आठ वर्षको अवधिमा विभिन्न ४३ देशमा देखाइसकिएको अर्जेन्टिनाको मान्द्रागोरा सर्कस नेपालमा पहिलो पटक पोखरामा देखाइयो । नेपाल यो सर्कस देखाइएको ४४ औँ मुलुक हो । पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार र आइतबार गरी तीन शो मञ्चन भएको अर्जेन्टिनाको मान्द्रागोरा सर्कसले दर्शकलाई नयाँ अनुभव दिलायो ।
विना डाइलग देखाइएको यो सर्कसले उपस्थित दर्शकको मन जित्यो । अर्जेन्टिनाका कलाकार मारियाना सिल्भा र जुन क्रिउज वार्कामोन्टको कुशल अभिनयले सर्कस हेर्ने दर्शकको ध्यान सजिलै खिच्यो । उनीहरूले शरिरलाई आवश्यकताअनुसार कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा प्रस्तुतिमार्फत देखाए ।
हेर्दा अत्यन्त कठिन लाग्ने मुभमेन्ट साह्रै सहज तरिकाले प्रस्तुत गर्दा दर्शक मन्त्रमुग्ध भए । बिनाशब्दको प्रस्तुति भए पनि दर्शकले सहज तरिकाले बुझे । लेट्स इन्टरटेनमेन्टको प्रस्तुतिमा देखाइएको ५५ मिनेटको उक्त सर्कसलाई अर्जेन्टिनाको मान्द्रागोरा सर्को कम्पनीले तयार पारेको हो ।
नाटक मञ्चनसँगै अर्जेन्टिनाको कलाकारको सहजीकरणमा नाट्य क्षेत्रका बारेमा कार्यशालासमेत गरिएको थियो । पोखरासँगै नेपालका विभिन्न ठाउँमा यो सर्कस देखाउन सर्कस टिम नेपाल आएको हो ।