साप्ताहिक संवाददाता
११ फागुनको साँझ सिन्धुलीका विशाल खड्काले प्रेमिका शर्मिला राउत र आफ्ना दुईजना साथी गायक असब सेवा तथा विपीन मैनालीलाई कोटेश्वरको एक रेस्टुराँमा पार्टी दिए । टन्न रक्सी पिएपछि रमाइलोका लागि उनीहरू चारै जना ट्याक्सी चढेर ठमेल हान्निए ।
ठमेलमा रमाइलो गर्दैमा बिहान ३ बजिसकेको थियो । निन्द्रा लागेपछि चारै जना होटल खोज्दै सुन्धारा पुगे । उनीहरूले सुन्धारास्थित होटल निकुद एन्ड गेस्ट हाउसको कोठा नंं. १०४ र १०५ बुक गरे । विशालले आफू प्रेमिकासँगै होटलको कोठा नंं. १०४ मा सुतेको र साथीहरू असब र विपीन १०५ मा नम्बरमा सुतेको बयान प्रहरीलाई दिएका छन् ।
रातभरि मस्ती गरेर प्रेमीसँगै सुतेकी शर्मिला भोलिपल्ट मृत अवस्थामा भेटिइन् । १२ फागुनको बिहान ९ बजे विशालले नै प्रहरीलाई खबर गरेर शर्मिलाले आत्महत्या गरेको बताए । जनसेवा र अपराध महाशाखाको प्रहरी टोली होटल पुग्यो । त्यहाँ पुग्दा शर्मिला मृत अवस्थामा थिइन्, उनीहरू सुतेको कोठामा २ वटा वियरको बोतल समेत फेला परेको प्रहरीले जनाएको छ ।
प्रेमीसँगै सुतेकी शर्मिलाले अचानक किन आत्महत्या गरिन भन्ने कुरा रहस्यमय बन्दै गएको छ । प्रहरीले उक्त घटनामाथि अनुसन्धान जारी रहेको जनाएको छ । शिक्षण अस्पतालमा शर्मिलाको मृत शरीरको पोष्टमार्टम भए पनि त्यसको रिपोर्ट आउन बाँकी छ ।
जनसेवाका डिएसपी टेकुनन्द इवालिम्बुले आफूहरूले घटनाको गम्भीर अनुसन्धान गरिरहेको बताए । उनले साप्ताहिकसँग भने, ‘प्रक्रियागत रूपमा गहन अध्ययन गरिरहेका छौं, पोष्टमाष्र्टम रिपोर्ट पनि आइसकेको छैन्, त्यो पनि घटनाको अनुसन्धानका लागि एउटा आधार बन्ला । कानुनी रूपमा पनि हामीले घटनाको अनुसन्धानलाई जारी राखेका छौं ।’
शर्मिलाको परिवारले घटना रहस्यमय भएको भन्दै प्रेमी विशाल, गायक असब सेवा तथा विपीन मैनालीमाथि किटानी जाहेरी दर्ता गरेको छ । घटनाको किटानी जाहेरी दिइएका २१ वर्षीय विपीन काभ्रे पाँचखालका हुन् । उनी, ज्येष्ठ आडियोलोजी सहकारीमा कलेक्टरको काम गर्छन् भने उदयपुर गाईघाटका २० वर्षीय असब सेवा अध्ययनसँगसँगै गायनमा समेत सक्रिय छन् ।
विशाल भने मोडलिङसँगै रिन्को ओभरसिजको म्यानेजरका रूपमा काम गर्थे । मोडलिङ र फेसनमा समेत सक्रिय शर्मिला पहिले त्यही म्यानपावरमा कार्यरत छन् । पछि, विशालले कोटेश्वरमा आरएन नामक रेस्टुराँ सञ्चालनको तयारी गरेपछि शर्मिला म्यानपावरको जागिर छाडेर रेस्टुराँ निर्माणको कामको रेखदेखमा सक्रिय थिइन् ।
प्रेमीको बयान–डेढ वर्ष लामो प्रेम
सिन्धुली दुधौलीका विशालले उदयपुर कटारीकी मृतक २४ वर्षीया शर्मिलासँग आफू डेढ वर्षदेखि प्रेममा रहेको बयान प्रहरीलाई दिएका छन् । उनले आफूहरूबीच गहिरो प्रेम रहेको र यस विषयमा दुवै परिवार जानकार रहेको दाबी समेत गरेका छन् ।
विशालले आफूहरू कोटेश्वरमा रक्सी पिएर ठमेल गएको, त्यहाँ सुत्ने ठाउँ नभेटिएपछि सुन्धारा पुगेको कुरा प्रहरीलाई बताएका छन् । उनले ठमेलबाट फर्केर सुत्ने बेलामा प्रेमिकासँग शारीरिक सम्बन्ध भएको स्वीकार गरेका छन् । तर, त्यो सहमतिमै भएको र आफूहरूबीच कुनै त्यस्तो असहमति नरहेको दाबी उनको छ । रक्सीको ह्याङ र यौनसम्पर्कपछि थकित भएर आफू सुतेको बेला शर्मिलाको मुखबाट झरेको चिसो फिज आफ्नो शरीरमा परेपछि बिउझिएको र शर्मिला फ्यानमा पासो लगाएर झुन्डिरहेको देखेको उनको दाबी छ ।
खड्काले आफूले तत्कालै शर्मिलाको पासो फुकालेर बेडमा निकाल्दा उनको मृत्यु भैसकेको बताएका छन् । यो कुरा तत्काल साथीहरूलाई खबर गरे लगत्तै सबै जना तल ओर्लिएर जनसेवा प्रहरीलाई खबर गरिएको खड्काको भनाइ छ ।