साप्ताहिक संवाददाता
अभिनेत्री ऋचा शर्माले यतिबेला आफ्नो सम्पूर्ण ध्यान चलचित्र सुनकेशरीमा केन्द्रित गरेकी छिन् । जेठमा प्रदर्शनमा आउने उक्त चलचित्रको प्रचार उनले चैतदेखि नै थालेकी छिन् । अघिल्लो साता चलचित्रको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा ऋचाको प्रस्तुतीकरण आकर्षक देखियो ।
निकै आत्मविश्वासी देखिएकी ऋचाले घुमाउरो पाराले आफ्नो चलचित्रको बजार स्वदेशमा मात्र नभै विदेश समेत भएको बताइन् । तीन साताको अवधिमा अष्ट्रेलियामा छायांकन गरिएको उक्त हरर चलचित्रमा ऋचाले हलिउडका प्राविधिकहरूलाई समेत काम गराएकी छिन् ।
आफैं निर्मात्री रहेकी ऋचाले चलचित्र सुनकेशरीका बारेमा भनेकी छिन्– ‘मलाई थाहा छ, नेपालमा अहिले कमेडी चलचित्रको ट्रेन्ड छ, यस्तो समयमा हरर चलचित्रले दर्शक पाउन गाह्रो छ, तर नेपाली चलचित्रको बजार नेपालमा मात्र सीमित छैन ।
यो चलचित्रका अधिकांश प्राविधिक विदेशी छन् । त्यसैले पनि चलचित्र सुनकेशरीले आफ्नो लगानी सुरक्षित गर्दै मुनाफासमेत कमाउने कुरामा ढुक्क छु ।’