सरकारले १६ वर्ष पुगेर ४० वर्ष नकाटेका नागरिकलाई युवा मानेको छ । नेपालमा ४१ प्रतिशत जनसंख्या युवाहरूको भएको सरकारी तथ्यांक छ । त्यो ४१ प्रतिशतको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभाका कुल सदस्यको करिब १२ प्रतिशत (३९ जना) युवा संसद्मा प्रवेश गरेका छन् । त्यसमध्ये ८ जना ३५ वर्ष नपुगेका युवा छन् । साप्ताहिकले कोर युवाको प्रतिनिधित्व गर्ने ती ८ जना सांसदहरूको राजनीतिक यात्रासम्बन्धी जानकारी समेट्ने प्रयास गरेको छ । ती ८ जनामध्ये तीन जना प्रत्यक्ष रूपमा निर्वाचित भएर आएका हुन् भने ५ जना समानुपातिक सांसद हुन् । जातीय तथा क्षेत्रीयताका आधार हेर्ने हो भने पनि ती ८ जना नै जनजाति, दलित तथा मधेसी समुदायबाट चुनिएर आएका छन् । ३५ वर्षमुनिका सांसदमा २ पुरुष तथा १ महिला सांसद प्रत्यक्षतर्फको निर्वाचन जितेर आएका हुन् भने अन्य ५ जना महिला समानुपातिक प्रणालीमार्फत चुनिएका हुन् । यसरी चुनिएर आएकामध्ये २ जना सांसदले अहिलेको सरकारमा मन्त्रीसमेत हुने सौभाग्य समेत पाएका छन् । फरक–फरक पार्टीबाट संसद्मा प्रवेश गरेका यी सबै युवाको प्रमुख मुद्दामा भने समानता पाइन्छ । उनीहरू सबैले एक स्वरमा वैदेशिक रोजगारीको लहरमाथि नियन्त्रण गर्नुपर्ने कुरा बताएका छन् ।
विमला विक, ३१ वर्ष
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–६ मा २०४२ सालमा जन्मिएकी विमला विक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रवेश पाउने दोस्रो कम उमेरकी सांसद हुन् । कक्षा ८ अध्ययनका क्रममा नेकपा एमाले समर्थित अनेरास्ववियुको आन्दोलनमा होमिएकी विमला ३१ वर्षको उमेरमै सांसद बन्न सफल भइन । नेकपा एमालेको जिल्ला सचिवालय सदस्य तथा दलित उत्थान संघको अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी विमलालाई नेकपा एमालेले समानुपातिक कोटामा सभासद बनाएको हो । अनेरास्ववियुको प्रारम्भिक कमिटी, जिल्ला कमिटी सचिव तथा अखिल नेपाल महिला संघको जिल्ला सचिवको नेतृत्व सम्हालिसकेकी विमलाले कानुनमा स्नातक गरेकी छिन् ।
केन्द्रीय सांसदका रूपमा पहिलो पटक संसद् भवनमा प्रवेश पाउने ३१ वर्षीया विमलाको प्रमुख मुद्दा सबैका लागि गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्छ भन्ने हो । उक्त मुद्दासँगै स्वरोजगारीका लागि देश सुहाउँदो कानुन निर्माण गर्ने, युवाहरूको विदेश पलायन रोक्ने तथा युवाहरूलाई देश विकासमा लगाउने नीति बनाउन पहल गर्ने हो । स्वरोजगारीका लागि राज्यले गर्नुपर्ने प्रतिबद्धता र सुरक्षालाई सहज बनाउन कानुन निर्माणमा उनको भूमिका रहने छ । लामो समयदेखि विद्यमान सामाजिक समस्या दुव्यसन, छुवाछूत, बालविवाह, महिला हिंसाजस्ता कुरा पनि संसदमा उनले उठाउने मुद्दा हुन् ।
पार्वतीकुमारी बिशंखे, ३१ वर्ष
दैलेखको दलीत परिवारमा २०४३ सालमा जन्मिएकी पार्वती कुमारी विशंखे सबैभन्दा कान्छी सभासद हुन् । ३१ वर्षीया पार्वती १३ वर्षको उमेरदेखि एमालेको राजनीतिमा होमीएकी हुन् । विद्यार्थी राजनीतिमा सक्रिय पार्वती हाल नेकपा एमाले दैलेख जिल्ला कमिटिकी सदस्य छिन् भने अखिल नेपाल महिला संघको कोषाध्यक्षको जिम्मेवारीसमेत सम्हालिरहेकी छिन् । त्यस्तै उनी नेपाल उत्पीडित जातीय मुक्ति समाजको ६ नम्बर प्रदेश सदस्यसमेत छिन् । दैलेखस्थित नारायण क्याम्पसबाट बीए उत्तीर्ण पार्वतीले दलित महिला संघको जिल्ला अध्यक्षको पद पनि सम्हालिसकेकी छिन् । दोस्रो जनआन्दोलनका बखत तीन पटक गिरफ्तारीमा परेकी पार्वतीको त्यही योगादानलाई हेरेर एमालेले देश नयाँ संरचनामा गएपछिको पहिलो संसद्मा समानुपातिक संसदका रूपमा उनको मनोनयन गरेको हो । पार्वतीले संसद्मा नेपालबाट विदेश पलायन भैरहेका युवाहरूलाई रोक्न विशेष आवाज उठाउने प्रण गरेकी छिन् । ‘अहिले पनि उत्पादनशील युवा विदेश पलायन भैरहेका छन् । योग्यता अनि क्षमता भएका युवाहरूलाई रोक्न मेरो विशेष भूमिका रहनेछ ।’ पार्वती भन्छिन्, ‘त्यसका साथै बिदेसिने युवाले नेपाल पठाएको रेमिट्यान्सको उचित र व्यवस्थित परिचालन गरी धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने नीति बनाउनतर्फ लाग्नेछु ।’
बिना मगर, ३३ वर्ष,
बिना मगरले सुदूरपश्चिमबाट सबैभन्दा कलिलो उमेरमा फुल महिला मन्त्री भएर इतिहास रचिन् । त्यति मात्र नभएर गत मंसिरमा भएको मध्यावधि निर्वाचनमा ३५ वर्ष भन्दा कम उमेरमा प्रत्यक्ष निर्वाचन लडेर केन्द्रीय संसद् सदस्य बन्ने उनी एक्ली महिला हुन् ।
माओवादी केन्द्रका तर्फबाट निर्वाचन जितेकी मगर ११ वर्षको उमेरमै बाल–जनवादी कलाकारका रूपमा माओवादी जनयुद्धमा सहभागी थिइन् । माओवादी जनयुद्ध उत्कर्षमा पुग्ने क्रममा विद्यार्थी आन्दोलनसँग जोडिएकी बिनालाई नेपाली सेनाको भैरवनाथ गणमा राखी २५ महिना कठोर यातनामा दिइएको थियो । ‘मलाई त्यो २५ महिनाको यातनाभन्दा भयंकर दिन आउँछ भन्ने लागेको थिएन ।’ बिना साप्ताहिकसँग भन्छिन् ‘तर जीवन सधंै संघर्ष नै रहेछ ।’
स्नातक तहसम्मको अध्ययन गरेकी बिना हाल नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत हुन् । उनले अनेरास्ववियु जिल्ला कमिटी कञ्चनपुर अध्यक्ष, त्यसपछि काठमाडौं जिल्ला अध्यक्ष, अखिल नेपाल महिलासंघ जिल्ला अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेकी छिन् ।
केपी ओलीको मन्त्रिपरिषद्मा खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हालेकी बिना यो मन्त्रिपरिषद्मा युवाहरूको नेतृत्व आफूले गरेको दाबी गर्छिन् । ‘मलाई युवाहरूले आफ्नो प्रतिनिधिका रूपमा हेर्नुभएको छ ।’ बिना भन्छिन्, ‘मलाइ अरू मन्त्रीजस्तो असफल हुने छुट छैन ।’ देश विकासका लागि अवसर सिर्जना गरेर बिदेसिने युवालाई रोक्नु यो सरकारको पहिलो काम भएको बिना बताउँछिन् ।
लक्ष्मीकुमारी चौधरी, ३३ वर्ष
नेकपा एमालेका तर्फबाट सभासद भएकी लक्ष्मीकुमारी चौधरीले २०६८ सालमा पार्टीको सदस्यता लिएकी हुन् । अखिल नेपाल महिला संघ जिल्ला सदस्य, पार्टीको निर्वाचन विभाग आदि जिम्मेवारी बहन गरीसकेकी चौधरी ३३ वर्षअघि धनगढी नगरपालीका वडा नम्बर ६ मा जन्मिएकी हुन् । चौधरी स्थानीय तह पुनर्संरचना गर्न बनेको आयोगमा प्रदेश नम्बर ७ को प्रतिनिधिका रूपमा सहभागी थिइन । कैलाली बहुमुखी क्याम्पसमा एम.ए. अध्ययनरत चौधरीले सामाजिक कामबाट राजनीतिमा हामफालेकी हुन् । आफूले विगतमा गरेको कामकै कारण देश बनाउने यो अभियानमा संलग्न हुन पाएको बताउने यी तन्नेरी सभासदको प्रमुख एजेन्डा पनि युवा शक्तिलाई देशमै रोक्ने वातावरण वनाउने कानुन निर्माण नै हो । देशमा आधुनिक कृषिको उत्पादन लाइ व्यवस्थित गर्ने नीति बनाउने, प्राविधिक शिक्षामा जोड दिने र नेपालमै अवसर सृजना गरी विदेशीरहेका युवाहरूलाइ रोक्ने कानुन बनाउन पहल गर्ने उनको सोच छ । ‘आर्थिक विकास गरी युवाहरूलाइ रोजगार बनाउने काममा सक्रिय हुनेछु ।’ चौधरी भन्छिन्— ‘आधुनिकीकरणलाई आत्मसात् गर्न नसके दक्ष युवा बिदेसिने क्रम रोक्न सकिँदैन ।’
नवीना लामा, ३३ वर्ष
एक महिनाअघिसम्म विद्यार्थी नेतृको परिचयमा सीमित नवीना लामाको परिचय फेरिएको छ अहिले । २०४० सालमा जन्मिएकी काभ्रे मदनकुँडारी–७ की लामा अहिले केन्द्रीय संसद्को सदस्य भएकी छिन् । २०५६ सालमा विद्यार्थी राजनीति सुरु गरेकी लामा ०७१ मा अनेरास्ववीयुको केन्द्रीय अध्यक्ष निर्वाचित भएकी थिइन् ।
२०६२/०६३ सालको जनआन्दोलनमा पटकपटक गिरफतारीमा परेकी लामा अहिले मास्टर्स अध्ययनरत छिन् ।समातामूलक शिक्षा उनको प्राथमिकतामा छ । व्यवसायिक एवं वैज्ञानिक शिक्षामा जोड दिँदै वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या कम गर्ने नीति तयार पार्न आफ्नो भूमिका रहने उनको भनाइ छ । ‘विद्यार्थी आन्दोलनबाट मेरो राजनीति प्रारम्भ भएको हुँदा शिक्षाकै मुद्दा मेरो प्राथमिकतामा रहनेछ ।’ लामाले भनिन्, ‘अहिलेको सवैभन्दा ठूलो समस्या भनेको बेरोजगारी हो, त्यसका लागि रोजगारीका अवसरमा वृद्धि तथा व्यवहारिक एवं वैज्ञानिक शिक्षामा जोड दिनुपर्छ ।’
रामकुमारी चौधरी, ३२ वर्ष
खड्गप्रसाद ओली मन्त्रिपरिषद्की सबैभन्दा कान्छी मन्त्री हुन्— रामकुमारी चौधरी । नेकपा माओवादीका तर्फबाट समानुपातिक सांसद चौधरी कृषि भूमिव्यवस्थापन तथा सहकारी राज्यमन्त्री भएकी छिन् । सुनसरीको रामधुनी नगरपालीका वडा नम्बर–९ मा जन्मिएकी चौधरी उक्त नगरबाट मन्त्री हुने पहिलो व्यक्ति पनि हुन् । प्लस टु सम्मको अध्ययन गरेकी चौधरी सांसद्बाहेक माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत हुन् । पार्टीको सुनसरी जिल्ला इन्चार्ज तथा थारु मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्षको समेत भूमिका निर्वाह गरिरहेकी चौधरी माओवादीले जनयुद्धका बेला सञ्चालन गरेको समानान्तर जनसरकारको सुनसरी जिल्ला प्रमुख थिइन् । २०५६ सालमा १४ वर्षको उमेरमै युद्धको पूर्णकालीन सिपाही भएर लडाइँको मोर्चामा होमिएकी चौधरीले त्यतिबेला आफ्नी बहिनीलाई गुमाउनुपरेको थियो ।
हेमकुमार राई, ३४ वर्ष
गएको संसदीय चुनावमा नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई भारी मतले पराजित गरेपछि सोलुखुम्बुका हेमकुमार राई एकाएक चर्चामा आए । वाम गठवन्धनका संयुक्त उमेदवार राईले माओवादीका तर्फबाट प्रत्यक्ष निर्वाचन जितेका हुन् । प्रत्यक्षतर्फ चुनाव लडेर विजयी हुने ३५ वर्षमुनिका ३ जना युवामध्ये उनी पनि एक हुन् । १५ वर्षको उमेरमै माओवादी राजनीतिमा होमिएका हुन् उनी । २०५६ सालमा पार्टीको पूर्णकालीन सदस्य हुँदै काँधमा बन्दुक बोकेका थिए उनले । एरिया इन्चार्जका रूपमा जनयुद्धमा सामेल भएका राई हाल पार्टीको पोलिटब्युरो सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारीमा समेत छन् । एसएलसी उत्तीर्ण राई देश विकासका लागि अहिले व्यापारीकरणको रूप लिइरहेको वैदेशिक रोजगारीलाई रोक्नुपर्ने बताउँछन् । आफ्नो संसद् यात्राको प्रमुख ध्येय पनि त्यही भएको उनको भनाइ छ । ‘वैदेशीक रोजगारीमा जाने युवाहरूलाई नेपालमै रोक्ने नीति तथा कार्यक्रम बनाउन पहल गर्नु मेरो प्रमुख एजेन्डा हो ।’ राईले भने, ‘जबसम्म बिदेसिने युवाहरूलाई रोकेर नेपालमै रोजगारीका अवसर सिर्जना गर्न सकिँदैन तबसम्म देशलाइ समृद्ध बनाउने कुरा सपना मात्र हुन्छ ।’
अमनलाल मोदी, ३२ वर्ष
नेपालमा पुराना नेताहरूले नै राजनीतिक पद ओगटिरहेको अवस्थामा मोरङ क्षेत्र नम्बर–४ बाट निर्वाचित ३२ वर्षीया अमनलाल मोदी अवसर पाए युवाले पनि राजनीतिक नेतृत्व लिन सक्छन् भन्ने उदाहरण हुन् । दोस्रो संविधानसभामा समानुपातिक कोटाबाट सबैभन्दा कान्छो सभासदका रूपमा संसद् भवनमा प्रवेश गरेका मोदीले माओवादी सशस्त्र युद्धलाई साथ दिँदै २०५६ सालमा अखिल क्रान्तिकारीको एकाइ समितिबाट राजनीतिक यात्रा थालेका थिए । मोदी उक्त संगठनको जिल्ला अध्यक्ष, पार्टीको जिल्ला सदस्य, पदाधिकारी हुँदै अहिले केन्द्रीय राजनीतिमा छन् । विद्यार्थी राजनीति गरेकै आधारमा २०६० सालमा पक्राउ परी २ वर्ष २ महिना जेल तथा निर्मम यातना पाएका थिए उनले । थारु मुक्तिमोर्चाको केन्द्रीय सचिवसमेत रहेका मोदी केही समयअघि चलेको थारुहट आन्दोलनका प्रवत्तासमेत थिए ।
बीएड तेस्रो वर्ष अध्ययन गर्दागर्दै पक्राउ परेपछि त्यसपछिको शैक्षिक गतिविधि अघि बढाउन नसकेको उनको गुनासो छ । सामान्य परिवारमा जन्मिएका मोदी नयाँ पुस्तालाई राजनीतिक नेतृत्वमा स्थापित गराउने नीति निर्माणमा आफ्नो भूमिका हुने कुरा बताउँछन् । राजनीतिमा पुराना नेताहरूको दबदबा अनि नातावाद–कृपावाद मौलाएको छ । ‘जबसम्म युवा नेतृत्व स्थापित हुँदैन तबसम्म देश विकास सम्भव छैन ।’ अगमलाल भन्छन्— ‘रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता विकराल स्थिति हो, त्यसलाइ रोक्न पनि युवा नेतृत्व आवश्यक छ । मेरो भूमिका त्यही विषयमा केन्द्रित हुनेछ ।’