साप्ताहिक संवाददाता
देविका केसी, गायिका
सांगीतिक क्षेत्रमा प्रवेश गरेपछि राम्रा–राम्रा गीत गाउने अनि ती गीतबाट प्रोत्साहनस्वरूप पुरस्कार पाउने चाहना हरेक गायक–गायिकामा हुन्छ । ममा पनि त्यस्तो चाहना हुनु स्वभाविक हो । यद्यपि म यो कुरामा कति भाग्यमानी छु भने मैले सांगीतिक यात्राको प्रारम्भमै एवार्ड जित्ने सौभाग्य पाएकी थिएँ । मैले एउटा गायन प्रतियोगितामा भाग लिएर बहुप्रतिभाशाली एवार्ड जितेकी थिएँ । नेपाल सांगीतिक संघले आयोजना गरेको उक्त प्रतियोगितामा जितेको एवार्ड नै मेरो सांगीतिक जीवनको पहिलो एवार्ड थियो ।
प्रतियोगितामा मैले एउटा रमाइलो दोहोरी गाएकी थिएँ । उक्त प्रतियोगिताका क्रममा मैले अन्य गीत पनि गाएँ । सबै विधाका गीत गाउन सक्ने प्रतिभाका रूपमा मैले उक्त एवार्ड जितेकी थिएँ । त्यसपछि मैले अन्य दोहोरी प्रतियोगितामा पनि प्रथम हुँदै एवार्डहरू जितेकी छु । यो वर्ष भने मैले ओएस म्युजिक एवार्डमा उत्ताउली मोरी गीतबाट एवार्ड जितेकी छु ।