साप्ताहिक संवाददाता
गुगलले आफ्नो प्लेस्टोरमा अडियो बुक्स उपलब्ध गराएको छ । यो अडियो बुक्स विश्वका ४५ देशमा ९ भाषामा सुन्न सकिन्छ । गुगल असिष्टेन्ट इन्टिग्रेसनका साथमा उपलब्ध यो अडियो बुक्समार्फत आफूलाई मन परेको पुस्तक सुनेर आनन्द लिन सकिनेछ ।
प्रयोगकर्ताले आफूलाई मन परेको पुस्तक सुन्न गुगल असिस्टेन्टलाई ‘ओके गुगल, रिड माई बुक’ भन्नुपर्नेछ । गुगल प्ले स्टोरमा आफूलाई मन परेको पुस्तक सस्तो दरमा खरिद समेत गर्न सकिन्छ । यसभन्दा पहिले पुस्तक सुन्न एप्पलको आइबुक्स र अमेजनको अडिबल उपलब्ध थिए । अब त्यसका लागि गुगलको अडियोबुक्स थप अर्को विकल्प भएको छ ।
यो प्रविधिमार्फत अंग्रेजी, जर्मन, स्पेनिस, फ्रेन्च, इटालियन, रसियन, कोरियन, जापनिज तथा पोलिस भाषाका पुस्तक पढ्न सकिनेछ । युरोपका धेरैजसो देशका साथै उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड एवं भारतमा समेत यो सुविधा उपलब्ध हुने बताइएको छ ।