साप्ताहिक संवाददाता
अमर न्यौपाने, उपन्यासकार
म चलचित्र निकै हेर्छु । समय मिल्दा हलमै पनि पुग्छु, नहुँदा ल्यापटपमै पनि हेर्छु । धेरैजसो ल्यापटपमै हेर्ने बानी छ । हलमा छोटो समय चल्छ, उत्रिहाल्छ, फेरि हलसम्म जान, आउन समय लाग्छ । काठमाडौंको जाममा समय पनि हुँदैन । चलचित्र हेर्न भने हलमै मज्जा हुन्छ । मलाई अभिनयजस्तो नलाग्ने, यो चलचित्र होइन, जिन्दगी नै हेरिरहेजस्तो लाग्ने चलचित्र मन पर्छन् । मैले पहिलो पटक ९ कक्षा पढ्दा तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र अन्याय हेरेको थिएँ । मलाई मन परेका चलचित्रहरू द रिडर जुन पुस्तकमाथि आधारित छ, इटालियन चलचित्र मलेना, एक फाइभ इन् द आफ्टरनुन्, बुद्ध क्ल्याप आउट् अफ सेम हुन् । नेपालीमा पशुपतिप्रसाद, जात्रा र हिन्दीमा पुष्पक, इजाजत आदि मन परेका मध्ये केही चलचित्र हुन् । मलाई विशेष गरी इरानी चलचित्र मन पर्छन् । इरानी कलाकारहरूको अभिनय एकदमै जीवन्त लाग्छ । त्यहाँ यहाँजस्तो स्वतन्त्रता छैन । जीवनका स–साना पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरिएको हुन्छ । बोमन इरानी र कंगना रणावतको अभिनय एकदमै मनपर्छ, चलचित्र होइन, वास्तविक जिन्दगी नै हेरेजस्तो । चलचित्र भनेको क्यामेराले लेखेको साहित्य हो । साहित्य भनेको अक्षरले लेखेको चलचित्र हो । चलचित्र हरेपछि लेखनमा ऊर्जा, उत्साह आउँछ । एउटा चलचित्र लेखकलाई साहित्यले ऊर्जा भर्छ, त्यसैगरी लेखकलाई चलचित्रले ऊर्जा भर्छ । यी दुईको प्रस्तुति मात्र फरक हो ।
सुबिन भट्टराई, उपन्यासकार
मलाई खासगरी एक्सनभन्दा ड्रामा, यात्रा टाइपको तथा प्रेरणादायी चलचित्र मन पर्छन् । मैले पहिलो पटक शम्भु प्रधानले निर्देशन गरेको चलचित्र ‘सम्झना’ हेरेको हुँ । एलकेजी पढ्दा भागेर हेरेको चलचित्र हो त्यो । ड्रामा बेसका चलचित्र गन विद् द विन्ड, द वे ब्याक, लिट मिस सन्साइन, बुक थिफ, द किंग्स स्पिच, सिन्डिलर लिस्ट, क्याप्टेन फेन्टास्टिक, अक्टोबर स्काइ, त्यस्तै थ्रिलर टाइपको साइको, इमोसनल चलचित्र हाचिको, हिटलरको पालाको कथा, जसले युद्ध कथा भन्छ, ‘द पियानिस्ट’ मलाई मन परेका चलचित्र हुन् । हिन्दीमा गाइड, जव वि मेट्, रकस्टार, जिन्दगी नमिलेगा दोबारा, आनन्द, दिल धडकने दो, थ्रि इडियट, क्वीन, इंग्लिस विंग्लिस, मिर्जा आदि हुन् । नेपालीमा वसन्ती, लाहुरे, नुमाफुङ, दुइ रुपैयाँ, झोला, साँघुरो, जात्रा आदि मन परेका चलचित्र हुन् । मेरा लागि पुस्तक लेखनको मुख्य स्रोत नै चलचित्र हो, संवाद, इमोसन, प्रस्तुति, पात्र चयन, पात्रको विकास आदिका लागि म चलचित्रबाट सहयोग लिन्छु ।
अर्चना थापा, लेखक/समालोचक
खासगरी नयाँ विषयवस्तु, प्रस्तुति तथा फरक दृष्टिकोण राखेर निर्माण गरिएको चलचित्र मन पर्छ । पहिलो पटक मैले हिन्दी चलचित्र हाथी मेरे साथी हेरेजस्तो लाग्छ । म बढीजसो अंग्रेजी चलचित्र हेर्छु । आफ्नो मुडमा पनि भर पर्छ । द गड फादर मलाई मन परेको चलचित्र हो । यो तीन भागमा बाँडिएको छ । इटलीबाट अमेरिका पुगेका डनहरूले कसरी आफ्नो साम्राज्य जमाएका छन् भन्ने विषयमा केन्द्रित छ यो चलचित्र । उपन्यासमा आधारित ‘इंग्लिस प्यासेन्ट’, ‘डाक्टर जिभागो’, ‘एटोन्मेन्ट’ का साथै दोस्रो विश्व युद्धमा एउटा जर्मन नागरिकले कसरी यहुदीलाई बचायो भन्ने सत्य घटनामा आधारित ‘सिन्लर्स लिस्ट’ पनि मलाई मन परेको चलचित्र हो । त्यस्तै नेपालीमा गाँठो, पशुपतिप्रसाद, मेघा र हिन्दीमा दंगल मन परेका चलचित्र हुन् ।
मिलन संग्रौला, उपन्यासकार
मलाई साहसिक र साइन्स फिक्सन (विज्ञान कथामा आधारित), सोसल ड्रामा तथा सामाजिक सन्देशहरू बोकेका चलचित्र मन पर्छन् । अंग्रेजीमा अवतार, स्पाइडर म्यान, हिन्दीमा बाहुबली, पिके, दंगल, तारे जमिमपर तथा नेपालीमा राम्रो मेकिङ भएका पशुपतिप्रसाद, टलकजंग भर्सेज टुल्के, जात्रा आदि मन परेका चलचित्र हुन् । त्यसबाहेक अंग्रेजी सबटाइटल राखिएका इरानी तथा इराकी चलचित्रहरू पनि मलाई मन पर्छन् । चलचित्र हेरेपछि पुस्तक लेखनको प्रस्तुतिमा सहयोग मिल्छ ।
युवराज नयाँघरे, निबन्धकार
म ओस्कार पुरस्कार प्राप्त अंग्रेजी सिनेमा हेर्छु । टाइटानिक निकै पटक हेरें । चलचित्र हेर्नू भनेको आफूले भोगेको समय र समाजको नाटकीय अनुभूति लिनु पनि हो । पुराना नेपाली चलचित्र कुसुमे रुमाल, सम्झना, कान्छी मलाई उत्कृष्ट लाग्छन् । सिन्दूर तथा जीवनरेखा पनि गतिला सिनेमा हुन् । पछिल्लो पटक हेरेका चलचित्र कालो पोथी र एभरेस्ट हुन् । पहिले अमिताभ बच्चनका एक्सन चलचित्र खुबै हेरें । कुनै बेला कुमारी सिनेमा हलमा एकै दिनमा चारवटा शो पनि हेरियो । कारण चलचित्रकी नायिका पूनमको अनुहार हाम्रो कलेजकी एक सुन्दरीसँग मिल्नु थियो । ती सुन्दरीको रूपको तिर्सना मेट्न पनि मैले एकै दिनमा चार शोसम्म सिनेमा हेरेको थिएँ ।