अभिनेता दीपकराज गिरी तथा अभिनेत्री प्रियंका कार्कीको जोडी चलचित्रवृत्तमा सफल जोडी मानिन्छ । यो जोडीले चारवटा चलचित्रमा काम गरिसकेको छ । वडा नम्बर छ, छक्का पञ्जा तथा छक्का पञ्जा–२ मा यो जोडीलाई दर्शकहरूले मन पराइसकेका छन् । यतिबेला दीपकराज र प्रियंका चलचित्र शत्रु गतेमार्फत दर्शकमाझ आइरहेका छन् । यो चलचित्रमा पनि उनीहरूले अनस्क्रिन रोमान्स गरेका छन् ।
चलचित्रको पर्दामा जे–जस्तो भूमिकामा प्रस्तुत भए पनि दीपकराज र प्रियंका पर्दा बाहिरका निकटतम साथी हुन् । उनीहरू एक–अर्काको कमि–कमजोरी औंल्याउनेदेखि राम्रो कामको प्रशंसा समेत गर्छन् । साप्ताहिकको यो स्तम्भका लागि दीपकराजले प्रियंकाका असल तथा खराब पक्षका बारेमा यसरी मुख खोलेका छन् :
असल पक्ष
कामप्रति प्रेम
आफ्नो काम अर्थात अभिनयप्रति अगाध प्रेम छ । प्रिंयका व्यक्तिगत जीवनमा कसैकी छोरी, प्रेमिका वा दिदी–बहिनी होलिन् यद्यपि चलचित्र क्षेत्रमा उनी केवल एउटी कलाकार हुन् । कलाकारिता भने पछि रात–दिन सबै बिर्सने उनको बानी अद्वितिय छ ।
आलु जस्तो स्वभाव
झट्ट सुन्दा नकारात्मक सुनिएला, तर उनको स्वभाव आलु जस्तो छ अर्थात उनी जोसँग पनि मिल्न सक्छिन् । जसरी आलुलाई साग, करेला, गुन्द्रुक जेसँग मिसाएर पकाए पनि मिठो हुन्छ, उनी पनि हरेक उमेर तथा वर्गका मानिसहरूसँग सहजै घुलमिल हुन सक्छिन् ।
ड्रेस सेन्स
प्रियंकाको जस्तो ड्रेस सेन्स मैले अन्य नेपाली अभिनेत्रीमा फेला पार्न सकेको छैन । कस्तो अवसरमा कस्तो पहिरन लगाउने, कसरी आकर्षक अनि फिट देखिने भन्ने कुराको राम्रो ज्ञान भएकी अभिनेत्री हुन्– प्रियंका ।
छैन घमण्ड
लोकप्रियताको हिसाबले उनी नेपालकै नम्बर एक अभिनेत्री हुन् भन्दा फरक पर्दैन । यति हुँदा–हुँदै पनि उनमा रत्तिभर घमण्ड छैन । आफ्नो ठूलो स्टारडम भए पनि त्यसलाई प्रदर्शन गर्दिनन्, यो उनको महानता हो ।
मित्रवत व्यवहार
सबैसँग मित्रवत् व्यवहार गर्ने उनको बानी उदाहरणीय छ । उनको यो बानी हरेकले अनुशरण गर्दा फरक पर्दैन ।
खराब पक्ष
स्वास्थप्रति बेवास्ता
काममा धेरैभन्दा धेरै सचेत हुँदा उनले आफ्नो स्वास्थको ख्याल गर्नबाट चुकेकी छिन् । प्रिंयका हेल्थ इज वेल्थ भन्ने कुरा मनन् गर्नुपर्छ ।
खानेबानी
उनको खानेबानी राम्रो छैन । अझ भनौं खाने टाइमटेबल नै छैन । फुड ह्याबिट नराम्रो भएकैले उनको स्वास्थ बिग्रन सक्ने सम्भावना पनि उत्तिकै छ ।
नाईँ नभन्ने बानी
उनी कसैलाई ‘नो’ भन्न सक्दिनन् । नाईँ नभन्ने बानीकै कारण उनले कहिलेकाहीँं सोच्दै नसोचेको प्रोजेक्टमा पनि काम गरिरहेको पाइन्छ । कहिलकोहीँं नो भन्ने बानी पनि बसाल्नुपर्छ । यस्तो बानी बसालिएन भने आफ्नो करियरलाई नै पुग्न हुनसक्छ ।
चाँडो प्रतिक्रिया
उनी हरेक कुरामा तत्काल प्रतिक्रिया दिइहाल्छिन् । हुन त मेरो पनि यस्तै बानी छ, तर म पछि पछुताउँदिन । प्रियंका चाहिँ हतारमा प्रतिक्रिया जनाउँछिन् अनि केही समय पछि नै पछुताउँछिन् ।
प्रेम प्रसंग
सेलीब्रेटीहरूले आफ्नो प्रेम सम्बन्धलाई सकेसम्म गोप्य राख्ने प्रयास गर्नुपर्छ । प्रियंकाले त्यसो गरेकी छैनन् । प्रियंकाले आफ्नो प्रेम प्रसंगलाई सार्वजनिक रूपमै व्यक्त गरेपछि उनको सपना देखेर सुत्नेहरूको संख्या घट्न थालेको छ अर्थात् उनले आफ्नै प्रशंसक घटाइरहेकी हुन सक्छिन् ।