-
अन्तर्राष्ट्रिय महिला दिवसकै दिन नेपालगन्जमा न्याय र अधिकारको माग गर्दै ठूलो र्याली निस्किएको थियो । र्यालीमा कानुनको पालना र जनताको सुरक्षाको जिम्मा पाएका प्रहरी प्रशासनका प्रमुखदेखि महिला नेतृहरू सहभागी थिए ।
गणेशमान चोकबाट ३ किलोमिटर दक्षिण जयसपुरसम्म पुगेको र्याली सभामा परिणत भएसँगै अधिकार र न्यायका चर्का भाषण भए, तर सभामा कुनै हिंसापीडितले पीडा पोख्ने अवसर पाएनन् । दुव्र्यवहार, कुटपिट एवं चरम यातनाका साथ घरबाट लखेटिएका कैयौं महिला त्यति बेला न्यायका लागि हारगुहार गर्दै थिए । त्यस्तै पीडितहरूमध्ये ज्यानमार्ने धम्कीसहित घरबाट लखेटिएकी राप्ती सोनारीकी गाउँपालिका, बाँकेकी गीता वली आफ्नो पीडा व्यक्त गर्न र्यालीमा सहभागी भएकी थिइन् । काखमा सानो छोरो च्यापेकी गीता बोल्ने मौका नपाएपछि सभास्थल छेउमा रुँदै थिइन्, तर उनको पीडा बुझ्ने र आँसु देख्ने कमै थिए ।
सशस्त्र प्रहरी बल म्याङलुङ गणका गणपति डिएसपी देवबहादुर बोहोराकी पत्नी गीता न्याय र अधिकार माग्दामाग्दा थाकिसकेकी छिन् । जनताको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी पाएका डिएसपीले ज्यान मार्ने धम्कीसहित चरम दुव्र्यवहार गर्दै घरबाट लखेटेको आरोपका साथ गीता अहिले साथी नामक संस्थाको आश्रयमा पुगेकी छिन् ।
जिल्ला अदालत बाँकेमा पारपाचुके मुद्दा दिएका डिएसपीले हतियारको बलमा घरबाट जबरजस्ती लगेर अनैतिक कार्य गर्न लगाएको भन्दै गीता वलीले गत साता बाँके जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्, तर डिएसपीका सामु कानुन निकै कमजोर देखिएको छ । सामान्य सोधपुछ र बयान लिनेबाहेक बोहोराविरुद्ध कुनै कारबाही हुन सकेको छैन ।
कसरी न्याय पाउने मैले ? मन्त्रीदेखि विभागको प्रमुखसम्म सबै उसकै पक्ष लिन्छन्, –गीताले सभास्थलमा रुँदै भनिन् । सशस्त्र प्रहरी बलको हेडक्वाटरस्थित महिला सेलसमेत पीडकको पक्षमा देखिएको एक प्रहरी अधिकृतले बताए । बोहोराले गृहमन्त्री रामबहादुर थापा बादललाई समेत प्रभावित तुल्याएको बताइन्छ ।
बोहोराको अत्याचार र दुव्र्यवहारले सीमा नाघेपछि गृह मन्त्रालयले साउन ८ गते सशस्त्र प्रहरी बलको प्रधान कार्यालय तथा प्रहरी प्रधान कार्यालय दुवै निकायलाई आवश्यक कारबाही गर्नु भन्दै लिखित निर्देशन दिएको थियो, तर गृह मन्त्रालयको आदेश कार्यान्वयन नभएपछि गीता बिचल्लीमा परेकी त छिन् नै, डीएसपी बोहराका सामु ती निकायका प्रमुखहरूसमेत निरीह देखिएका छन् । बन्दुकको बलमा हुँदै आएको बर्बरता कसले नियन्त्रण गर्ने ? महिलाहरू प्रश्न गर्न थालेका छन् । न्याय दिने निकाय नै पीडकहरूको पक्ष लाग्दा धेरै महिला न्यायबाट वन्चित हुँदै आएको पीडितहरूको गुनासो छ ।
घरेलु हिंसा गर्दै आएका डिएसपीले आफू सुडान गएका बेला पठाएको पैसा गीताले हिनामिना गरेको आरोप लगाएका छन्, तर सुडान जाँदा बोहोराले पदको दुरुपयोग गरेको आरोप अर्कातिर छ । बोहराले चार महिनाको अन्तरमा दुईवटा पासपोर्ट लिएका छन् । २०१२ वैशाख १७ गते आधिकारिक पासपोर्टका लागि पेस गरेको फारममा निकटतम व्यक्तिका रूपमा बहिनी कमला ऐरीको नाम उल्लेख छ भने जिल्ला प्रशासन कार्यालय, बाँकेबाट २०१२ भदौ २७ गते लिएको अर्को साधारण पासपोर्टमा निकटतम व्यक्तिका रूपमा पत्नी कमला बोहोराको नाम उल्लेख छ । पासपोर्टअनुसार बोहोराकी पत्नी र बहिनीको नाम एउटै भए पनि नाता र थर फरक–फरक छन् । एउटा जिम्मेवार प्रहरी अधिकृतले दुई थरी विवरण पेस गरी दोहोरो पासपोर्ट लिएको पुष्टि हुँदासमेतसरकारी निकाय मौन छन् । झूटो विवरणसँगै नाम थर वतन ढाटेर पासपोर्ट लिनु कानुनत: अपराध हो ।