साप्ताहिक संवाददाता
मैले आजसम्म सयौं म्युजिक भिडियो निर्देशन गरिसकेको छु । यो अवधिमा मैले निर्देशन गरेका थुप्रै म्युजिक भिडियो युट्युब ट्रेन्डिङको टप टेन भित्र पर्न सफल छन् । यसपटक मैले पहिलो पटक ट्रेन्डिङ को पहिलो स्थानमा पुगेको म्युजिक भिडियोको निर्देशक बन्ने सुखद अनुभव गर्न पाएँ । नेपाल आइडल बुद्ध लामाको पहिलो वास्तविक गीत (तिमी साथ भएपछि...) भएकाले पनि दर्शकले यसलाई रुचाउनुभएको हो ।
हरि लम्सालको संगीत तथा सुरेश वाग्लेको शब्दको उक्त गजलको भिडियोलाई उत्कृष्ट बनाउनु मेरा लागि चुनौती पनि थियो । बुद्ध लामाको पहिलो गीतको प्रतीक्षा व्यग्रताका साथ भैरहेको छ भन्ने कुरा मैले राम्रोसँग बुझेको थिएँ । त्यसैले पनि मैले यसमा कुनै कमी–कमजोरी गर्नु हुँदैनथ्यो । गोदावरी भिलेज रिसोर्टमा मैले पहिलो पटक रातभर लगाएर यसको छायांकन गरें । राति ९ बजेदेखि बिहान ६ बजेसम्म छायांकन गर्ने क्रममा अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्माले पनि उत्तिकै उत्साहका साथ काम गरे ।
भिडियो छायांकन भएको केही दिनमै सम्पादक निशान घिमिरेले सम्पादन गरेर युट्युबमा अपलोडका लागि तयार पारे । गीतकार वाग्लेको गजल गृहको युट्युब च्यानलबाट अपलोड भएको पहिलो २४ घण्टामै ३ लाखभन्दा बढी पटक हेरिएको यो भिडियो त्यसपछिको केही दिनमै ट्रेन्डिङको पहिलो स्थानमा पुग्यो । यो भिडियो अहिलेसम्म ८ लाख ८५ हजारभन्दा बढी पटक हेरिएको छ ।