अक्सर मानिसको जिन्दगी बहानामै अल्झन्छ । बहाना ठूल्ठूला चट्टानका । बहाना ठिक्कका ढुंगामूढाका । बहाना गिट्टी र बालुवाजत्रा पनि । बहानाका साना–ठूला ढिस्काहरू । बहाना समथर अनि उबडखाबड पनि । बहाना आकारसहितका । बहाना बिनाआकारका पनि ।
केही बहाना अरूसित । केही बहाना आफैँसित ।
कुनै पनि काम गर्ने चाहना मानिसभित्र जतिवटा कारणसहित उपस्थित हुन्छ, त्यही काम नगर्ने बहाना त्योभन्दा बढी परिमाणमा उपस्थित हुन्छन् । त्यसो त केही गर्नु पनि आफ्नै लागि हो र नगर्नु पनि आफ्नै लागि हो भन्ने चेतना मानिसमा नभएको कहाँ हो र ?
सानो छँदा परीक्षा नजिकिँदा समेत पढ्न छोडेर टिभीमा झुन्डिएर बसिन्थ्यो । बा–आमा भन्नुहुन्थ्यो, ‘पढ्नु पर्दैन ?’
म भन्थेँ, ‘कस्तो पेट दुखिराख्या छ ।’
अलिक ठूलो भएँ । बा–आमाले पढ्न दबाब दिन छाड्नुभयो । यद्यपि पढ्ने आफ्नै लागि हो भन्ने चेतना पनि आइसकेको थियो । बहाना आफैँसित गर्न थालियो । जस्तो कि चिया खाएपछि पढ्छु । खाना खाएपछि पढ्छु । भोलिदेखि पढ्छु । आइतबारदेखि पढ्छु । पानी रोक्किएपछि पढ्छु । घाम लागेपछि पढ्छु । पुरानो नोट होइन, नयाँ किताब किनेपछि पढ्छु आदि–आदि ।
केटीकेटीमा अरूलाई झुक्याउने मान्छे, ठूलो भएपछि आफैँलाई झुक्याउन थालेँ । आफैँसित झुक्किन थालेँ ।
वयस्क हुँदा पनि त आफैँसित बहाना बनाउने बानी कहाँ हटेको छ र ? हरेक नयाँ पुस्तक लेख्न थाल्ने बेलामा आफैँसित बहाना बनाउँदा–बनाउँदै, वैशाखमा लेख्न सुरु गर्नुपर्ने कुरालाई सारेर चैत पुर्याइदिइरहेको हुन्छु ।
अरूको आइतबार आइतबारै आउँदै हो, मेरो आइतबार सरेर शुक्रबार पुगिदिन्छ ।
हामी जे–जति काम, अनेक बहानाले ठेलेर पर–पर सार्दै जान्र्छौं, जिन्दगीले हामीलाई त्यति नै शक्ति लगाएर पछिल्तिर धकेलिरहेको चालसम्म पाउँदैनौँ । बहानाले मानिसलाई अल्छी बनाउँछ । अकर्मण्य बनाउँछ । ठग बनाउँछ । धोकेबाज बनाउँछ । आफूलाई भ्रममा राख्नेले अरूलाई पनि भ्रममा राख्न सक्छ । बहानाले मानिसलाई हुतिहारा पनि बनाउँछ ।
लक्ष्यका लागि हिँड्ने मानिससित गन्तव्य हुन्छ, सपनाहरू हुन्छन्, आँट, हिम्मत, ऊर्जा हुन्छ, केवल बहाना हुँदैनन् । बहाना त लक्ष्यहीनहरूका लागि हो । तिनै मानिसहरूसित खातका खात बहाना हुन्छन्, जोसित सपना हुँदैन, चाहना हुँदैन ।
हाम्रो काम र जाँगरको बाटोबीचमा आइरहने बहाना भनेका खाल्डाखुल्डी, हिलो, धूलो आदिजस्तै हुन् । खाल्डो छ भनेर यात्रा रद्द गर्ने कुरा आउँदैन । हिलो छ भन्दैमा बाटै त्याग गर्ने कुरा आउँदैन । धूलो छ भन्दैमा घरबाटै ननिस्किने कुरा आउँदैन ।
बहानाहरू त्यस्तै हुन्, तिनले हामीभित्र भएको हिम्मतसित पैँठेजोरी खेल्छन् । ती हामीभित्रको ऊर्जालाई आफ्नो पैँतालामुन्तिर थिचेर राख्न चाहन्छन् । बहानाहरू हाम्रो गतिशीलताका दुस्मन हुन् । बहानाहरू हरदम हाम्रो सपनाको घाँटी थिच्न उद्यत हुन्छन् । बहानाहरू हाम्रो रफ्तारसित रिसाउँछन् । बहानाहरू हाम्रो प्रगतिको बाटो छेकेर बसिरहेका हुन्छन् ।
बहानाको काँडेतारमा, हाम्रा असंख्य सफलता अड्किएका होलान् । असंख्य सपना लत्रिएका होलान् । पन्छाउनुहोस् ती काँडेतार । बहानाको काँडेतार कुनै बाह्य गतिरोध होइन, जसलाई तपाईं पन्छाउन सक्नुहुन्न । बहाना फगत तपाईंकै मस्तिष्कले सिर्जना गरेका झारपात हुन्, जसलाई तपाईंको जाँगरको हतियारले मज्जाले फाँड्न सक्छ । एकपटक प्रयास गर्नुस्, कति सुन्दर देखिनेछ तपाईंको संसार ।
जिन्दगी बहानाले चलाउने होइन, जिन्दगीको नाउँमा बसेर निरन्तर बहना चलाउने हो, कहीँ त पुगिन्छ ।