बूढापाका भन्छन्, ऋण लागेपछि बल्ल मान्छेले प्रगति गर्छ । ऋण लागेपछि मान्छेलाई थप काम गर्नका लागि चाप अर्थात् प्रेसर पर्छ । टाउकोमा चाप बढेपछि आरामले बस्न सक्ने कुरा पनि भएन । समस्या परेपछि नै समस्याको समाधान खोजिने हो । जिन्दगीमा चाप नबढी मानिस चलायमान हुँदैन ।
आवश्यकता नै आविष्कारको जननी हो भनिन्छ । ऐसआराम छउन्जेल मान्छेको दिमाग पनि त्यति चल्दैन । दिमागलाई बोधो हुन दिनुभन्दा केही न केही काममा लगाएपछि यसमा खिया लाग्न पाउँदैन । यसो हेर्ने हो भने सामान्यत: सानो बेलादेखि दु:ख भोगेका मानिसले नै प्रगति गरेको देखिन्छ । उनीहरूको जिन्दगीमा सबै कुरा हुन्थ्यो भने थप मेहनत गर्ने आवश्यकता नै महसुस हुन्नथ्यो, तर दु:खले उनीहरूलाई मेहनत गर्नैपर्ने बनायो । उदाहरणका लागि काठमाडौं वा अन्य सहरमा घर–सम्पत्ति भएकाका सन्तानले भन्दा तुलनात्मक रूपमा गाउँबाट सहर आएकाहरूले मेहनत गरी सम्पत्ति कमाएका छन् ।
कि गर कि मरको स्थिति आएपछि मानिसले गर्न नै खोज्छ । हुनेले पुर्खाको छँदैछ भनेर बेचेर खान्छन्, तर नहुनेले त आफंैले कमाउनैपर्यो । जिन्दगीमा प्रेसर बढेपछि राम्रोसँग पढ्नुपर्यो, सिक्नुपर्यो, काममा लागिपर्नुपर्यो, त्यसो भएपछि प्रगति पनि हुँदै जान्छ । जस्तै— आफूलाई मोटरसाइकल वा कार किन्नुपर्यो वा घर किन्नुपर्यो तर आफूसँग पुँजी छैन वा पर्याप्त छैन भने के गर्ने त ? कि त सापट लिएर, कि ऋण लिएर वा कमाउन्जेल कुरेर किन्नुपर्यो । अब कुन उपाय लगाउने ? आफ्नो विचार हो । आफूले धान्न सक्ने गरी मात्र प्रेसर दिनुपर्छ, नत्र त्यही प्रेसरले सिध्याइदिन्छ । अर्काको पैसा चलाएपछि तिर्नुपर्ने हुन्छ, तिर्नलाई थप कमाउनुपर्यो । त्यसो भएपछि दुरुपयोग गर्ने समयको पनि काममा उपयोग हुन्छ । होइन, मैले गर्न सक्दिनँ, मेरो हैसियत पनि छैन भनेर बस्यो भने कहिल्यै केही गर्न सकिँदैन ।
आफ्नो थाप्लोमा जिम्मेवारी आएपछि बल्ल सबैको होस र चेतना आउँछ । काम नगरी वा बरालिएर हिंडिरहेका छोराछोरीलाई बाबुआमाले विवाह गरिदिएपछि ठीक ठाउँमा आउँछन् भनेर विवाह गराइदिन खोज्छन्, जसलेगर्दा जिन्दगीमा प्रेसर परोस् र कामधाम, व्यवहारमा परून् । परीक्षा नआउन्जेल घुमेर हिंड्ने विद्यार्थी पनि परीक्षाका बेला किताबमा टाउको जोतेर बस्छ, किनभने परीक्षा उसका लागि समस्या हो र त्यसलाई पार लगाएन भने अर्को पटक फेरि दु:ख पाइन्छ ।
त्यसैले मानिसको जिन्दगीमा प्रेसरको आवश्यकता छ । केही कामै भएन, बेकामी भइयो जस्तो लाग्यो भने केही नयाँ काममा हात हाल्नुपर्छ, जसले गर्दा कामको चाप परोस् र अनावश्यक सोचेर बस्नुको साटो त्यही कामलाई कसरी सफल बनाउने भनेर तन–मन, दिमाग लागोस् । गृहिणीले पनि घरधन्दा सकेपछि फुर्सदको समय अरूको कुरा काटेर वा टेलिभिजिन हेरेर समय खेर फाल्नुभन्दा घरमै बसी–बसी कुन सीप सिके कमाइ गर्न सक्छु भनेर सोच्नुपर्यो । सोचेपछि बल्ल उपाय र बाटो निस्कन्छ ।
हातमा सीप भएपछि काममा लागिन्छ, काम भएपछि कमाइ हुने भैहाल्यो । आफ्नो योग्यता र क्षमताअनुसारको सीप सिकेपछि जो–कोहीले जहाँ बसे पनि काम गर्न सक्छन् ।
आफूले काम गरेपछि आत्मनिर्भरता बढ्छ र अरूलाई आफूले दिने चाप घट्छ । आफ्नो जिन्दगीको चाप आफूले धान्न सक्ने भएपछि सम्बन्ध पनि राम्रो हुन्छ । घरमा सबै जना आत्मनिर्भर भएपछि खासै झैझगडा र मनमुटाव पनि हुँदैन । म केही पनि गर्न सक्दिनँ हैन कि म के–केचाहिं गर्न सक्छु भनेपछि उपाय र ऊर्जा आइहाल्छ । आफूले गर्न जानेको काम गरेरै आफूलाई कामको प्रेसर दिनपर्छ । नजानेको काममा हात हाले फेरि नकारात्मक प्रेसर पर्छ र हानि हुन सक्छ ।
आफूलाई मात्र होइन, अरूलाई पनि सकारात्मक कामका लागि प्रेसर दिन सकिन्छ । कसैको क्षमता थाहा छ भने तैंले यसो गर्दा राम्रो हुन्छ, बरु म पनि साथ दिन्छु भनेर ऊर्जा दिन सकिन्छ । कतिपय मान्छेलाई आफूसँग के खुबी र क्षमता छ भनेर अरुले भनिदिनुपर्छ । कतिले गलत ठाउँमा आफ्नो समय र ऊर्जा खेर फालिरहेका हुन्छन्, तिनलाई सही ठाउँ देखाइदिनुपर्छ । कतिको हिम्मत हुँदैन, हिम्मत बढाइदिनुपर्छ । आफूलाई लागेको होइन, उसलाई मन लागेको काम गर्न दिनुपर्छ । सकारात्मक कामका लागि प्रेसर दिंदा उसले प्रगति गर्दै जान्छ भने नकारात्मक कामका लागि प्रेसर दिंदा ढिलो–चाँडो सबैलाई हानि नै गर्छ ।
हामी सबैमा केही न केही गर्ने खुबी र क्षमता अवश्य नै छ । हामीमा केवल सही मार्गदर्शन र कार्यान्वयनको खाँचो छ । पुगेकै त छ, किन गर्नुपर्यो भनेर बस्ने पनि त्यत्तिकै छौं । हुन्न होला, सकिन्न होला भनेर डराउने उत्तिकै छौं । ल एकफेर आफू स्वयंलाई र चिनेजानेकालाई र हामीले चुनेका नेतालाई सकारात्मक काम गर्न प्रेसर दिएर हेरौं त के–के परिवर्तन आउँदो रै’छ । जिन्दगीमा परिवर्तन चाहनुहुन्छ भने प्रेसर दिनुस् प्रेसर !
Facebook.com/abeeralthapa
Twitter@abeeralthapa