चैत्र १५, २०७४
चलचित्र मात्र होइन, ज्याकलिन फर्नाडिजले काम गरेका अधिकांश गीतलाई प्रशंसकहरूले निकै रुचाएका छन् । ‘बागी–२’ को एउटा गीतमार्फत ज्याकलिन फेरि आफ्ना प्रशंसकहरूको मन जित्ने तयारीमा छिन् ।
प्रदर्शनको तयारीमा रहेको उक्त गीत सुपरहिट गीत ‘एक दो तीन’ को रिमेक हो । माधुरी दीक्षितले चलचित्र तेजाबमा नृत्य गरेको उक्त गीतको प्रभाव अहिलेसम्म कायम छ । सोही गीतको रिमेकमा ज्याकलिनले ठुम्का लगाएकी छिन् ।
ज्याकलिनले उक्त गीतको रिमेकमा आफूले राम्रो काम गरे पनि माधुरी दीक्षितले जस्तो नृत्य गर्नु आफ्ना लागि असम्भव भएको बताएकी छिन् । ज्याकलिनले यसअघि चिट्टियाँ कलाइयाँ, टन टना टन, ऊची है बिल्डिङ, सुरज डुबा है जस्ता गीतमा नृत्य गरेर आफूलाई अब्बल नृत्याङ्गनाका रूपमा चिनाइसकेकी छिन् ।