आमाको दूध शिशुका लागि अमृत समान हुन्छ, त्यसैले आफ्ना नवजात शिशुलाई स्तनपान गराऔं भन्ने सन्देश संसारको कुना–कुनामा फैलिएको छ । यद्यपि साइप्रसकी एक आमाले आमाको दूध शिशुका लागि मात्र होइन वयष्कहरूका लागि समेत अमृतसमान हुन्छ भन्ने कुरा प्रचार गर्दै लाखौं रुपैयाँ कमाइ रहेकी छिन् ।
साइप्रसकी २४ वर्षीया राफाएला लाप्रोउले पहिलो सन्तान जन्माउँदा अत्यधिक दूध आएपछि उनले उक्त दूध अपर्याप्त दूध आउने आमाका सन्तानलाई नि:शुल्क उपलब्ध गराएकी थिइन् । यसरी आमाको दूध प्याकेटमा राखेर उपलब्ध गराउँदा धेरै बालबालिकाले त्यसको फाइदा लिएका थिए ।
हालै दोस्रो पटक आमा बनेपछि पनि उनको स्तनबाट अत्यधिक दूध आउन थाल्यो । यसै खेर जाने दूधलाई उनले बिक्री गर्ने सोच बनाइन् । निरोगी आमाको दूध धेरैनै फाइदाजनक हुने, यसले सही रूपमा मांसपेशीको विकास गर्ने जस्ता कुरा शारीरिक सुगठनका खेलाडीहरूले समेत बुझे अनि उक्त दूध किन्नेहरूको भीड लाग्न थाल्यो ।
शारीरिक सुगठनका खेलाडीहरूले राफाएलाको दूधका लागि जति पनि मूल्यमा तिर्ने भएपछि उनले प्रतिऔंस १ यूरोमा आफ्नो दूध बिक्री गर्न थालिन् । राफाएलले अहिलेसम्म ५ सय लिटर जति दूध बिक्री गरेर ८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको बताइन्छ ।