कालो कोट तथा कालै पाइन्टमा ठाँटिएका राजेश हमाल गत आइतबार दिउँसो अमेरिकाको टेक्सासमा नेपाली प्रशसंकहरूबाट घेरिए । हमालसँग सेल्फी खिच्नेहरूको झुन्ड बाक्लै थियो । सूर्य थापाको निर्माण एवं प्रस्तुतिको यु स्टार्ट अगेन कार्यक्रमको उद्घाटनका लागि न्युयोर्कबाट टेक्सास पुगेका हमाल एकोहोरो क्यामेरा र मोबाइल तारोमा परे ।
आयोजकले पनि हमालसँग सेल्फीका लागि समय नै छुट्याएकाले पनि दर्शक उनीसँग तस्बिर खिच्न झुम्मिए । तन्नेरीदेखि पाका दर्शक सबै हमालसँग सेल्फी लिन लालायित देखिन्थे । कार्यक्रमको सुरुवातदेखि अन्त्यैसम्म उनीसँग सेल्फी लिनेहरू ओइरिरहे ।
परदेशका औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा उपस्थिति हुँदा रमाइलो अनुभूति हुने कुरा हमालले बताए । ‘यस्ता कार्यक्रमले आफ्ना प्रिय दर्शकलाई नजिकबाट भेट्ने अवसर जुटाउँछन्’ हमालले भने– ‘दर्शकको यस्तै माया नै हामी कलाकारहरूका लागि सबैभन्दा ठूलो प्रेरणा हो ।’