फाल्गुन २६, २०७४
उत्तरी ध्रुवको केन्द्रबिन्दुबाट २ हजार ४ सय १४ किलोमिटर टाढा रहेको रुसको भर्खोयान्स्क सहर संसारकै सबैभन्दा चिसो सहर मानिन्छ । अक्टोबरदेखि अप्रिलसम्म त्यहाँको औसत तापक्रम माइनस ५६ डिग्री सेल्सियस रहन्छ । सन् १८९२ को जाडोमा त्यहाँको तापक्रम माइनस ९० डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।
सन् २००२ को जनगणनाअनुसार त्यहाँ १ हजार ४ सय ३४ जना मानिस बसोबास गर्छन् । सन् १६३८ मा पहिलो पटक रूसमा मासु आपूर्तिका लागि रोयल स्टेगजातको हरिणको प्रजननका लागि एउटा किल्ला निर्माण गरेर यो सहरको स्थापना गरिएको थियो । पछि सुनखानी फेला परेपश्चात् यो सहर थप गुलजार भएको थियो । सन् १८६० देखि रुसीक्रान्ति (सन् १९१७) को समयसम्म यो सहरलाई रूसका शासकहरूले राजनैतिक बन्दी तथा क्रूर हत्याराहरूलाई जेल सजाय दिने ठाउँका रूपमा समेत प्रयोग गरेका थिए ।