साप्ताहिक संवाददाता
आईसीसी क्रिकेट वल्र्डकप क्वालिफायर खेल्नुअगाडि नेपालको लक्ष्य सुपर सिक्स पुग्ने र यसैक्रममा एकदिवसीय विश्वकपमा छनौट हुने थिएन । भलै खेलाडी र प्रशिक्षकले यस्तो दाबी गरे पनि त्यो खालि दाबी मात्र थियो । नेपालको लक्ष्य त सहभागी दस टिममध्ये अन्तिम दुई स्थानमा नरहोस् र आईसीसी डिभिजन–टुमा फेरि एकपल्ट घटुवा नहोस् भन्ने नै थियो । यसको अर्थ नेपालले आउने चार वर्षका लागि एकदिवसीय टिमको मान्यता पाउनु पनि हो ।
नेपालले त्यो लक्ष्य हात पार्न सफल रह्यो अथवा रहेन, त्यो प्ले अफका खेल नतिजाले निर्धारण गर्नेछ, तर लिग चरणको खेल समाप्तिमा धेरै हदसम्म नेपाली क्रिकेट कहाँनिर छ, त्यो प्रस्ट देखिएको छ । यो प्रतियोगिताको सबैभन्दा ठूलो पक्ष, यसले नेपाली क्रिकेटको स्तर छुट्याएको छ । नेपाल आईसीसी डिभिजन–टुको शीर्ष स्थानमा रहेर अहिलेको विश्वकप छनौटसम्म पुगेको थियो । डिभिजन–टुमै पनि नेपालको प्रदर्शन उत्कृष्ट भन्न लायक थिएन् ।
डिभिजन–टुका अधिकांश खेलमा नेपालले निकै तनावपूर्ण जित निकालेको थियो । धेरै अर्थमा नेपालले त्यसमा उत्कृष्ट प्रदर्शन गर्न सकेको थिएन, तर एउटा तथ्य के निश्चित देखियो भने डिभिजन–टु नेपालको समान हैसियतका टिमको प्रतियोगिता थियो, अहिलेको विश्वकप छनौट भने नेपालका लागि एक तह माथिको प्रतिस्पर्धा सावित भयो । नेपालले विश्व क्रिकेटमा राम्रो गर्नु छ भने अझै धेरै गर्नुपर्नेछ भन्ने कुरा यो प्रतियोगिताले फेरि एकपटक सिद्ध गरेको छ । टेस्ट अथवा एकदिवसीय मान्यता प्राप्त टिमविरुद्ध नेपालको कमजोर प्रदर्शनले यही सावित गरेको छ ।
नेपाल प्रतियोगिताको समूह ‘बी’ मा थियो र यो समूहका अरू टिम थिए— जिम्बावे, स्कटल्यान्ड, अफगानिस्तान र हङकङ । यसमध्ये जिम्बावे र अफगानिस्तान टेस्ट मान्यताप्राप्त टिम हुन् । यो प्रतियोगिताको पहिलो खेलमै नेपालले जिम्बावेविरुद्ध अनुभव प्राप्त गर्ने अवसर पायो, त्यहाँको क्रिकेट हाम्रो तुलनामा अब्बल दर्जाको छ । जिम्बावे त्यस खेलमा १ सय १६ रनले विजयी भएको थियो । उक्त खेलमा नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै जिम्बावेले ६ विकेटमा ३ सय ८० रनको विशाल स्कोर खडा गरेको थियो ।
लगत्तै नेपाल स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा पनि चार विकेटले पराजित रह्यो । पहिले ब्याटिङ गर्दै १ सय ४९ रन मात्र बनाएपछि नेपालले त्यो स्कोरलाई रक्षा गर्न सकेन । स्कटल्यान्ड प्रतियोगिताकै आश्चर्यजनक टिम सावित भएको छ र उसले पनि देखाएको छ, स्कटिस क्रिकेटमा धेरै सुधार आएको छ । लगत्तै अफगानिस्तानविरुद्धको तेस्रो खेलमा पनि नेपाल ६ विकेटले पराजित रह्यो । पछिल्लो समय अफगानी टिम नेपालका लागि ठूलो चुनौती सावित भएको छ र उसलाई हराउनु नेपालका लागि उत्तिकै ठूलो समस्या भएको छ । उक्त खेलमा अफगानिस्तान ६ विकेटले विजयी रह्यो । अन्तत: अन्तिम खेलमा भने नेपालले हङकङलाई ५ विकेटले हराउन सफल रह्यो । पहिले ब्याटिङ गरेको हङकङ १ सय ५३ रनमा अउआलट भएयता नेपाललले ४१ ओभरभित्र त्यसलाई भेटाउन सक्यो । यही नतिजाले नेपाल समूहको चौथो स्थानमा रह्यो ।
प्रतियोगितामा नेपालको सबैभन्दा निराशाजनक पक्ष रह्यो, ब्याटिङ । कप्तान पारस खड्का एकजनालाई छाडेर अरू खेलाडीले ब्याटबाट विरलै राम्रो प्रदर्शन गरे । एक खेलाडीको प्रदर्शनले मात्र कसरी टिमले सधैं राम्रो गर्न सक्छ र ? विशेषत: ज्ञानेन्द्र मल्लको प्रदर्शनले धेरैलाई निराश बनाएको छ । उनी फेरि एकपटक असफल भए र उनको कमजोर प्रदर्शनले नेपाली टिमले ठूलो मूल्य चुकाउनुपरेको छ । उनी लगातार खराब खेलिरहेका छन् र यसले टिममा उनको स्थानलाई लिएर पनि प्रश्न उठेको छ ।
नेपालको बलिङलाई लिएर पनि प्रश्न गर्ने ठाउँ रहे । डिभिजन–टुमा नेपालको बलिङले जसरी प्रतिस्पर्धी टिमलाई गाह्रो बनाएको थियो, त्यस्तै प्रदर्शन जिम्बावेमा देखिएन । यसको अर्थ यो स्तरमा नेपालले आउने दिन राम्रो गर्नु छ भने बलिङ पनि उत्तिकै बलियो बनाउनुपर्ने हुन्छ । लेग स्पिनर सन्दीप लामिछाने पनि प्रभावशाली नहुनुको अर्थ, त्यही थियो । यहाँनिर खेलाडीको धेरै आलोचना गर्नुको पनि अर्थ नहुन सक्छ, किनभने नेपालमा खेलको स्तर बढाउन आवश्यक प्रतियोगिता नै हुँदैनन् वा भैरहेका छैनन् । खालि एकोहोरो खेलाडीहरूको प्रदर्शनमा मात्र औंला उठाइनु हुँदैन ।