साप्ताहिक संवाददाता
चलचित्र कलाकार संघले आयोजना गर्ने दोस्रो संस्करणको ‘फान एवार्ड–२०७३’ को मनोनयनसार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक समारोहमा संघकी महासचिव तथा एवार्ड समारोहकी संयोजक सरिता लामिछानेले कुल २४ विधामा मनोनयनमा पर्ने चलचित्र तथा चलचित्रहरूको सूची सार्वजनिक गरिएको बताइन् । समारोहमा मनोनयनमा पर्न सफल चलचित्रकर्मीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । चैत १६ गते शुक्रबार काठमाडौंमा आयोजित एक समारोहबीच प्रदान गरिने उक्त एवार्डका लागि २०७३ सालमा प्रदर्शन भएका चलचित्रले सहभागिता जनाएका थिए ।
एवार्डको सर्वोत्कृष्ट चलचित्र विधामा के म तिम्रो होइन र, गाजलु, छक्कापञ्जा, जात्रा तथा लुट मनोनीत छन् भने निर्देशन विधामा आकाश अधिकारी (के म तिम्रो होइन र), हेमराज बीसी (गाजलु), रामबाबु गुरुङ (पुरानो डुंगा), निश्चल बस्नेत (लुट–२) तथा मिलन चाम्स (वीरविक्रम) मनोनीत छन् । अभिनेता विधामा दीपकराज गिरी (छक्कापञ्जा), विपिन कार्की (जात्रा), माओत्से गुरुङ (पुरानो डुंगा), दयाहाङ राई (वीरविक्रम) तथा सौगात मल्ल (शब्द) बीच प्रतिस्पर्धा हुने भएको छ । यता अभिनेत्री विधामा भने शिल्पा पोखरेल (किस्मत–२), प्रियंका कार्की (छक्कापञ्जा), वर्षा राउत (जात्रा), सिर्जना सुब्बा (डाइङ क्यान्डल) तथा केकी अधिकारी (लभ सासा) बीच प्रतिस्पर्धा हुँदैछ । हास्य कलाकार विधामा केदार घिमिरे (छक्कापञ्जा), बुद्धि तामाङ (छक्कापञ्जा), रवीन्द्र झा (जात्रा), दयाहाङ राई (लुट–२) तथा कर्मा शाक्य (लुकामारी) ले प्रतिस्पर्धा गर्दैछन् ।
संगीतकारतर्फ कालीप्रसाद बासकोटा (लुट–२), राजनराज शिवाकोटी (छक्कापञ्जा), वसन्त सापकोटा (हाउ फन्नी), महेश खड्का (जय पर्शुराम) तथा ताराप्रकाश लिम्बू (वीरविक्रम) बीच प्रतिस्पर्धा हुँदैछ । उत्कृष्ट गायकको उपाधिका लागि उदितनारायण झा (किस्मत–२), कालीप्रसाद बाँसकोटा (पुरानो डुंगा), प्रताप दास (के म तिम्रो हैन र), राजनराज शिवाकोटी (छक्कापञ्जा) तथा दीपक लिम्बू (जय पर्शुराम) प्रतिस्पर्धामा छन् भने उत्कृष्ट गायिकाको उपाधिका लागि मीना निरौला पोखरेल (लुट–२), अञ्जु पन्त (छक्कापञ्जा), प्रविशा अधिकारी (लुकामारी), मेलिना राई (हाउ फन्नी) तथा मिलन अमात्य (जय पर्शुराम) आपसमा भिड्दैछन् । गीतकारको एवार्डका लागि किरण बराल (लुकामारी), किरण खरेल (किस्मत–२), शान्तिप्रिय (छक्कापञ्जा), एकनारायण भण्डारी (जय पर्शुराम) तथा डा. कृष्णहरि बराल (शब्द) मनोनीत छन् । नृत्य निर्देशकतर्फ रामजी लामिछाने (किङ), प्रदीप श्रेष्ठ (शब्द), विक्रम स्वाँर (लुट–२), कविराज गहतराज (छक्कापञ्जा) तथा रेनेसा वान्तवा राई (छक्कापञ्जा) बीच प्रतिस्पर्धा हुनेछ ।
खलपात्र विधामा अनुप विक्रम शाही (किङ), दीपकराज गिरी (छक्का पञ्जा), कमलमणि नेपाल (जात्रा), सौगात मल्ल (लुट–२) तथा अर्पण थापा (वीरविक्रम) मनोनीत छन् भने सहअभिनेत्री विधामा मेनुका प्रधान (गाजलु), वर्षा राउत (छक्कापञ्जा), ऋचा शर्मा (बाटोमुनिको फूल–२), सबिना गोपाली (के म तिम्रो होइन र) तथा गौरी मल्ल (होमवर्क) मनोनीत छन् । सहअभिनेता विधामा सलोन बस्नेत (गाजलु), जितु नेपाल (छक्कापञ्जा), शिवहरी पौडेल (छक्कापञ्जा), रवीन्द्र झा (जात्रा) तथा दिलीप रायमाझी (बाटोमुनिको फूल–२) बीच भिडन्त हुनेछ ।
नव नायकको उपाधिका लागि पृथ्वीराज प्रसाईं (किस्मत–२), आर्यन अधिकारी (के म तिम्रो होइन र), आकाश श्रेष्ठ (म त तिम्रै हुँ), आशिफ शाह (लभ सासा) तथा सुगम गुरागाईं (ब्रासलेट) बीच प्रतिस्पर्धा हुँदैछ भने नवनायिकाको एवार्डका लागि मरिश्का पोखरेल (के म तिम्रो होइन र), सृष्टि श्रेष्ठ (गाजलु), ज्योत्सना योगी (म त तिम्रै हुँ), दिया पुन (वीरविक्रम) तथा कमली वाइबा (शब्द) बीच प्रतिस्पर्धा हुँदैछ ।
लाइफ टाइम एचिभमेन्ट एवार्डसहित समारोहमा चरित्र अभिनेता, चरित्र अभिनेत्री, नवनिर्देशक, छायांकन, द्वन्द्व निर्देशक, सम्पादन, कथा, पटकथा तथा संवाद विधामा पनि कलाकारहरूलाई पुरस्कृत गरिनेछ ।