साप्ताहिक संवाददाता
चलचित्र कलाकार संघ (फान)ले गत वर्षदेखि गर्दै आएको ‘फान अवार्ड’को दोस्रो संस्करण सम्पन्न भएको छ । गत साता सम्पन्न अवार्डमा चलचित्र ‘छक्का पञ्जा’ले आफ्नो वर्चस्व कायम गर्न सफल भएको छ । यो चलचित्रले ९ विधाका अवार्ड आफ्नो पक्षमा पार्न सफल भएको छ । उत्कृष्ट चलचित्र सहित ‘छक्का पञ्जा’ले पटकथा, नव–निर्देशक, संगीतकार, खलपात्र, हास्यकलाकार, सह–अभिनेता, नृत्यनिर्देशक र संवाद विधाका अवार्ड जितेको हो । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको अवार्ड समारोहमा वरिष्ठ निर्देशक नीर शाहलाई १ लाख ११ हजार रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्धारा सम्मान गरिएको छ । चलचित्र ‘जात्रा’ ले कथासहित अभिनेता र सम्पादनमा अवार्ड जित्दा उत्कृष्ट अभिनेताका लागि उक्त चलचित्रबाट विपिन कार्कीले अवार्ड उचाले । चलचित्र ‘डाइङ क्यान्डल’मा अभिनय गरेकी सृजना सुब्बाले उत्कृष्ट उत्कृष्ठ अभिनेत्रीको अवार्ड हात पारिन । सह–अभिनेतामा ‘छक्का पञ्जा’ कै जितु नेपाल, खलपात्रमा दीपकराज गिरी, हास्यकलाकार केदार घिमिरे, संगीतकार राजनराज शिवाकोटी र नृत्य निर्देशकमा कविराज गहतराजले अवार्ड बाजी मार्दा पटकथा र संवादमा गरी दीपकले हयाट्रिक गरे ।
नवनिर्देशकका लागि यसै चलचित्रबाट दीपाश्री निरौला उत्कृष्ठ ठहरिदा नव–अभिनेताका लागि आर्यन अधिकारीले ‘के म तिम्रो होइन र’ बाट अवार्ड उचाले । नव–अभिनेत्रीका लागि ‘गाजलु’ बाट सृष्टि श्रेष्ठले प्रतिस्पर्धीलाई उछिनिन् ।त्यसैगरी, निर्देशकमा ‘गाजलु’ बाट हेमराज बीसी, ‘के म तिम्रो होइन र’ बाटै गौरी मल्लले चरित्र अभिनेत्री, ‘किस्मत २’ बाट सन्तोष पन्तले उत्कृष्ट चरित्र अभिनेता, ‘जय पर्शुराम’ बाट एनबी महर्जनले उत्कृष्ट द्वन्द्व निर्देशन, ‘जात्रा’ बाट मित्र डी गुरुङले उत्कृष्ट सम्पादनमा अवार्ड थापे । त्यस्तै, छायांकार रविन आचार्य (डाइङ क्यान्डल), गीतकार कृष्णहरि बराल (शब्द), गायक कालीप्रसाद बाँस्कोटा (पुरानो डुंगा), गायिका मीना निरौला (लुट २) पनि उत्कृष्ट ठहरिए । अवार्डमा प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई वर्षका लोकप्रिय नायक–नायिकाको अवार्ड प्रदान गरियो भने चलचित्र पत्रकारिता पुरस्कारबाट ध्रुव लम्साल र लक्ष्मण सुवेदीलाई सम्मानित गरियो ।