साप्ताहिक संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक हुन्– जगत टमाटा । उनी लामो समयदेखि राष्ट्रिय टिमसँग आवद्ध छन् र उनलाई टिमका सम्बन्धमा राम्रो जानकारी पनि छ । फरक–फरक अवसरमा टमाटाले आफ्नो उपयोगिता पनि सिद्ध गरिसकेका छन् । उनकै नेतृत्वमा नेपालले आईसीसी डिभिजन–टु खेलेको थियो र त्यसमा सबै आलोचकलाई जवाफ दिदंै नेपाल आईसीसी क्रिकेट वल्र्ड क्रिकेट क्वालिफायरका लागि योग्य भएको थियो । टमाटासँग यही विश्वकप छनौट खेलमा केन्द्रित रहेर अनलाइन मार्फत गरिएको पाँच प्रश्न :
आईसीसी क्रिकेट वल्र्ड क्रिकेट क्वालिफायरको तयारीका लागि पर्याप्त समय नभएको हो ?
पर्याप्त समय भएन भनेर पनि भन्न मिल्दैन, किनभने हामी २ महिनादेखि निरन्तर खेलिरहेका छौं । त्यसैले आराम पनि उत्तिकै आवश्यक थियो । तयारीका लागि १५–२० दिन थप समय पाएको भए अझ राम्रो हुने थियो ।
जति पनि तयारी भयो, त्यसबाट खेलाडीहरू प्रतियोगिताका लागि योग्य हुन सके त ?
हाम्रा सबै खेलाडी लयमा छन् । मनोबल पनि उच्च छ । हामीसँग जुन समय थियो त्यसकै परिधिमा बसेर तयारी गर्दा खेलाडी फिट छन् । सबैमा राम्रो खेल्नु पर्छ भन्ने भावना पनि छ । अन्तिम बलसम्म खेल्न सकियो भने जितिन्छ भन्ने मनोबल प्रबल छ ।
नेपालको लक्ष्य के छ ?
पहिलो लक्ष्य सुपर सिक्ससम्म जाने नै हो । त्यसमा हाम्रो सम्भावना पनि छ । हामीलाई केही डर छैन, तर हाम्रा प्रतिद्वन्द्वीलाई त्यो भन्दा बढी डर छ । राम्रो खेल्न हामीले विश्वकप छनौट जस्तो उत्कृष्ट प्लेटफर्म पाएका छौं । हामी सामु चुनौती पनि धेरै छन् ।
टिमको ब्याटिङ कमजोर रहेको स्थितिमा टिम संरचना के हुनेछ ?
पूरा प्रतियोगितामा हाम्रो ब्याटिङ सेट राम्रो हुने सम्भावना बढी छ, जुन डिभिजन–टुमा थियो । सबै खेलाडीले खेल्दै गएपछि अनुभव बटुल्ने हो । टिममा हामीसँग अरु पनि विकल्प छन् ।
ती विकल्प के–के हुन सक्छन् ?
नयाँ प्रारम्भिक ब्याट्सम्यानलाई विश्वकप छनौटमा परिक्षण गर्नु जोखिमपूर्ण हुन सक्छ । अनिल शाहलाई पनि माथि ल्याएर खेलाउन सकिन्छ, उनी उपयोगी विकेट किपर पनि हुन् । ललितनारायण राजवंशी राम्रो विकल्प हुन सक्छन् ।