साप्ताहिक संवाददाता
‘दोहोरी ब्याटल...’ गीतको विवाद के हो ?
वास्तवमा दोहोरी ब्याटलको विवाद केही पनि होइन । सामाजिक सञ्जालमा अनावश्यक टीका–टिप्पणी हुन थालेपछि हामीले यसलाई युट्युबबाट हटाएका हौं ।
युट्युबबाटै गीत हटाउनु पर्ने खास कारण के पर्यो ?
म र गायिका प्रीति आलेको स्वरको उक्त दोहोरी ब्याटल केही अग्रज तथा सांगीतिक क्षेत्रका अभिभावकहरूको सल्लाहलाई मनन गर्दै हटाएका हौं । भिडियोमा देखाइएको केही दृश्यप्रति त मैले आफैं पनि असहज महसुस गरें । यद्यपि समग्र गीतप्रति असहमत छैन ।
४३ देखि २ नम्बरसम्म पुग्न सफल भएको भिडियो डिटिल गर्दा पीडा भएन ?
मैले यो भिडियो डिलिट गर्दा यूट्युब ट्रेण्डिङ को नम्बर ५ मा थियो । ९ लाखभन्दा धेरै पटक हेरिएको तथा श्रोतामाझ लोकप्रिय भैरहेको भिडियोलाई आफैंले हटाउन पनि ठूलै हिम्मत चाहिने रहेछ । यद्यपि मैले हिम्मत गरेर त्यो भिडियो हटाएँ ।
रेकर्डिङदेखि छायांकनसम्म खर्च पनि टन्नै भएको थियो होला नि ?
त्यसको त लेखाजोखै छैन । रेकर्डिङदेखि पोखरा गएर छायांकन गर्दासम्म, यसको सिर्जनादेखि भिडियो निर्देशनसम्म मैले कति पैसा र समय लगानी गरेको छु भन्ने कुरा भगवानलाई मात्र थाहा छ । गायिका प्रिती आले (दिदी) ले गर्नुभएको निशुल्क सहयोगको त हिसाब नै छुट्टै ।
गीत र भिडियोमार्फत के देखाउन चाहनुभएको थियो ?
हाम्रो समाजको एउटा पाटो अथवा शैली यस्तो पनि छ है भन्ने देखाउन खोजेको थिएँ । मसँग धेरै पैसा भएको भए चलचित्र नै बनाउँथे, पैसा नभएकाले म्युजिक भिडियो बनाएको हुँ । मैले ध्यानमा बसेर वा अलौकिक शक्ति प्राप्त गरेर यो गीत बनाएको होइन । हाम्रै वरिपरिको परिवेशलाई चित्रण गरेको हुँ । यो गीत सही हो कि गलत भन्ने विषयमा मसंग प्रशस्त जवाफ छ ।
अब पुन: यो भिडियो हेर्न पाइएला कि नपाइएला ?
मौलिकता र आधुनिकताको मझधारमा अल्झिएका गीतहरूलाई संरक्षण गर्नु पर्छ भन्ने मेरो भनाइ हो । केही समयको अन्तरालमा भिडियो सेन्सर गरेर पुन: अपलोड गर्ने तयारी गरेको छु ।