साप्ताहिक संवाददाता
नेपाल आइडल बुद्ध लामाले सांगीतिक क्षेत्रमा लामै समय बिताइसकेका छन् । नेपाल आइडलमा सहभागिता जनाउनुअघि नै पोखरालाई आधार बनाएर गायन कर्ममा सक्रिय यी गायक यतिबेला सांगीतिक कार्यक्रमहरूमा व्यस्त छन् । स्वदेश तथा विदेशका सांगीतिक कार्यक्रमहरूमा सक्रिय बुद्धले जीवनमै पहिलो पटक आफ्नै मौलिक गीत गाएका छन् ।
अमेरिकाको सांगीतिक भ्रमणका क्रममा गजलकार सुरेश वाग्लेसँग भेट भएपछि मौलिक गीत गाउने उनको बाटो खुल्यो । यसै साता सार्वजनिक भएको ‘तिमी साथ भएपछि...’ गजलमार्फत बुद्धले आफ्नो गायकीको नयाँ उदाहरण प्रस्तुत गरेका छन् ।
हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजलको भिडियालाई दर्शकले कम समयमै अत्यधिक मन पराएका छन् । बुद्धको पहिलो गीत भएकाले नै दर्शकहरू उक्त भिडियोप्रति आकर्षित देखिन्छन् भने अर्जुन अधिकारीको निर्देशनमा अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्माको अनस्क्रिन रोमान्सले पनि यो भिडियोलाई दर्शनीय बनाएको छ ।