साप्ताहिक संवाददाता
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले इनास युरोपको सहकार्यमा आगामी अप्रिल २२ का दिन लन्डनमा छैठौँ इनास युरोप महादेश स्तरीय एकल नृत्य र तेश्रो गायन प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगितामा नेदरल्याण्ड, पोल्याण्ड, डेनमार्क, फिनल्याण्ड, स्वीट्जरल्याण्ड, जर्मनी, बेल्जियम, इटाली, स्पेन र बेलायत गरी १० युरोपेली देशका कुल ४८ प्रतियोगीहरुले प्रतिष्पर्धा गर्दैछन् । कार्यक्रममा नेपाल र अमेरिकाबाट समेत लामो समयदेखि कला क्षेत्रमा आबद्ध नारायण पुरी, धिरेन शाक्य, मधु क्षेत्री, दमन रुपाखेती, कृष्णभक्त महर्जन, परशुराम रिजाल आदि अतिथिका रुपमा सहभागी हुने आयोजकले जनाएका छन् ।
लन्डन अडिसनबाट छानिएका तीन/तीन जनाले बेलायतको प्रतिनिधित्व गर्दै गायन र नृत्य प्रतियोगितामा भाग लिने छन् भने अन्य देशका दुई दुई जना प्रतिष्पर्धामा उत्रनेछन् । आयोजक देशबाट दुवै विधामा तीन/तीन जना सहभागी हुन पाउने प्रावधान रहेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार हुनेले ७०१ युरो नगद, ट्रफी साथै मोडलिङ र गीत रेकर्डिङको अवसर पाउनेछ भने फस्ट र सेकेन्ड रनर अप हुने प्रतिभाले क्रमश: ५०१ र ३०१ युरो सहित ट्रफी पाउनेछन् । विजेतालाई इनासको सदभावना दूत बनाई युरोपका विभिन्न फोरममा सहभागी गराइने आयोजकले बताए ।