साप्ताहिक संवाददाता
टिनएजर युवा लक्षित अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिष्टर ग्लोबल टिन’को यो वर्षको संस्करण सम्पन्न भएको छ । सम्पन्न प्रतियोगीतामा नेपालका राज खड्काले ट्यालेन्ट अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।
गत मार्च १४ देखि १९ सम्म थाइल्याण्डको बैंकक शहरमा संचालन भएको प्रतियोगिताको मुख्य उपाधिका लागि राजले विश्वका विभिन्न मुलुकका एक दर्जन बढी टिनएजर युवाहरुसित प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा राजले टप फाइभ फाइनलिष्ट सम्मको यात्रा तय गरेका थिए ।
पाँच फिट १० इन्च अग्ला १७ वर्षिय राज खड्का मिष्टर एण्ड मिस ग्ल्यामरस आइकन २०१८ अन्तर्गत टिन विधाका विजेता हुन् । तेस्रो संस्करणको मिष्टर ग्लोबल टिन २०१८ का लागि राजको सहभागिताको संयोजन र व्यवस्थापन उक्त प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ड्रिम सर्च एजेन्सीले गरेको हो ।
प्रतियोगितामा ग्वामका १६ वर्षिय किन आर आर्टेरो मिष्टर ग्लोबल टिन २०१८ का रुपमा चयन भएका थिए भने कोरियाका येवान ली फस्ट रनर अप तथा श्रीलंकाका पासन वीरासेकारा सेकेन्ड रनर अप घोषणा भएका थिए ।