सँगै जिउने, सँगै मर्ने वाचा गरेका आफ्नै श्रीमान्ले हत्या गर्लान् भन्ने कुन श्रीमतीले सोचेकी हुन्छिन् ? श्रीमान्–श्रीमतिबीच सामान्य विवाद र झगडा भए पनि त्यसलाई परालको आगोका रूपमा लिइन्छ, तर मोरङ, पथरी शनिश्चरेमा आफ्नै श्रीमान् काल बनेका छन् । मदिराको नशामा लट्ठिएपछि ३३ वर्षीय चन्द्रबहादुर नाल्बो लिम्बूले मोरङको पथरीशनिश्चरे– ९ की आफ्नै श्रीमती ३० वर्षीया तुलसा लिम्बूलाई धारिलो हतियार प्रयोग गरी बीभत्स तरिकाले हत्या गरेको प्रहरीले बताएको छ ।
बेहोसी अनि अपराधी सोचका कारण चन्द्रबहादुरले माघ २७ गते राति आफ्नै कोठामा श्रीमतीको गर्धन, गाला र शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख विजय श्रेष्ठले बताए । राति नै श्रीमतीको हत्या गरी फरार भएका लिम्बूलाई प्रहरीले हत्या भएको ३ सातापछि गत साता पक्राउ गर्यो र हत्याको रहस्य बाहिर आयो । सादा पोसाकमा खटिएका विशेष प्रहरीले फरार अभियुक्त लिम्बूलाई मोरङको बेलबारी नगरपालिका– ११ लक्ष्मीमार्गमा उनका साथीको घरमा लुकिरहेको अवस्थामा फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय, पथरीका प्रमुख श्रेष्ठले भने— मदिरामा लट्ठिएर अभियुक्तले हत्या गरेको देखियो । मादक पदार्थ सेवन गरी घर आइपुग्दा सामान्य घरायसी बादबिवाद भएको प्राम्भिक अनुसन्धानबाट देखिन्छ, श्रेष्ठले भने— सामान्य विवादमा खुकुरी प्रहार गरी विभत्स तरिकाले हत्या गरिएको देखिन्छ । कर्तव्य ज्यान मुद्दा लागेका अभियुक्त लिम्बूलाई फागुन २७ गते जिल्ला अदालत मोरङमा म्याथ थप गरी आवश्यक अनुसन्धान भैरहेको श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार तीन–चार महिनादेखि हराएका अभियुक्त लिम्बूलाई खोजी गरिदिन उनकी श्रीमतीले नै शनिश्चरे प्रहरीचौकीमा निवेदन दिएकी थिइन् ।
यसरी गरे श्रीमतीको हत्या
चन्द्रबहादुर पहिलेदेखि नै साँझ परेपछि मदिरा सेवन गरी घर आउँथे । माघ २७ गते पनि उनी अत्यधिक मदिरा सेवन गरेर साँझ परेपछि घर आइपुगेका थिए । घर आइपुग्दा उनले श्रीमतीलाई देखेनन् । उनीहरूका ७ र ८ वर्षका दुई छोरी थिए । त्यस दिन छोरीहरू मामाघर गएका थिए । जब साँझ ७ बजे श्रीमती उनको अगाडि पुगिन्, श्रीमान् मदिराले लट्ठ भैसकेका थिए । त्यसपछि उनीहरूबीच बादविवाद भयो । त्यही बीचमा चन्द्रबहादुरले घरमा रहेको खुकुरी निकालेर तुलसाको शरीरमा प्रहार गरे । मदिराको नशामा बेहोसजस्तै भएका चन्द्रबहादुरले श्रीमतीको शरीरका विभिन्न भागमा पटक–पटक खुकुरी प्रहार गरे । श्रीमतीको हत्या गरेपछि राती नै उनी त्यहाँबाट फरार भए ।
यसरी पक्राउ परे
स्थानीय बासिन्दाले बीभत्स तरिकाले तुलसीको हत्या भएको जानकारी इलाका प्रहरी कार्यालय, पथरीलाई दिए । प्रहरी टोली तत्काल घटनस्थलमा पुग्यो । घरमा श्रीमान्–श्रीमती मात्र बस्ने प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीले श्रीमान् चन्द्रबहादुरले नै हत्या गरेको आशंका गर्यो । तत्काल इलाका प्रहरी कार्यालय पथरीले चन्द्रबहादुरको खोजी कार्यलाई तीव्रता दियो । श्रीमतीको हत्या गरेपछि चन्द्रबहादुर घरनजिकै जंगलको बाटो हुँदै लक्ष्मीमार्गस्थित साथीको घरमा लुकेर बसेका थिए । प्रहरीलाई विश्वासिलो स्रोतले चन्द्रबहादुर साथीको घरमा लुकेर बसेको जानकारी दियो । तत्काल इलाका प्रहरी कार्यालय पथरीले सादा पोसाकका प्रहरी प्ररिचालन गर्यो । प्रहरीले चन्द्रबहादुरलाई मदिराको नशाले मात्तिएको अवस्थामै पक्राउ गरेको थियो ।