साप्ताहिक संवाददाता
नेहा बानु नेपालकी चर्चित मोडल हुन् । उनले दर्जनौं पटक र्याममा क्याटवाक गरिसकेकी छिन् । सुकोमल मोडल नेहाको अर्को पाटो अन्तरक्लब महिला स्क्वाट प्रतिस्पर्धामा पनि देखियो । यो प्रतिस्पर्धामा उनले ६० किलोग्रामभन्दा कम तौल समूहमा प्रतिस्पर्धा गर्दै १ सय २० किलोग्राम तौल उचालेर आफूलाई नेपालकै बलियो महिला प्रमाणित गरेकी छिन् ।
ब्रिटिस कलेजकी छात्रा नेहा अहिलेका युवतीहरू कोमल हुन्छन् उनीहरू कठिन काम गर्न सक्दैनन् भन्ने भावनालाई चिर्न पनि आफूले यस्तो प्रतियोगितामा सहभागिता जनाएको बताउँछिन् । यस्ता प्रतियोगिताले हामीका आत्मविश्वास बढ्नुका साथै महिलाहरू पनि केही गर्न सक्छन् भन्ने सन्देश जान्छ । यस्तै विचार ६० किलोग्रामभन्दा बढी तौल समूहमा सहभागिता गरेर स्वर्ण पदक जित्ने सेलिना हाडाको पनि छ । प्रतियोगितामा १ सय ४० किलोग्राम उचालेर सर्वाधिक बलियो खेलाडी बनेकी हाडा ट्राभल एन्ड टुरिज्ममा ब्याचलर गरिरहेकी छिन् । उनी जिममा जान थालेको २ वर्ष मात्र भयो । उनले जिममा वर्क आउटका अतिरिक्त स्ट्रेन्थ बढ्ने एक्सरसाइज र किक बक्सिङको पनि अभ्यास गरिरहेकी छिन् । ब्याचलरपछि अध्ययनलाई केही समय ब्रेक दिएकी नेहा अहिले जिमखाना मुएथाईमै समय दिइरहेकी छिन् । जिमखाना गएको एक महिनामै उनी त्यहाँको प्रशिक्षक भइन् । अहिले उनले त्यहाँ कार्डियो सेसनसँग मिल्ने कसरतहरू सिकाउँछिन् । फुर्सद मिलेमा उनी मोडलिङमा पनि व्यस्त रहन्छिन् । अवसर पाए अन्तर्राष्ट्रिय स्पर्धामा पनि उत्रिने चाहना नेहाको छ । सेलिना पनि अपग्रेड हुन चाहन्छिन् । यो खेलमा अझै केही गरौं भन्ने हुटहुटी छ । बडिबिल्डिङभन्दा पावर लिफ्टिङप्रति आफ्नो बढी रुचि रहेको सेलिना बताउँछिन् ।
नेहा मोटाउनलाई भन्दा पनि फिट रहन खानुपर्ने बताउँछिन् । धेरै खानुभन्दा व्यवस्थित रूपमा पोसिलो खानेकुरा खानुपर्छ । खानामा क्याल्कुलेसन गरेर खाँदा राम्रो हुने नेहाको तर्क छ । सेलिनाको दैनिक खानपिनमा भने करिब २ हजार रुपैयाँ खर्च हुने गरेको छ । खानामा अण्डा, मासु, प्रोटिन र सप्लिमेन्ट लिनुपर्ने कारणले पनि खर्च बढी हुन्छ, सेलिनाले बताइन् । आइडिया सपले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको तेस्रो अन्तरक्लब महिला स्क्वाट प्रतिस्पर्धामा काठमाडौं लगायत पोखरा, चितवन र धरानका महिला खेलाडीहरूले सहभागिता गरेका थिए । यो प्रतियोगिताको फाइनलमा ३८ महिला सहभागी थिए । तीन चरणमा भएको प्रतिस्पर्धामा ६० किलोग्रामभन्दा कम तौल समूहमा नेहा वानुले १ सय २० किलोग्राम स्क्वाट गरेर स्वर्ण, अरुणा बस्नेतले १ सय १५ किलोग्राम स्क्वाट गरेर रजत र ज्योति थापाले १ सय किलोग्राम स्क्वाट गरेर कांस्य पदक जितेकी थिइन् । यसैगरी ६० किलोग्राम भन्दा बढी तौल समूहमा सेलिना हाडाले १ सय ४० किलोग्राम, उमा महर्जनले १ सय २५ किलोग्राम र अन्जना राईले १ सय २२ दशमलव ५ किलोग्राम स्क्वाट गरेर क्रमश: स्वर्ण, रजत र कांस्य पदक जितेका थिए ।