संसारकै सर्वाधिक ठूलो अटो इभेन्ट जेनेभा मोटर शो गत मार्च ८ देखि १८ सम्म सञ्चालन भएको थियो । १ सय १३ वर्ष पुरानो उक्त इन्टरनेसनल इभेन्टमा स्विट्जरल्यान्डसमेत संसारका सबै ठूला कम्पनीले आफ्ना कार तथा अन्य गाडी लन्च एवं प्रदर्शन गरे । उक्त अटो शोमा १ सय ५० भन्दा बढी प्रदर्शनकर्ताले आफ्ना गाडी प्रदर्शनमा राखेका थिए । अटो शो को यो ८८औं संस्करण हो । यो वर्ष करिब ७ लाख भिजिटरले उक्त शो अवलोकन गरे भने यो अटो शो साढे ८ लाख वर्गफिट क्षेत्रफलमा फैलिएको थियो ।
तीव्र गतिको हाइपर कार
इटालियन सुपरकार निर्माता कम्पनी कर्बेलाटीले प्रदर्शन गरेको मिसाइल कार संसारकै सर्वाधिक तीव्र गतिको हाइपर कार भएको दावी गरिएको छ । यसको एरोडाइनामिक डिजाइन कार्बन फाइबरको सहयोगले निर्माण गरिएको छ, जसले गर्दा ५ सय किलोमिटर प्रतिघण्टाको गतिमा पनि यसको सन्तुलन बिग्रन पाउँदैन ।
कन्सेप्ट अफ द इयर
मोटर शोमा माज्दा भिजन कुप कारले ‘कन्सेप्ट अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार छनौटमा १७ जना निर्णायक हुन्छन् । माज्दाको भिजन कु कारले पेरिसपश्चात् हाल जेनेभामा यो पुरस्कार पाएको हो । यो कारलाई विश्वस्तरका डिजाइनरहरूले निर्माण गरेका हुन् र भविष्यमा यही डिजाइनका कार विश्वभर फैलने विश्वास गरिन्छ ।
ए–६ लक्जरी सेडान
आउडीको ए–६ लक्जरी सेडान कारमा एमएमआई नेभिगेसन प्लस फिचर उपलब्ध छ । यसले आफ्नो रुटिनमा चलिरहेको गाडीको रुटलाई सेभ गरेर राख्छ र इन्टरनेटको सहयोगले दैनिक उक्त सडकमा ट्राफिकको अवस्था के छ चेक गर्छ । यदि सडक जाम छ भने एमएमआई इन्फोटेनमेन्ट सिस्टमले अर्को सडकबाट जान सल्लाह दिन्छ ।
मार्टिनको रेसिङ कार
ब्रिटिस लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी एस्टन मार्टिनले रेसिङ कार भल्काइर एएमआर प्रो एडिसन सार्वजनिक गरेको छ । ३ सय ६२ किलोमिटर प्रतिघण्टाको स्पिडमा कुद्न सक्नु यसको महत्वपूर्ण विशेषता हो । यसको पर्फमेन्स उत्कृष्ट बनाउन ६ दशमलव ५ लिटरको भी १२ इन्जिन राखिएको छ, जसले ११ सय बीएचपीको पावर दिन्छ । कम्पनीले यसको २५ युनिट मात्र निर्माण गर्नेछ भने यो कार सन् २०२० मा मात्र बजारमा आउने छ ।
तीन पांग्रे इलेक्ट्रिक भेइकल
अटो शोमा प्रदर्शन गरिएको कुडर ई–भेइकलले ब्याट्री कम भयो भने चार्जिङ स्टेसन कहाँ छ भन्ने जानकारी दिन्छ । स्वीस कम्पनी क्वाड्रो भेइकल्सले प्लेटफर्म निर्माता कम्पनी रुटर २२० सँगको सहकार्यमा निर्माण गरेको यो गाडी नयाँ मोबिलिटी कन्सेप्टमा आधारित रही निर्माण गरिएको बताइएको छ । यसको अर्थ यसलाई कार र मोटरसाइकलमा उपलब्ध फिचरलाई ध्यानमा राखेर निर्माण गरिएको छ ।
आफैं चल्ने रोबोट्याक्सी
फ्रान्सको अटोनोमस भेइकल निर्माता कम्पनी नाव्यले प्रदूषणरहित इलेक्ट्रिक अटोनोमस क्याब प्रदर्शन गरेको छ । यसमा ड्राइभर बस्ने स्थान, स्टेयरिङ ह्विल्स तथा पेडल छैन । यसलाई मोबाइल एपको सहयोगले बुक गर्न सकिन्छ र यसमा भएका ६ वटा क्यामेरा, ४ वटा राडार तथा इन्टरनेटको सहयोगले यो कार बुकिङ गर्ने ब्यक्तिसम्म आफैं आइपुग्छ । यसमा ६ जना बस्न सक्छन् । यो कारले आफूले भनेको स्थानमा आफैं पुर्याइदिन्छ । यसलाई पब्लिक रोबोक्याब अर्थात् रोबोट्याक्सी पनि भनिएको छ ।
अनुहार स्क्यान गरी अन हुने कार
जेनेभा अटो शोमा क्रोसियाको इलेक्ट्रिक कार निर्माता कम्पनी रिम्याक अटोमोबिलले कन्सेप्ट टु नामक इलेक्ट्रिक हाइपर कार प्रदर्शन गरेको थियो । यसमा भएको क्यामेराको सहायताले चालकको अनुहार स्क्यान गरेर मात्र इन्जिन अन हुन्छ । त्यसैले यो कार चोरी हुने डर छैन । यो कार पनि ४ सय १५ किलोमिटरको टप स्पिडमा कुद्न सक्छ भने यस १ सय ५० युनिट मात्र निर्माण गरिने बताइएको छ ।
फ्लाइङ ट्याक्सी
आउडीले एयरबससँगको सहकार्यमा फ्लाइङ ट्याक्सी निर्माण गरेको छ । पप अप नेक्स्ट नामक यो दुईसिटे ट्याक्सीमा भएको ८० एचपीको इलेक्ट्रिक मोटर १ सय किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ । फुल चार्ज गर्दा यसले १ सय ३० किलोमिटर दूरी पार गर्छ । यसमा भएको एयर मोड्युलका कारण यो कार हेलिकोप्टरजस्तै हावामा उड्न सक्छ । यसको भित्री भागमा भएको ४९ इन्चको टचस्क्रिन डिस्प्लेले आई ट्रयाकिङ, स्पिच तथा फेसियल रिकग्निसन सपोर्ट गर्छ । त्यसैगरी यसले म्यापको सहयोगले पुग्नु पर्ने स्थान पत्ता लगाउँछ र निश्चित स्थानमा पुर्याउन सहयोग गर्छ ।
आकर्षक डिजाइनको कार
स्वीडेनको हाई पर्फमेन्स स्पोर्ट्स कार निर्माता कम्पनी कोइनिग्सेग अटोमोटिभले प्रदर्शन गरेको आकर्षक डिजाइनयुक्त कार हेर्न धेरै मानिस झुम्मिएका देखिन्थे । रेगेरा नामक यो कारको विशेषता यसले दुई स्रोतबाट पावर लिएर २० सेकेन्डमै शून्यदेखि ४ सय किलोमिटरसम्मको स्पिड समात्न सक्नु हो ।
आई–पेस एसयूभी
अटो शोमा टाटाको स्वामित्वमा रहेको ज्यागुअरले अल इलेक्ट्रिक भेइकल आई–पेस प्रदर्शन गरेको थियो । यसले हाल प्रचलित टेस्ला मोडल थ्रीलाई कडा टक्कर दिने अनुमान गरिएको छ । उक्त अल इलेक्ट्रिक एसयूभीमा ९० किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यो कार एक पटक फुल चार्ज गरेपछि करिब ३ सय ८६ किलोमिटर गुड्न सक्छ । यो एसयुभीको अर्को विशेषता के छ भने यसमा १०० किलोवाट डीसी फास्ट चार्जर जोडेर ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो कारको बिक्री सन् २०१८ को जुलाई पश्चात् अमेरिकाबाट प्रारम्भ हुने अनुमान गरिएको छ ।
कार भन्दा महँगो घडी
लक्जरी स्वीस घडीका लागि प्रसिद्ध स्विट्जरल्यान्डको कम्पनी रिचर्ड मिलीले म्याकलरेन अटोमोटिभसँगको सहकार्यमा लक्जरी कारभन्दा पनि महंगो घडी निर्माण गरेको छ । आरएम ११–०३ म्याकलरेन अटोमेटिक फ्लाइब्याक क्रोनोग्राफ नामक उक्त घडीको मूल्य करिब २ करोड रुपैयाँ छ । कार तथा घडी निर्माता कम्पनीले संयुक्त रूपमा निर्माण गरेको यो विश्वकै पहिलो घडी हो । यो घडी कार्बन टीपीटी, कार्बन फाइबर, सिलिका फाइबर, ह्वाइट गोल्ड टाइटेनियम तथा रबरले बनेको छ । कम्पनीले यो घडीको ६ सय युनिट मात्र बजारमा पठाउने कुरा बताइएको छ ।
हावा सफा गर्ने गुडइयर टायर
अमेरिकी टायर निर्माता कम्पनी गुडइयरले हावामा भएको कार्बन डाइअक्साइडलाई सोसेर अक्सिजन फ्याँक्ने टायर प्रदर्शन गरेको थियो । यसले हावामा भएको कार्वन डाइअक्साइड र जमिनको चिसो पानी सोस्छ भने हावामा अक्सिजनको मात्रा बढाउँछ । गुडइयरका अनुसार पेरिसको सडकमा प्रत्येक दिन २५ लाख गाडी गुड्छन् । यस्तो अवस्थामा गुडइयरको उक्त टायरले ४ हजार टन कार्बन डाइअक्साइड सोस्नुका साथै ३ हजार टन अक्सिजन उपलब्ध गराउनेछ ।
पानीमा चल्ने कार
हुन्डाईले सडकका साथै पानीमा समेत चलाउन सकिने काइट नामक कार प्रदर्शन गरेको छ । यो पूर्ण रूपमा इलेक्ट्रिक कार हो र यसमा भएको मोटरले चार वटै पाङ्ग्रामा बराबर पावर दिन्छ । पछिल्लो भागमा भएको जेट टर्बाइन मोटरका कारण यसलाई पानी भएको ताल वा सागरमा समेत चलाउन सकिन्छ । यो कन्सेप्ट कारलाई पर्सनल वाटरक्राफ्टका रूपमा प्रदर्शन गरिएको थियो ।
ई–भिजन कन्सेप्ट
भारतको टाटा मोटर्सले अटो शोमा आफ्नो इलेक्ट्रिक कार ई–भिजन कन्सेप्ट कार प्रदर्शन गरेको थियो । यो कारले एक पटकको फुल चार्जमा ४ सय ५० किलोमिटर पार गर्न सक्छ । टाटाले यो कारलाई ओमेगा आर्च प्लेटफर्ममा निर्माण गरेको छ । मानिसको भविष्यको रोजाइ एवं चाहना पूरा गर्ने गरी यसको डिजाइन गरिएको कम्पनीले बताएको छ । टाटाले सन् २०२० देखि यो कारको व्यवसायिक उत्पादन बजारमा ल्याउने योजना बनाएको छ ।