साप्ताहिक संवाददाता
मोडलका रूपमा परिचित अनुहार हुन्— सृष्टि खड्का । कलाकारिता यात्रा प्रारम्भ गर्न सर्लाहीबाट काठमाडौं आएकी सृष्टिले म्युजिक भिडियोबाट आफ्नो अभिनय यात्रा प्रारम्भ गरिन् । मेलिना राईको एउटा गीतबाट प्रारम्भ भएको उनको अभिनय यात्रा अहिले पनि म्युजिक भिडियोमै केन्द्रित छ । यद्यपि ५ फिट ५ इन्च अग्ली सृष्टि कुनै दिन नेपाली चलचित्रमा देखा परिन् भने अचम्म नमाने हुन्छ ।
म्युजिक भिडियोमै अभिनयका विविध आयाम पूरा गरिसकेकी सृष्टिलाई अहिले एउटा म्युजिक भिडियोले चर्चामा ल्याएको छ । भिजिुअल एडिटरबाट निर्देशक बनेका निशान घिमिरेले निर्देशन गरेको ‘नमार मलाई’ अर्थात् डन्ट किल मि गीतको भिडियोमा कारुणीक अभिनय गरेर सृष्टिले सबैको मन जितेकी छिन् । १३ वर्षीया गायिका प्रेगिशा पौडेलको स्वरको उक्त भिडियोमा सृष्टिले कुमारी आमाको भूमिका निर्वाह गरेकी छिन् ।
समाज तथा परिवारले गर्भपतनका लागि दिएको दबाबविरुद्ध सृष्टिले गर्भमा रहेको भ्रूणलाई हत्या हुनबाट जोगाउँदै शिशु जन्माउँछिन् । विवाहअघिको शारीरिक सम्बन्ध गलत हो भन्ने सन्देश दिन सफल उक्त भिडियोको सफलतासँगै सृष्टि लोकप्रियताको सिँढी उक्लिरहेकी छिन् ।