साप्ताहिक संवाददाता
२०७२ सालको भदौमा कैलालीको टीकापुरमा भएको घटनामा एक डिआइजीसहित ७ जना प्रहरी तथा एक नाबालकको हत्या भयो । उक्त घटनामा रेशम चौधरीलाई दोषी ठहर्याउँदै अदालतमा मुद्दा पर्यो भने तिनै चौधरी कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । चौधरीलगायत घटनामा संलग्नहरूलाई हदैसम्मको सजायको माग गर्दै प्रहरीले अदालतमा मुद्दा दायर गर्यो ।
हालै चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरे । अदालतको आदेशमा पुर्पक्षका लागी थुनामा रहेका चौधरीले जेलमै अनशन सुरु गरे । गत शुक्रबार वीर अस्पताल पुगेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चौधरीको अनशन तोडाउँदै उनलाई जुस पिलाए । उक्त घटनाको सामाजिक सञ्जालमा व्यापक आलोचना भयो ।
प्रचण्डले रेशम चौधरीसँग भेट्दा बेस्सरी आलोचना गर्ने हामी गृहमन्त्री आफैं उनलाई जुस पिलाउन जाँदा किन चुप छौं ? के एमालेसँग मिल्दैमा कसैको अपराध माफ हुने हो ? होईन भने मुख्य अभियुक्तलाई जुस पिलाउने गृहमन्त्रीविरुद्ध कारबाही होस् ।
प्रदीप भट्टराई
गणेश लामा मार्काका एक जना मन्त्री नै भैसक्या देशमा लामालाई छुटाउन जुलुश निस्कनु, रेशम चौधरीलाई गृहमन्त्रीले जुस ख्वाउनु स्थिरता र समृद्धिकै प्रतीक त होला नि ।
समा थापा
रेशम चौधरीविरुद्ध कानुनी कारबाही गर्न पहल गर्नुको सट्टा जुस ख्वाउने गृहमन्त्री र हतियारसहित गिरफ्तार गरिएका गणेश लामाको रिहाइका लागि आन्दोलन गर्ने कांग्रेसबीच के नै फरक छ र ?
ओमकुमार थापा
सरकार के ठान्यौ हामीलाई ? बुख्याँचा ? दुई बर्षे नाबालकको समेत इहलीला समाप्त पारिएको टिकापुर काण्डका अभियुक्त रेशम चौधरीलाई गृहमन्त्रीले जुस पिलाउने ? हाम्रा आँखा र कान गुच्चा हुन् ?
सरला गौतम
हिजो साइकलले छिमेकीको कुखुरा किच्ने हरीलाई पुलिसले थुनामा राखेर सजाय दियो, तर अभियुक्त रेशम चौधरीलाई जुस ख्वाएर सम्मान गर्यो– ठूला र सानाबीचको फरक ?
राजन
टीकापुर घटनाको दोषी रेशम चौधरीलाई सरकारका तर्फबाट गृहमन्त्रीले जुस पिलाउनु गलत हो । यस्तो आदेश दिएर प्रधानमन्त्रीले समेत गलत काम गरे ।
सरस्वती सुब्बा
रेशम चौधरीलाई जुस पिलाउने सत्ताधारी र गणेश लामाको रिहाइको माग गर्ने प्रतिपक्षीबाट समृद्धिको आशा नगर्नु नै बेस ।
केदार मरासिनी
रेशम चौधरीलाई चाहे जुस ख्वाइयोस्, चाहे सपथ ख्वाइयोस वा मासुभातै ख्वाइयोस्, ती सबै काम जेल भित्रै हुनुपर्छ । उनी कदाचित बाहिर आउनु हुँदैन । यो जनताको माग हो ।
विश्वर सिंह राई
कसले भन्छ पार्टीहरूले काम गरिरहेका छैनन् ? कांग्रेसले गणेश लामालाई छुटाउँदैछ । माकेले रेशम चौधरीलाई जुस पिलाउँदैछ । एमालेले दिपक मनाङ्गेलाई लुकाउँदैछ ।
माइक बुढाथोकी
देउवा सरकारले रेशम चौधरीलाई ६० लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो । त्यही देखेर होला गृहमन्त्री बादलले हम किसिसे कम नहिँ शैलीमा जुस पिलाएको । अब सिधै आफ्नो पद उनलाई सुम्पँदै गृहमन्त्री नै बनाए भयो नि ।
रिजाल काइँलो
रेशम चौधरीलाई जुस ख्वाएर अनसन तोडाउने, छोराको हत्यारालाई कारबाही गरिदेउ भनेर अनसन बस्दाबस्दै ज्यान गुमाएकाको लास टिचिङ्ग हस्पिटलको फ्रिजमा सजाउने ? न्याय मरेको यो देशको नागरिक हुनुमा गर्व गरौं । किनभने हामी अहिले लोकतान्त्रिक गणतन्त्रमा छौं ।
निरन्जन वस्ती
सुशासनको नमुना : रेशम चौधरीलाई गृहमन्त्रिले जुस पिलाउनु र जेल मै सपथ ग्रहणको व्यवस्था । संक्रमणकालीन न्याय, गम्भीर अपराधमा कम सजाय हुनेगरी ऐन संशोधन तथा मन्त्रालयको बाँडफाँड र तोडफोडमा व्यस्त बहुमतको सरकारमा दुई तिहाईको अभीष्ट । बिहानीले नै दिनको झ–झल्को दिन्छ भन्थे– हो रहेछ ।
महेश क्षेत्री