साप्ताहिक संवाददाता
नेपाली सांगीतिक क्षेत्रका स्थापित अनुहारहरू यतिबेला एउटा महत्वाकांक्षी योजनालाई मूर्त रूप प्रदान गर्न दिनरात मेहनत गरिरहेका छन् । आठ वर्षअघि स्थापना भएको नेपाली संगीतकर्मीहरूको एउटा संस्थाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न स्थानमा बृहत् सांगीतिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । संगीतकार संघ नेपालले आगामी वैशाखमा प्रारम्भ भै माघमा सम्पन्न हुने ‘मेची–महाकाली सांगीतिक अभियान–२०७५’ को घोषणा गरेको छ, जहाँ देशका लोकप्रिय गायक–गायिकाका साथै संगीतकारहरूले लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् ।
सात वर्षअघि स्थापना भएको संगीतकार संघले नेपाली गीत–संगीतको जर्गेना एवं प्रवद्र्धन गर्ने तथा त्यसको महत्व र गरिमालाई विश्व सामु चिनाई नेपालको पर्यटन विकासमा समेत टेवा पुर्याउने उद्देश्यले यो सांगीतिक अभियान सञ्चालन गर्न लागिएको संघका अध्यक्ष संगीतकार लक्ष्मण शेष बताउँछन् । शेषका अनुसार स्रष्टा तथा सर्जकहरूको बौद्धिक सम्पत्तिमाथिको मौलिक हकलाई २०७२ सालको संविधानको धारा २५ मा स्थापित गराउन सफल आफ्नो संस्थाले संगीतकर्मीहरूको प्रतिलिपि अधिकार तथा रोयल्टीमाथिको विश्वव्यापी मान्यताअनुरुपको अधिकारलाई संसद, सरकार तथा विभिन्न सरोकारवाला मन्त्रालय एवं मातहतका विभागदेखि सामान्य प्रयोगकर्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । संस्थाले आफ्नो महत्वाकांक्षी योजनाका रूपमा मेची–महाकाली सांगीतिक अभियान सञ्चालन गर्न लागेको अध्यक्ष शेषको भनाइ छ ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय देश भएकाले यो सांगीतिक अभियानले देशको उक्त मौलिकतालाई थप मलजल गर्ने आयोजक संस्थाको दावी छ । भाषा, संस्कृति, मौलिक परम्परा तथा सम्पदाहरूको संरक्षण र प्रवद्धर्नमार्फत राष्ट्रिय एकता एवं सद्भावना कायम गरी टुटेका नेपाली मनहरूलाई जोड्दै अघि बढ्ने योजना संगीतकर्मीहरूको छ । देश राजनीतिक स्थायित्वतर्फ अघि बढिरहेको अवस्थामा हरेक नेपालीले आ–आफ्नो ज्ञान तथा क्षमता प्रदर्शन गर्दै अहोरात्र काम गरी आर्थिक समृद्धितर्फ लम्किनुपर्ने आजको आवश्यकतालाई चित्रण गर्न यो सांगीतिक अभियान थालनी गर्न लागिएको हो । सांस्कृतिक तथा सांगीतिक अभियानका रूपमा सञ्चालन हुने यो कार्यक्रमले तराई, पहाड तथा हिमाललाई एकै सुत्रमा बाँध्ने लक्ष्य लिएको छ ।
विभिन्न जातजाति तथा भाषा–भाषीको लोपोन्मुख कला, संस्कृति, परम्परा एवं गीत–संगीतको संरक्षण–संवद्र्धन गर्ने उद्देश्य बोकेको यो सांगीतिक अभियानमार्फत मेचीदेखि महाकालीसम्मका नेपालीहरूलाई कला, संगीत तथा सांस्कृतिक कार्यक्रमको माध्यमबाट गोलबन्द गर्ने आयोजकहरूको योजना छ । नेपाली गीत, संगीत, कला तथा संस्कृतिको विकास गर्दै त्यसलाई अन्तर्राष्ट्रियस्तरम्म पुर्याउने कार्यक्रमको लक्ष्य छ ।
मेची–महाकाली सांगीतिक अभियानको पहिलो चरण वैशाख ७ र ८ गते काठमाडौंमा सम्पन्न हुने छ । त्यसपछि जेठ ४ र ५ गते हेटौंडा, जेठ ११ र १२ गते चितवन, जेठ २५ र २६ गते बाग्लुङ तथा असार १ र २ गते पोखरामा यो कार्यक्रम सञ्चालन गरिनेछ । अभियानको दोस्रो चरण भदौ २९ गते बिर्तामोडबाट प्रारम्भ हुनेछ । असोज ५ र ६ गते इटहरीमा सञ्चालन हुने यो अभियान असोज १२ र १३ गते लहान, असोज १९ र २० गते बर्दिबास तथा कात्तिक ३० र ३१ गते बुटबलमा सञ्चालन हुने बताइएको छ ।
अभियानको तेस्रो चरणअन्तर्गत मंसिर २१ र २२ गते दाङमा कार्यक्रम प्रस्तुत हुनेछ भने त्यसपछिको साता नेपालगञ्जमा कार्यक्रम हुनेछ । सुर्खेतमा पुस २० र २१ गते, धनगढीमा पुस २७ र २८ गते कार्यक्रम सञ्चालन गरिएपछि माघ ४ र ५ गते अभियानको अन्तिम कार्यक्रम पश्चिम नेपालको कञ्चनपुरमा सञ्चालन गरिनेछ ।
यो अभियानमा पुरानादेखि नयाँ पुस्तासम्मका संगीतकर्मीहरूको सहभागिता रहनेछ । अभियानका क्रममा प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, दीपक बज्राचार्य, जेम्स प्रधान, प्रमोद खरेल, शिव परियार, कुन्ति मोक्तान, अञ्जु पन्त, राजेशपायल राई, एड्रियन प्रधान, मीना निरौला, उदय–मनिला सोताङ, सत्य–स्वरूपराज आचार्य, हरि लम्साल, वसन्त सापकोटा आदिको सहभागिता रहनेछ । हरेक स्थानका सांगीतिक कार्यक्रममा स्थानिय गायक–गायिकाहरूलाई प्राथमिकता दिइने आयोजक संस्थाले जनाएको छ ।