भोलि चैत १० गते शनिबार पोखरामा टेस्ट अफ हार्मोनी शीर्षकको सांगीतिक कार्यक्रम हुँदैछ । उक्त अवसरमा गायिकाहरू इतु जोजीजु, कौशल्या गुरुङ, बबि सुनार, अजुदा थापा, रुबी गौली, शीतल थापा, मितु पल सिाह, रजनी रिदम राई, मालती गुरुङ प्राप्ति तुलाचन, आँचल लामा, रितु लामा, मुस्कान रानाभाट आदिले नयाँ तथा पुराना गीतहरू सुनाउनेछन् ।
उनीहरूले पुराना स्रष्टाका गीतका अतिरिक्त आफ्ना मौलिक गीतहरू सुनाउँदै वातावरण गुञ्जाउनेछन् । पोखरा सभागृहमा दिउँसो १ बजे प्रारम्भ हुने यो कार्यक्रममा सहभागिता जनाउन ५ सय तथा १ हजार रुपैयाँको टिकट काट्नु पर्नेछ । यो अवसर पोखरा जन्मथलो तथा कर्मथलो भएका गायिकाहरू आबद्ध हार्मोनी द मोर्डन सङस्ट्रेस अफ पोखराले जुराएको हो ।
स्थान : पोखरा सभागृह पोखरा
समय : दिउँसो १ बजे
टिकट दर : १ हजार तथा ५ सय रुपैयाँ
कलाकार : हार्मोनी ग्रुप
लेकसाइड सातामा दुई दिन जागा रहने
पोखराको लेकसाइड अबदेखि हरेक शुक्रबार र शनिबार सातामा दुई दिन राति १ बजेसम्म जागा रहनेछ । हल्लनचोकदेखि बाराहीघाटसम्मको १ किलोमिटर क्षेत्र ‘नो भेइकल जोन’ घोषित भएसँगै उक्त निर्णय गरिएको हो ।
अब लेकसाइडका रेस्टुरेन्ट, बार, होटल आदिमा आयोजना गरिने कार्यक्रम राति १ बजेसम्म चल्नेछन् । पर्यटन व्यवसायी सूर्य भुजेलको संयोजकत्वमा करिब ६ महिनाजति नो भेइकल जोन सञ्चालन भए पनि विभिन्न कारणले बीचमै स्थगित भएको थियो । नाइटलाइफमा रम्नेहरूका साथै व्यवसायीहरूले पर्यटकीय क्षेत्र लेकसाइडलाई चौबीसै घण्टा खुला राख्नुपर्छ भनेर बेला–बेलामा आवाज उठाउँदै आएका छन् ।