साप्ताहिक संवाददाता
राष्ट्रिय लोक दोहोरी प्रतियोगिता कसरी चलिरहेको छ ?
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले हरेक वर्ष आयोजना गर्दै आएको यो प्रतियोगिताको नयाँ संस्करण यही बुधबार काठमाडौंमा प्रारम्भ भएको छ । चार दिने यो महोत्सवको आज शुक्रबार तेस्रो दिन हो भने भोलि यसको समापन हुनेछ ।
यो प्रतियोगिताको मुख्य उद्देश्य के हो ?
लोक तथा दोहोरी गीतको प्रवद्र्धन तथा प्रचार–प्रसार नै प्रतियोगिताको मुख्य उदेश्य हो । यसका साथै यो प्रतियोगितासँग हाम्रो एउटा स्वार्थ पनि जोडिएको छ, प्रतिष्ठानको आफ्नै भवन बनाउने । कार्यक्रमबाट उठेको रकमले भवन निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेका छौं ।
प्रतियोगितामा कलाकारहरूको सहभागिता कस्तो छ ?
हरेक वर्ष प्रतिस्पर्धि गायक–गायिका तथा लोक दोहोरी समुहहरूको संख्या बढिरहेको छ । सहभागिहरूको संख्या बढेकै कारण हामी हरेक वर्ष थप उत्साहका साथ यो प्रतियोगिता सञ्चालन गरिरहेका छौं । यो वर्ष ३२ वटा टिमको सहभागिता छ । सहभागी प्रत्येक प्रतिस्पर्धी एक से एक हुनुहुन्छ ।
आमदर्शकबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
कार्यक्रममा दर्शकहरूको सहभागिता पनि उत्साहजनक छ । दर्शकहरूको बाक्लो उपस्थितिबाट पनि कार्यक्रमको प्रभाव आंकलन गर्न सकिन्छ । यसपटक दर्शकहरूको संख्या पनि बढी छ ।
भविष्यको योजना के छ ?
प्रतिष्ठानको आफ्नै भवन निर्माण गर्नु हाम्रो प्राथमिकता हो । त्यसका साथै हामी दोहोरी गीत तथा नृत्यको कक्षा सञ्चालन गर्ने, लोक तथा दोहोरी गीतको पाठ्यक्रम निर्माण गर्ने अनि कक्षा सञ्चालन गर्ने अर्को अभियानमा पनि छौं । नेपाली लोकबाजाहरूको संग्राहलय, पुराना मौलिक गीत–संगीत र पुस्तकहरूको सांगीतिक पुस्तकालय, संगीत प्रशिक्षण पाठशाला, सभा, सेमिनार तथा गोष्ठीजस्ता कार्य सञ्चालन एउटै भवनभित्र अटाउने सुन्दर सपना लिएर अघि बढेका छौं । हामीले राज्यले संगीत विकास बोर्ड, सेन्सर बोर्ड आदिको स्थापना गर्नुपर्ने माग पनि राखेका छौं । त्यसो हुन सक्यो भने लोक दोहोरी गीतमा प्रयोग गरिने अश्लील शब्द तथा अपाच्य नृत्य स्वत: नियन्त्रण हुँदै जानेछन् ।