साप्ताहिक संवाददाता
निर्देशक : प्रदीप भट्टराई
निर्माता : किरण केसी
संगितकार : कालीप्रसाद बास्कोटा र टंक बुढाथोकी
कलाकार : हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, रमेशरञ्जन झा, शिवहरि पौडेल आदि ।
मदकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले स्थापना गरेको महसञ्चारले ११ वर्षपछि निर्माण गरेको चलचित्र ‘शत्रुगते’ आज शुक्रबारदेखि नेपालभरका चलचित्र हलमा एकसाथ प्रदर्शन हुँदैछ । सामाजिक कथामा आधारित रहेर तयार पारिएको यो चलचित्र हास्यप्रधान छ । यसअघि चलचित्रका ट्रेलर, पोस्टर तथा गीत रिलिज भैसकेका छन् ।
चलचित्रको गीत ‘रुपै मोहनी’ ले निकै चर्चा कमाएको छ । सार्वजनिक ट्रेलरलाई आधार मान्ने हो भने चलचित्र शत्रुगतेले पेट मिचुन्जेल हँसाउनेछ । यसअघि कलाकारसहित देशका विभिन्न सहरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर चलचित्र निर्माण टोली काठमाडौं फर्किएको थियो । ती कन्सर्टबाट राम्रो प्रतिक्रिया पाएको कलाकार हरिवंश आचार्यले बताएका छन् । निर्माता किरण केसीले भनेका छन्, ‘चलचित्रबाट दर्शकले पाउने एउटै कुरा हो, मनोरन्जन र हाम्रो उद्देश्य पनि यही हो ।’
निर्देशक प्रदीप भट्टराईले कलाकारहरूको भीड लागेको यो चलचित्रलाई खुबै मेहनत गरेर तयार पारिएको दाबी गरेका छन् । यो चलचित्र दीर्घ गुरुङले खिचेका हुन् भने यसको सम्पादन मित्र गुरुङले गरेका हुन् । चलचित्र शत्रुगतेमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यशोधा श्रेष्ठ, रमिला आचार्य आदिले समेत लगानी गरेका छन् ।