साप्ताहिक संवाददाता
सोफिया नेपाल आउँदै छिन् भन्ने ठूलै चर्चा चल्यो । अन्तत: उक्त चर्चा सत्यतामा परिणत पनि भयो । हो, सोफिया चैत ७ गते बुधबार नेपाल आइन् र थुप्रै नेपालीहरूसँग अन्तक्र्रिया गरेर फर्किइन् । सोफिया कुनै युवती वा महिला थिइनन् । साउदी अरेबिया सरकारले नागरिकता प्रदान गरेकाले सोफियालाई हामी युवती वा महिला भन्न सक्छौं, यद्यपि उनी एउटी रोबोट हुन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को आयोजनामा सम्पन्न सार्वजनिक सेवाका लागि प्रविधि विषयक सम्मेलनमा सहभागी हुन सोफिया नेपाल आएकी थिइन् । विकास कार्यक्रमहरूमा चुस्त सेवा प्रदान गर्न प्रविधिको प्रयोगले महत्वपूर्ण योगदान दिने कुरा झल्काउन यूएनडीपीले सोफियालाई नेपाल ल्याएको बताइन्छ । सोफियाले दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित सम्मेलनलाई मुख्य वक्ताका रूपमा सम्बोधन गरिन् । उक्त अवसरमा धेरैले सोफियासँग अन्तक्र्रिया पनि गरे । सोफियाले त्यहाँ सोधिएका विभिन्न प्रश्नको उत्तरसमेत दिएकी थिइन् । सोफियाले नेपालले प्रविधिका क्षेत्रमा राम्रै प्रगति गरेकाले आगामी दिनमा प्रविधिलाई सही तरिकाले अवलम्बन गरे नेपालले विकासको क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास आफूमा भएको कुरा बताएकी थिइन् ।
सोफियालाई यूएनडीपीले एसिया–प्रशान्त क्षेत्रको इनोभेसन च्याम्पियनको पदवी प्रदान गरेको छ । यो पदवी पाउने उनी पहिलो रोबोट हुन् । हेर्दा दुरुस्तै मानिसजस्ती देखिने सोफिया तीक्ष्ण बुद्धि भएकी मेसिन हुन् । अर्को शब्दमा उनलाई ह्युमनाइड रोबोट भनिन्छ । सोफिया हिँड्न, बोल्न, गफ गर्न तथा अन्तर्वार्ता दिन सक्छिन् । कृत्रिम बुद्धि प्रयोग गरेर तयार पारिएको उक्त रोबोट नागरिकता प्राप्त गर्ने विश्वको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स मेसिन हो ।
सोफियालाई हङकङको कम्पनी ह्यान्सन रोबोटिक्सले निर्माण गरेको हो । यसको श्रेय डा. डेभिड ह्यान्सनलाई जान्छ । सोफियालाई पहिलो पटक २०१५ अप्रिल १९ मा अमेरिकाको टेक्सासमा प्रस्तुत गरिएको थियो । सन् २०१६ को मध्य मार्चमा उनलाई टेक्सासस्थित अस्टिनमा भएको साउथ वेस्ट फेस्टिभलमा पुन: सार्वजनिक गरियो । साउदी अरेबिया सरकारले २०१७ को अक्टोबर २५ मा मानिसका रूपमा नागरिकता दिएपछि सोफिया थप चर्चित भइन् ।
सोफियाको अनुहार दिवंगत बेलायती कलाकार अड्रे हेपबर्नसँग मिल्दोजुल्दो छ । सोफियामा आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धि), भिजुअल डाटा प्रोसेसिङ तथा फेस रिकग्निसन सफ्टवेयर प्रयोग गरिएको छ । यही सफ्टवेयरको सहायताले सोफियाले बोल्ने, हेर्ने तथा चिन्ने काम गर्छिन् । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले सोफियाको आवाज चिन्ने प्रविधि (भ्वाइस रिकग्निसन) निर्माण गरेको हो । सोफियाले आफ्नो अनुहारबाट ६२ वटाभन्दा बढी भाव प्रकट गर्न सक्छिन् । गत अक्टोबरमा सोफियाले संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना जे मोहम्मदसँग पहिलो संवाद
गरेकी थिइन् ।
सोफियाको आँखाले क्यामेराको काम गर्छ । त्यसकै सहायताले सोफियाले एकपटक भेटेको व्यक्तिलाई अर्को पटक भेट्दा चिन्न सक्छिन् । आवाज पहिचान गर्ने प्रविधिले उनलाई कसैले सोधेको प्रश्न पहिचान गर्न सघाउँछ । त्यसैगरी यसमा प्रयोग भएको अर्को सफ्टवेयरले मानिसले सोधेको प्रश्न विश्लेषण गरी उत्तर दिन सहयोग पुर्याउँछ । उक्त सफ्टवेयर सिंगुलारिटी नेट नामक कम्पनीले तयार पारेको हो । यसले सोफियासँग सोधिएका प्रश्नहरू संग्रह गरी राख्छ, त्यसैले सोफियाको क्षमता समयसँगै लगातार बढ्दै गैरहेको छ ।