साप्ताहिक संवाददाता
जीवन ज्यूने कला सिकाउन तल्लीन युरोपवासी सविना कार्की आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा प्रस्तुत भइन् । मिस यूके नेपाल प्रतियोगिता आयोजक इभेन्ट एण्ड आइडियाजले गरेको लाइफ कोचिङ सेमिनारका लागि सविना नर्वेबाट बेलायत आएकी हुन् ।
अचेल मानिसको दिनचर्या निकै व्यस्त छ । अझ विदेशमा बस्नेहरुको हेक्टिक लाइफ स्टाइल कल्पना बाहिर छ । मेसिनजस्तो चलायमान जिन्दगीमा कोही सफल छन् कोही असफल । असफलता भोग्नेहरु हतास र निरास छन् । चिन्ता व्याप्त छ उनीहरुमा । तर, मानिसमा असिमित सम्भावनाहरु पनि उत्तिकै छन्’, लाइफ कोच सविना कार्कीले करिब दुई घण्टा ननस्टप जीवनका सकारात्मक पक्षबारे सुनाइन्, ‘केवल आफ्नो जीवनलाई कसरी विकास गर्ने भन्नेमात्र मुख्य कुरा हो, असम्भव केही छैन् ।’
सबिनाले जीन्दगी के हो ? जीन्दगी ज्यूने कि केवल बाँच्ने ? नेतृत्व विकास कसरी गर्ने ? डिप्रेसनबाट कसरी मुक्ति पाउने ? जीन्दगी प्रभावकारी रुपमा कसरी बिताउने ? ‘पोजेटिभ इनर्जी’ कसरी ल्याउने जस्ता जीवनँंग सम्बन्धित अनेक विषयमा आफ्नो प्रेरणादायी धारणा राखेकी थिइन् । प्रत्येक मानिसमा सकारात्मक र नकारात्मक प्रवृत्ति (एटिच्युड) हुने र त्यस्तो धारणा परिवर्तन आफैंले गर्ने कुरामा सविनाको जोड थियो । ‘आत्मविश्वास अर्को महत्वपूर्ण पक्ष हो’, सविनाले भनिन् ।
बेलायतमा यस खालको कार्यक्रम पहिलो र प्रभावकारी भएको आयोजक इभेन्ट एण्ड आइडियाजकी शान्ति गुरुङले जनाइन् ।
गत वर्ष नर्वेमा हिउँ परिरहेको थियो । प्रतिकुल मौसमका कारण चिप्लिएर आफ्नो कार ठूलो दुर्घटनामा पऱ्यो । धन्न सबिनालाई केही भएन । दुर्घटनाबाट पुनर्जीवन पाएपछि उनलाई जीवनको महत्व झन् बढि भयो । लोभ, क्रोध र चिन्ता होइन, आफ्नो जिन्दगी खुशीसाथ ज्यूनु पर्छ भन्नेमा उनी विश्वस्त भइन् र अरुलाई पनि खुशी जीवन ज्यूने कला सिकाउन थालेकी हुन् ।