अंग्रेजी महिना अप्रिलको पहिलो दिन अर्थात् अप्रिल १ तारिखलाई अन्तर्राष्ट्रिय रूपमा मूर्ख दिवसका रूपमा मनाइन्छ । युरोप तथा पश्चिमका थुप्रै देशमा अप्रिल फूलका दिन मानिसहरूलाई विभिन्न कुरा गरेर अथवा सुनाएर मुर्ख बनाउने प्रयास गरिन्छ । यदि कसैको कुरामा कोहि झुक्कियो भने उसलाई अप्रिल फूलको संज्ञा दिइन्छ । नेपालमा अप्रिल फूल मनाउने प्रचलन न्यून रूपमै भए पनि दशकौं पहिलेदेखि चलिआएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसंगै पछिल्ला वर्षहरूमा अप्रिल फूल मनाउने चलन बढेको छ । अप्रिल फूल मनाउने प्रचलन कला–संगीतको क्षेत्रमा पनि उत्तिकै छ ।
अभिनेता तथा निर्देशक दीपकराज गिरीसँग अप्रिल फूलसम्बन्धी थुप्रै अनुभव छन् । ‘मलाई धेरैले धेरै पटक अप्रिल फूल बनाए,’ दीपकराज भन्छन्— धेरैजसो अप्रिल फूलमा दुर्घटना भयो भन्ने समाचार सुनाएर अस्पतालसम्म दौडाएका छन् । अस्पताल पुगेर बिरामी खोज्दा नभेटेपछि आफू अप्रिल फूल बनेको उदाहरण पनि छन् ।’ दीपकराजका अनुसार उनी मात्र अप्रिल फूल बनेका होइनन्, कतिपय अवस्थामा उनले पनि धेरैलाई अप्रिल फूल बनाएका छन् । ‘मैले एक पटक मनकामनाको प्रसाद भन्दै झुक्याएको थिएँ, दीपकले सम्झिए– ‘प्रसादका रूपमा गुलियो मिश्री हो भन्दै मैले नूनको ढिक्का खान दिएको थिएँ, मिस्री भनेर नुन टोकाउन त सफल भएँ, तर त्यसको झन्डै एक घण्टा गाली खाएँ । यद्यपि अप्रिल फूल बनाउन पाएकोमा म भित्र–भित्रै खुसी थिएँ ।’
अभिनेत्री केकी अधिकारीलाई स्कुलमा धेरैले अप्रिल फूल बनाउने प्रयास गरेका छन् । त्यसको ठिक विपरित केकीले नै धेरै जनालाई अप्रिल फूल बनाइदिएकी छिन् । यद्यपि एक पटक आफैंलाई अप्रिल फूल बनाइएको एउटा रमाइलो प्रसंग उनी बिर्सन सक्दिनन् । केकी भन्छिन्– ‘होस्टलमा बसेका बेला उनी अध्ययनरत स्कुल दस मिनेटको पैदल यात्रापछि पुगिन्थ्यो । स्कुलमा मेरै आमा इन्चार्ज हुनुहुन्थ्यो । त्यो दिन अप्रिल १ रहेछ, एक जना साथीले होस्टलमा आएर तिमीलाई आमाले तुरुन्तै बोलाउनु भएको छ । जसरी भए पनि स्कुल पुग रे भन्यो । म दौडिँदै, आत्तिंदै स्कुल पुगें । त्यहाँ पुगेपछि पो थाहा पाएँ, आमाले मलाई बोलाउनु भएको होइन रहेछ । मलाई साथीहरूले पो मूर्ख बनाएका रहेछन् ।’
मोडल मनिता ढुंगेल भने अप्रिल फूल आउनुभन्दा केही दिन अघिदेखि नै आफूलाई कसैले झुक्याउँछन् कि भनेर सचेत हुन्छिन् । ‘पहिले नै सचेत भयो भने कसैले पनि मूर्ख बनाउन सक्दैनन्, मनिताको अनुभव छ । ढुंगेल भन्छिन्–‘अरुले मूर्ख नबनाएकाले होला मैले पनि कसैलाई मूर्ख बनाउने हिम्मत गरेकी छैन ।’
निर्देशक मिलन चाम्सलाई पनि केही साथीले अप्रिल फूल बनाउने प्रयास गरेका थिए । यद्यपि उनले केही मिनेटकै अन्तरमा आफूलाई साथीहरूले झुक्याउन खोजेको कुरा थाहा पाए । मिलन भन्छन्– ‘अहिले त सामाजिक सञ्जालहरूका कारण अप्रिल फूल आउनुभन्दा केही दिन अघिदेखि नै यसको चर्चा हुने भएकाले हत्तपत्त कसैले मूर्ख बनाउन सक्दैन ।’
अभिनेता एसराज गराचको अनुभव केही पृथक् छ । एसराज भन्छन्–‘म एक्लै भन्दा पनि कक्षा ११ मा अध्ययरत छँदा एकजना साथी (ऊ अहिले यो संसारमै छैन) ले हाम्रो पूरै कक्षालाई नै अप्रिल फूल बनाइदिएको थियो । उसले आफ्नो बर्थडे मनाउने भनेर पूरै कक्षाका विद्यार्थीलाई न्युरोडस्थित एनडिज डेरीमा बोलाएको थियो । कक्षाका तीन–चार जना बाहेक हामी सबै साथी उपहार बोकेर एनडिज पुग्यौं । त्यहाँ पुगेपछि पो हामी सबै मूर्ख बनाइएका रहेछौं भन्ने थाहा भयो । किनभने उक्त दिन अप्रिल १ थियो । यद्यपि भोलिपल्ट त्यो साथीले सबैलाई खाजा ख्वाउनुपर्यो ।’
मोडल तथा गायिका सृजना गुरुङसंग भने अप्रिल फूलको दोहोरो अनुभव छ । उनले अरुलाई पनि मूर्ख बनाएकी छिन् भने आफू पनि अप्रिल फूल भएकी छिन् । गुरुङ भन्छिन्–‘सानो छँदा स्कुलमा साथीहरूसँग अप्रिल फूल बनाउने प्रतिस्पर्धा नै चल्थ्यो । हामी आफैंसँग पढ्ने साथीहरूलाई मूर्ख बनाउने दिन कुरेर बस्थ्यौं । कहिलेकाहिं अरुलाई मूर्ख बनाउने कुरामा सचेत हुँदा हुँदै आफैं मूर्ख बनिन्थ्यो ।’ सृजनाका अनुसार उनका केही साथी क्रिस्चियन पनि थिए, उनीहरूलाई मूर्ख बनाएको मन पर्दैनथ्यो । जिसस क्राइस्टसंग सम्बन्धित एउटा विशेष दिन भएकाले पनि होला ती साथीहरू अप्रिल फूलको दिन तर्किएरै बस्थे । सृजनाले आफ्नो उमेरका साथीहरूसँग अप्रिल फूल मनाउनु ठीकै भए पनि कसैलाई घात हुने शैलीमा मूर्ख बनाउनु नहुने रहेछ भन्ने कुरा बल्ल बुझ्न थालेकी छिन् । ‘अप्रिल फूलको मौका पारेर हल्का रमाइलो गर्न सकिन्छ, सृजना भन्छिन्– ‘तर गम्भिर कुरामा ठट्टा गर्ने गल्ति भने कसैले पनि गर्नु हुँदैन ।’
गायक मदन गोपाल साथी–भाइसंग रमाइलो ठट्टा गर्न अप्रिल फूल कुर्नै पर्दैन भन्छन् । ‘अहिलेसम्म मलाई कसैले पनि अप्रिल फूल बनाउन सकेको छैन, मदन भन्छन्– ‘मेरो प्रकृती त्यस्तो नभएर होला मैले पनि कसैलाई मूर्ख बनाउन सकेको छैन । यद्यपि प्रत्यक्ष भेटेर त्यो भन्दा रमाइलो ठट्टा चाहिँ गरिरहेको हुन्छु ।’
अभिनेता कबिर खड्काले भने एक जना साथीलाई नराम्रोसँग मूर्ख बनाएका छन् । ‘अप्रिल फूलको मध्यरात एक जना साथीलाई गम्भिर हुँदै फोन गरें । फोनमा मैले उनलाई आफूलाई साह्रै गाह्रो भएको, सन्चो नभएको बताएँ, कबिर भन्छन्–‘त्यो साथी म बस्ने ठाउँभन्दा निकै टाढा बस्थ्यो । मलाई सञ्चो नभएको कुरा सुनेपछि ऊ राति नै मलाई अस्पताल लान ट्याक्सी लिएर आइपुग्यो । आफूलाई अप्रिल फूल बनाएको कुरा थाहा पाएपछि ऊ झन्डै एक हप्ता मसँग बोलेन ।’
अभिनेत्री अनु शाहलाई भने अप्रिल फूल मनाएको मन पर्दैन । ‘मलाई अहिलेसम्म कसैले पनि अप्रिल फूल बनाउने हिम्मत गरेको छैन, अनु भन्छिन्– ‘कसैलाई मूर्ख बनाउनु अथवा झुक्याउनु भनेको अरुलाई दु:ख दिने काम हो जस्तो लाग्छ ।’