साप्ताहिक संवाददाता
यो साता काठमाडौंमा एउटा पृथक् शैलीको फेसन शो सम्पन्न भयो । फेसन शोमा क्याटवाक गर्ने मोडलहरूले आकर्षक पहिरन त लगाएका थिए, यद्यपि उनीहरूको लक्ष्य पहिरन प्रदर्शन गर्नु थिएन ।
ती सुन्दर मोडलहरूले पहिरनको साटो आफ्नो शरीरमा लगाएका आकर्षक आभूषणहरू प्रदर्शन गरेका थिए । आरबी डायमण्ड ज्वेलर्सले आयोजना गरेको जेम्स अफ नेपाल शीर्षकको फेसन शोमा सेलिब्रेटी मोडलहरूले हीराका गहनाहरूका पछिल्ला नमूना प्रदर्शन गरे ।
त्यसक्रममा मिस नेपाल २०१७ का विजेताहरू निकिता चाण्डक, रोजिना श्रेष्ठ, नीति शाह तथा साहारा बस्नेत आकर्षकको केन्द्र बने । यी चार सुन्दरीलाई आभुषण प्रदर्शनीका लागि मिस नेपाल २०१८ का प्रतिस्पर्धि सुन्दरीहरूले पनि साथ दिएका थिए । सिएनएन हिरो पुष्पा बस्नेत तथा बटरफ्लाई होमलाई सहयोग पुर्याउने उद्देश्यले उक्त फेसन शो आयोजना गरिएको आयोजकले जनाएका छन् ।