सन्तोष भट्ट, रसिद खान, पुष्पा थापा, सञ्जय श्रेष्ठ, भुपेन्द्र थापा, विक्रम ठगुन्ना तथा सञ्जय वस्नेत ।
शक्ति गौचनको सबैभन्दा ठूलो विशेषता हो, आफ्ना खेलाडीबाट अधिकतम प्रदर्शन निकाल्नु ।
उनी फेरि एकपटक यो आफ्नो विशेषतामा सफल रहने हो भने मज्जाको टिम छ— रूपन्देही च्यालेन्जर्स । टिममा महँगा खेलाडीका रूपमा सागर पुन छन् अनि ट्वान्टी–२० खेलाडीका रूपमा परिचय बनाएका सिद्धान्त लोहनी ।
जितेन्द्र मुखियाले कस्तो प्रदर्शन गर्नेछन् ? त्यसमा पनि टिमको प्रदर्शन निर्भर रहनेछ । यस्तै अपेक्षा प्रदीप ऐरीबाट पनि हुनेछ । टिमले अक्सनमा ८ लाख ७० हजार रुपैयाँ मात्र खर्च गर्न सक्यो । टिमकै विश्लेषणअनुसार उसले आफूले चाहेका ८० प्रतिशत खेलाडी प्राप्त गरेको छ । त्यसैले अब रूपन्देहीको नजर राम्रो विदेशी खेलाडीमा हुनेछ ।
टिम : शक्ति गौचन (रणनीतिक खेलाडी), सागर पुन, सुसन भारी, सिद्धान्त लोहनी, विक्रमकुमार भुसाल, जितेन्द्र मुखिया, प्रदीप ऐरी, कुशल मल्ल, मोहम्मद सोनु अन्सारी, अमरसिंह रौतेला, दिपेश श्रेष्ठ, विपिन खत्री तथा प्रकाश जैसी ।
विराटनगर किंग्सपछि कुनै टिम साँच्चै राम्रो बनेको छ भने त्यो हो— महेन्द्रनगर युनाइटेड । महेन्द्रनगरले अक्सनमा मन खोलेर खर्च गरेको छ र खर्चको रकम छ— ९ लाख १५ हजार रुपैयाँ । टिमका रणनीतिक खेलाडी हुन्— विनोद भण्डारी । पछिल्लो समय उनी राष्ट्रिय टिममा पहिलो रोजाइमा पर्न छाडेका छन् । त्यसैले विनोदका लागि यो प्रतियोगिता आफूलाई सिद्ध गर्ने अवसरसमेत हुनेछ ।
यो टिममा १ लाख ५० हजार रुपैयाँका दुई जना खेलाडी छन्— करण केसी र आरिफ सेख । दुवै खेलाडीबाट प्रशस्तै अपेक्षा रहनेछ । प्रतियोगितामा पहिलो पटक जनाइरहेको महेन्द्रनगर सोही क्षेत्रको टिम पनि हो, त्यसैले टिमलाई अझ राम्रो गर्न घरेलु समर्थकको उत्साह पनि अपेक्षित हुनेछ ।
टिम : विनोद भण्डारी (रणनीतिक खेलाडी), करण केसी, आरिफ सेख, भुवन कार्की, रोहितकुमार पौडेल, हरिशंकर साह, अभिनाश कर्ण, प्रनित थापामगर, आसिफ सेख, अरुण ऐरी, नारायण जोशी, रोबिन क्षेत्री तथा दीपेन्द्र चन्द ।