साप्ताहिक संवाददाता
लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय अभिनेत्री हुन्— बेनिशा हमाल । नृत्यमा अब्बल यी अभिनेत्री अध्ययनशील समेत छिन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर उत्तीर्ण हमालका लागि वर्ष २०७४ भाग्यशाली सावित भैसकेको छ । व्यवसायिक पाटो जे जस्तो भए पनि उनले अभिनय गरेका दुई चलचित्र झ्यानाकुटी तथा ब्लाइन्ड रक्स यही वर्ष प्रदर्शनमा आए । यी दुई चलचित्रमा दुई भिन्न चरित्र निर्वाह गरेकी बेनिशाले आफूमा अभिनय प्रतिभाको कमि छैन भन्ने कुरा प्रमाणित गरिसकेकी छिन् । अघिल्लो साता प्रदर्शन भएको चलचित्र ‘ब्लाइन्ड रक्स’ मा त बेनिशाले दृष्टिविहिन युवती सृष्टि केसीको संघर्षपूर्ण जीवनलाई पर्दामा उतारेकी छिन् । चलचित्र हेर्ने सर्वसाधारण दर्शकदेखि सेलिब्रेटीसम्मले बेनिशाको अभिनयको खुलेर प्रशंसा गरिरहेका छन् । प्रतिभाशाली अभिनेत्री बेनिशा हमालका बारेमा सहकर्मीहरूको टिप्पणी :
बेनिशा हमालमा कतिसम्म क्षमता छ भन्ने कुरा थाहा पाउन चलचित्र ब्लाइन्ड रक्स हेरे पुग्छ । हरेक प्रकारको भूमिकामा डुबेर अभिनय गर्न सक्ने उनको क्षमता उदाहरणीय छ ।
केकी अधिकारी, अभिनेत्री
मैले बेनिशा हमाललाई सबैभन्दा पहिले मोडलका रूपमा चिनेकी हुँ । उनी उत्कृष्ट मोडल हुन् । बेनिशा अभिनय तथा नृत्यमा समेत उनी उत्तिकै सफल छिन् भने व्यक्तिगत रूपमा पनि निकै सरल छिन् । उनले पछिल्लो चलचित्र ब्लाइन्ड रक्समा अभिनयको सीमा नै पार गरेकी छिन्, अहिलेसम्मको सबैभन्दा उत्कृष्ट अभिनय गरेर ।
जयन सुब्बा मानन्धर, कोरियोग्राफर
अभिनेत्री बेनिशा हमाल अभिनयमा यति गहिरोसँग डुब्न सक्ने कलाकार हुन् भन्ने कुरा मैले भरखरै अनुभव गरेकी छु । बेनिशाले हालै प्रदर्शनमा आएको चलचित्रमार्फत जीवनबाट निरास भएकाहरूलाई जीवन कसरी जीउने भन्ने हौसला प्रदान गरेकी छिन् ।
अनुशा पौडेल, भिजे
बेनिशा हमालमा अभिनयको प्रशस्त सम्भावना छ । उनी हरेक प्रकारको भूमिका सहजतापूर्वक निर्वाह गर्न सक्छिन् । मैले पहिलो पटक उनीसँग चलचित्र ब्लाइन्ड रक्समा अभिनय गर्ने मौका पाएँ । म आफैंले पनि चलचित्रमा आँखा कम देख्ने पात्रको भूमिका निर्वाह गरेको छु । सँगै अभिनय गर्ने क्रममा मैले बेनिशाबाट धेरै कुरा सिक्ने मौका पाएको छु ।
अर्पण थापा, अभिनेता
बेनिशा हमाल प्रतिभाको खानी भएकै कारण मैले उनलाई बायोपिक चलचित्रमा लिने हिम्मत गरेको हुँ । उनको अभिनयले सबैलाई प्रभावित तुल्याएकोमा म खुसी पनि छु । आँखा देख्ने एउटा कलाकारले आँखा नदेख्ने भूमिका निर्वाह गर्नु आफैंमा चुनौतीको कार्य हो । चलचित्र ब्लाइन्ड रक्समार्फत बेनिशाले आफू कति प्रभावशाली कलाकार हुँ भन्ने कुरा प्रमाणित गरेकी छिन् ।
मिलन चाम्स, निर्देशक