साप्ताहिक संवाददाता
मिस नेपाल–२०१८ को उपाधिका लागि अन्तिम प्रतिस्पर्धामा उत्रनुभन्दा ठीक दुई साताअघि २५ जना प्रतिस्पर्धीले काठमाडौंमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । रुसी सांस्कृतिक केन्द्रमा आयोजित ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरूले गीत, नृत्य, कविता वाचन, वक्तृत्व कला तथा अभिनयमार्फत आफूमा अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका हुन् ।
विभिन्न नेपाली चलचित्र तथा आधुनिक गीतमा नृत्य गर्ने प्रतिस्पर्धीहरूबाहेक अभिनय एवं कविता वाचन गर्ने प्रतिस्पर्धीहरूले समाजमा व्याप्त यौन हिंसालाई मुख्य विषय बनाएका थिए । १७ जना प्रतिस्पर्धीले नृत्यमार्फत प्रतिभा प्रस्तुत गरेको उक्त प्रतिस्पर्भामा शिक्षा संग्रौलाले एकल अभिनयमार्फत आफ्नै बुवाद्वारा बलात्कृत किशोरीको पीडालाई प्रस्तुत गरेकी थिइन् ।
श्रृंखला खतिवडाले रंगहरू शीर्षकको कवितामार्फत नौ वर्षकै उमेरदेखि यौन हिंसाको सिकार २२ वर्षीया युवतीको भावना चित्रण गरिन् । उक्त अवसरमा अञ्जिता महतले पनि कवितामार्फत नै आफ्नो भावना व्यक्त गरेकी थिइन् ।
प्रतिभा प्रदर्शन गर्ने क्रममा महिमा सिंह, रोनाली अमात्य, अलिशा बुढाथोकी, अलिशा अधिकारी, अनुपमा बास्तोला, सन्ध्या अधिकारी, आस्था शाख, ममता जोशी, अनश्रूत पन्त, ज्योत्सना क्षेत्री, मेघना श्रेष्ठ, सृष्टि कार्की, शुभेच्छा श्रेष्ठ, सायरा लामा, काश्या अधिकारी, शर्वाणी पाण्डे, आश्मा ढुंगाना तथा लक्ष्मी पन्तले विभिन्न गीतमा नृत्य प्रस्तुत गरे भने सुस्मिता सापकोटा, मनिता देवकोटा तथा लक्ष्मी पौडेलले गीत गाए ।
उक्त अवसरमा प्रिया सिग्देलले स्ट्यान्डअप कमेडी प्रस्तुत गरेकी थिइन् । ट्यालेन्ट शोमा उत्कृष्ट प्रतिभा प्रदर्शन गर्ने एक जनाले चैत २८ गते बुधवार सञ्चालन हुने मिस नेपालको ग्रान्ड फिनालेमा मिस ट्यालेन्टको उपाधि आफ्नो शिरमा सजाउनेछिन् ।