अभिनयमा राम्रै दख्खल भएकी अभिनेत्री सरिता लामिछानेलाई चिनाउने एउटा गतिलो परिचय उनी सिरियल क्विनसमेत हुन् । सन्तानको माया, श्रीमान्–श्रीमती, हवल्दार सुन्तलीलगायत केही चलचित्रमा समेत देखिएकी लामिछाने झन्डै २० वर्षदेखि यो क्षेत्रमा निरन्तर सक्रिय छिन् । उनले अभिनय तथा निर्देशन गरिरहेको टेलिश्रृंखला परिचय अहिले नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको छ । चैतको तेस्रो साता नेपाल चलचित्र कलाकार संघले आयोजना गर्ने फान एवार्डको तयारीमा सक्रिय अभिनेत्री लामिछानेले आफूलाई मनपर्ने केही कलाकारका बारेमा आफ्नो धारणा यसरी व्यक्त गरेकी छिन् :
मह जोडी : मह जोडीलाई मन नपराउने सायदै कोही हुनुहुन्छ होला । तीमध्ये म पनि एक हुँ । मदनकृष्ण आफ्नै बुबा जस्तै लाग्छन् भने हरिवंश जेठा दाइ जस्तै । नेपाली कला क्षेत्रमा उहाँहरूको व्यक्तित्व निकै राम्रो भनेर भनिराख्नु पर्दैन । मलाई उहाँहरूको अभिनय निकै राम्रो लाग्छ । उहाँहरू मन पर्ने अर्को कारण आफूभन्दा सानोलाई माया गर्ने र नयाँलाई हौसला प्रदान गर्ने उहाँहरूको स्वभाव पनि हो । उहाँहरू समग्र कला क्षेत्रको अभिभावक पनि हो । उहाँहरूलाई जतिपटक भेट्छु सधैं अभिभावकका रूपमा अनुभव गर्न पाएकी छु ।
तुलसी घिमिरे : तुलसी घिमिरे नेपाली चलचित्र क्षेत्रको गर्विलो निर्देशक हुनुहुन्छ । दर्जनौं चलचित्रको निर्देशन गर्नुभएका घिमिरेले नै मलाई आजभन्दा १९ वर्षअघि चलचित्र मुक्तिबाट यो क्षेत्रमा ल्याउनुभएको हो । त्यतिबेला उहाँले यो क्षेत्रमा नल्याएको भए म अहिले कहाँ हुन्थे होला ? भन्न सक्दिन । उहाँ मेरो गुरु पनि हो, जसले सधैं सा–साना कुराहरू सिकाउँदै अहिलेसम्म साथ दिनुभएको छ ।
ऋषि लामिछाने : ऋषि लामिछानेलाई श्रीमान्का रूपमा हेर्ने हो भने उहाँका बारेमा एउटा पुस्तक नै लेख्न सकिन्छ । मैले उहाँसँग धेरै चलचित्र र सिरियलमा काम गरेकी छु । उहाँले नयाँ कलाकारलाई जुन हिसाबले व्यवहार गर्नुहुन्छ त्यो मलाई निकै मन पर्छ । उहाँको क्षमता र अहिलेसम्म गरेका कामको परिणाम पनि मलाई असाध्यै मन पर्छ ।
मिथिला शर्मा : मिथिला शर्मालाई चलचित्र इतिहासमा सधैं गर्व गर्न लायक अभिनेत्रीका रूपमा लिन्छु । उहाँले धेरै वर्षअघि अभिनय गरेको चलचित्र चेलीबेटीदेखि केही दिनअघि मात्रै रिलिज भएको मंगलमसम्म हेरेकी छु । सबै चलचित्रमा उहाँले गरेको अभिनयले मलाई सधैं लोभ्यायो । कतिपय चलचित्र हेरेर त म रोएँकी पनि छु । यसबाहेक उहाँलाई भेट्दा सधैं राम्रो व्यवहार गर्नुहुन्छ, मीठो बोल्नुहुन्छ, माया गर्नुहुन्छ । उहाँसँग मैले केही सिरियलमा समेत काम गरेकी छु ।