साप्ताहिक संवाददाता
विश्व फुटबलमा जति बेला इंग्ल्यान्ड मैदानमा हुन्छ, त्यसको चर्चा बढी हुन्छ । त्यसैले आउने विश्वकप २०१८ मा इंग्ल्यान्ड सम्मिलित समूह ‘जी’ को चर्चा पनि प्रशस्तै छ । अझ प्रत्येक ठूलो प्रतियोगिता अगाडि बेलायती मिडियाले इंग्ल्यान्डलाई सम्भावित विजेताका रूपमा प्रस्तुत गर्छन, तर अन्त्यमा टिमको प्रदर्शन भने निकै निराशाजनक हुन्छ । यसपटक पनि रूसी भूमिमा इंग्ल्यान्डको प्रदर्शन त्यस्तै हुने त होइन ?
इंग्लिस फुटबलका समर्थक धेरै छन् । उनीहरू चाहन्छन्— इंग्ल्यान्डले यसपटक नयाँ इतिहास लेखोस् । सबैभन्दा लोकप्रिय इंग्लिस प्रिमियर लिग चल्ने देशबाट त्यसभन्दा बढी अपेक्षा गर्न सकिन्छ । सन् १९६६ मा इंग्ल्यान्डले त्यति बेलाको विश्वकप चुमेर अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता चुमेको थियो । सन् १९९० को विश्वकपमा सेमिफाइनल पुगेयता इंग्ल्यान्डले अरु संस्करणमा खासै राम्रो गर्न सकेको छैन । इंग्ल्यान्ड उक्त विश्वकपयता एकपटक मात्र अन्तिम आठमा पुग्न सफल भएको छ ।
पछिल्लो विश्वकपमा त इंग्ल्यान्ड समूह चरणमै रोकियो । सन् १९९० मा इंग्ल्यान्डले बेल्जियमलाई पन्छाएको थियो । यसपल्ट इंग्ल्यान्ड बेल्जियम सम्मिलित समूहमै छ । कम्तीमा कागजमा दाबी गर्न सकिन्छ, यो समूहबाट नकआउट चरण पुग्ने दुई टिम अरू होइन, इंग्ल्यान्ड र बेल्जियम नै हुनेछन् । संयोगले बेल्जियमका अधिकांश प्रमुख खेलाडी इंग्लिस प्रिमियर लिग खेल्छन् र उनीहरू क्लबका प्रमुख खेलाडी पनि हुन् ।
जुन १८ बेल्जियम–पानामा जुन १८ ट्युनिसिया–इंग्ल्यान्ड जुन २३ बेल्जियम–ट्युनिसिया जुन २३ इंग्ल्यान्ड–पानामा जुन २८ इंग्ल्यान्ड–बेल्जियम जुन २८ पानामा–ट्युनिसिया |
अहिले इंग्ल्यान्ड गेराथ बेलको प्रशिक्षणमा छ र टिमले युरोपेली छनौट चरणमा उत्कृष्ट प्रदर्शन पनि गरेको थियो । इंग्ल्यान्डले छनौटका क्रममा ३ गोल मात्र खाएको थियो र स्पेनसँगै छनौटमा बराबरीको उत्कृष्ट प्रदर्शन गरेको थियो । यही प्रदर्शनले गर्दा इंग्लिस समर्थकको उत्साह बढेको हो । अर्कातर्फ बेल्जियमको अहिलेको टिमलाई अझै पनि स्वर्णिम पुस्ताको टिम भनिन्छ, तर यो टिमले पनि अहिलेसम्म खासै केही गर्न सकेको छैन, त्यसैले यो पुस्ताका खेलाडीको आलोचना पनि उत्तिकै हुन्छ ।
उनीहरू आप््mनो क्लबका लागि त राम्रो खेल्छन्, तर यस्तै प्रदर्शन आफ्नो देशका लागि गर्दैनन् । रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियमसँग एडेन हेजार्ड र रोमेलु लुकाकु जस्ता दुई उत्कृष्ट फरवार्ड छन् । यस्तै मिडफिल्डमा केभिन डे ब्रुन छन् । हेजार्डले चेल्सी, लुकाकुले म्यानचेस्टर युनाइटेड र डे ब्रुनले म्यानचेस्टर सिटीका लागि राम्रो गरिरहेका छन् । उनीहरूमाथि रूसमा त्यस्तै प्रदर्शन गर्ने चर्को दबाब हुनेछ ।
एउटा टिमका रूपमा बेल्जियम निकै बलियो भएकोमा कुनै शंका छैन । त्यसैले आयोजक रुसलाई छाडेर बेल्जियम युरोपबाट आउने विश्वकपमा छनौट हुने पहिलो टिम बनेको थियो । सन् २०१४ को विश्वकपमा बेल्जियमले अन्तिम आठसम्मको यात्रा तय गरेको थियो, ठूलो अपेक्षाका बाबजुद पनि त्यसभन्दा अघि बढ्न सकेन । निर्णायक क्षणमा चुक्ने कारणले पछिल्लो युरोमा पनि बेल्जियमको प्रदर्शन निराशाजनक रह्यो ।
पानामाले यसपटक विश्वकपमा डेब्यु गर्दैछ, त्यसैले रूस आउँदा उसले पनि ठूलो सपना बोकेर आउनेछ । पहिलो विश्वकप खेल्न लागेका कारण पानामा सामु दुई विकल्प हुनेछन् । पहिलो, आफ्नो प्रतिष्ठाका कारण ठिक्कै खेल्ने र संयमित रहेर प्रदर्शन गर्ने । अर्को, आक्रामक रूपमा प्रस्तुत हुने र अप्रत्याशित नतिजाको अपेक्षा गर्ने । पानामाले दोस्रो रणनीति लियो भने त्यो इंग्ल्यान्ड र बेल्जियम दुवैका लागि तनावको कारण हुन सक्छ ।