साप्ताहिक संवाददाता
फेसबुक स्थापना भएको १४ वर्ष पश्चात् यसका संस्थापक मार्क जुकरबर्गले सर्वाधिक कठिन चुनौती सामना गरिरहेका छन् । कम्पनीको सेयर लगातार घटिरहेको छ भने फेसबुकमा सेयर गरिएका जानकारीको व्यक्तिगत गोप्यताका बारेमा समेत प्रश्न उठेको छ ।
टेस्ला तथा स्पेस एक्सका संस्थापक इलोन मस्कदेखि विभिन्न प्रतिष्ठित व्यक्तिहरूले आफ्नो फेसबुक पेज निष्क्रिय बनाइसकेका छन् । विश्वका करिब १० करोड प्रयोगकर्ताले फेसबुक पेज हटाउने वा छोड्ने मनस्थिति बनाएको तथ्य समेत सार्वजनिक भएको छ । यस्तै हो भने फेसबुकको भविष्य के होला भन्ने चिन्ता समेत व्याप्त भएको छ ।
अमेरिकी अखबार न्युयोर्क टाइम्स तथा ब्रिटेनको अब्जर्भरको संयुक्त जाँचपश्चात् नयाँ तथ्य खुलासा भएपछि त्यसका बारेमा नयाँ बहस प्रारम्भ भएको हो । ब्रिटेनको क्याम्ब्रिज एनालेटिक्सका नामक कम्पनीले फेसबुकका ५ करोड प्रयोगकर्ताको निजी जानकारी उनीहरूको सहमतिबिनै दुरुपयोग गरेको कुरा सार्वजनिक भएको छ । त्यसको उपयोग सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पक्षमा गरिएको थियो । उक्त जानकारीका आधारमा एक एपको सहयोगले भोटरको व्यवहारको भविष्यवाणी गर्न यसको उपयोग गरिएको थियो । क्याम्ब्रिज एनालेटिक्सका एक कर्मचारी क्रिस्टोफर वाइलीले नै सञ्चार माध्यममा उक्त तथ्य सार्वजनिक गरेका थिए ।
क्याम्ब्रिज युनिभर्सिटीमा मनोविज्ञानका प्रोफेसर अलेक्सान्द्र कोगनको कम्पनी ग्लोबल साइन्स रिसर्चले पर्सनालिटी अर्थात् व्यक्तित्वका बारेमा अनुसन्धान गर्ने उद्देश्यले सन् २०१४ मा ‘दिस इज योर डिजिटल लाइफ’ नामक एप तयार पारेको थियो । फेसबुकका २ लाख७० हजार प्रयोगकर्ताले उक्त एप डाउनलोड गरेका थिए । उक्त कम्पनी ती प्रयोगकर्ताका साथीहरूका बारेमा समेत जानकारी प्राप्त गर्न सफल भयो, जसका कारण उक्त एप ५० करोड प्रयोगकर्ताका बारेमा जानकारी संग्रह गरेर राखेको थियो ।
ग्लोबल साइन्स रिसर्चले ती सबै जानकारी क्याम्ब्रिज एनालेटिक्सलाई दियो । क्याम्ब्रिज एनालेटिक्सले त्यसको प्रयोग अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदातालाई प्रभावित गर्न प्रयोग गरेको आरोप छ । यति मात्र होइन, यसको प्रयोग युरोपेली युनियनबाट बेलायतलाई अलग हुन गरिएको जनमत–संग्रहमा समेत गरिएको बताइन्छ । यी सबै आरोपपश्चात् कम्पनीका सिइओ अलेक्सान्द्र निक्सलाई निलम्बन गरिएको छ ।
उक्त आरोप सत्य सावित भए फेसबुकले ४० हजार डलर अर्थात करिब ४० लाख रुपैयाँ दण्ड तिर्नुपर्नेछ । अमेरिकाको फेडरल ट्रेड कमिसनले यो घटनाको जाँच गरिरहेको छ ।
प्राइवेसी महत्वपूर्ण
क्याम्ब्रिज एनालेटिक्स नामक कम्पनीले अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदाताको राय जान्न फेसबुकको प्रयोग गरेको कुरा सार्वजनिक भएपछि फेसबुकको प्राइवेसीका बारेमा नयाँ बहस प्रारम्भ भएको छ । यसका लागि प्रयोगकर्ता आफैं पनि सचेत हुनु आवश्यक छ । फेसबुक प्रयोगकर्ता आफैंले पनि सुरक्षाका लागि केही उपाय अपनाउनुपर्छ ।
लगइनविद फेसबुक
धेरै एप्सले फेसबुकबाट लगइन गर्न चाहन्छन् । हामीले प्रयोग गर्ने धेरैजसो एप्सले पनि यसरी फेसबुकबाटै लगइन गर्न चाहेको पाइन्छ, तर लगइनका साथ उक्त एप्सले प्रयोगकर्ताको सबै जानकारीसमेत सूचीबद्ध गरेर लान्छ । त्यसैले सकभर फेसबुक एकाउन्टबाट अर्को कुनै एप्स वा वेबसाइट डाउनलोड गर्नु हुँदैन ।
एप्सको जाँच
हामी फेसबुकसँग जोडिएका सबै जानकारी राख्न सक्दैनौं । फेसबुकमा गेम खेल्दा वा अर्को व्यक्तिलाई त्यसमा इनभाइट गर्दा सम्बन्धित एप्स फेसबुक एकाउन्टमा आएर बस्छ र हामीले प्रयोग नगर्दा पनि प्रयोगकर्ताको डाटालाई एकत्रित गरिरहेको हुन्छ । यस्तो अवस्थामा फेसबुक एकाउन्टमा भएका इन्टिग्रेटेड एप्सको जाँच गर्नु आवश्यक हुन्छ । कुनै शंका लागेको एप्स तुरुन्त हटाउनुपर्छ । सेटिङमा गएर प्राइवेसी चेक गरेर यो समस्या समाधान गर्न सकिन्छ ।
प्राइवेसी जाँच
फेसबुकमा हामीले राख्ने सबै जानकारी वा विषयवस्तु सबैका लागि उपयोगी नहुन सक्छन् । हामी कुनै जानकारी आफ्ना साथीभाइ वा कुनै आफन्तका बीचमा मात्र पनि सेयर गर्न चाहन्छौं । यस्तो अवस्थामा सीमित व्यक्तिहरूका बीच मात्र यस्ता जानकारी सेयर गर्न सकिन्छ ।
प्राइवेसी हाइड
धेरै व्यक्तिले आफ्ना निजी जानकारी पनि फेसबुकमा पोस्ट गर्छन्, तर यसो गर्नु पनि ठीक होइन । आफ्नो जन्मदिन, सम्पर्क नम्बर, ठेगाना आदि ‘हाइड’ गर्नु उपयुक्त हुन्छ ।
बलियो पासवर्ड
धेरैले १२३४ जस्तो शब्द वा अंक प्रयोग गरी पासवर्ड राख्छन् । यसबाट कसैलाई पासवर्ड अनुमान गर्न र ह्याक गर्न सजिलो हुन्छ । त्यसैले सुरक्षाका लागि फेसबुकमा पनि अंक र अक्षर तथा अन्य क्यारेक्टर मिसिएको बलियो पासवर्ड राख्नुपर्छ ।
ड्युअल सेक्युरिटी
फेसबुक एकाउन्टलाई अझ सुरक्षित राख्न ड्युअल सेक्युरिटी प्रयोग गर्न सकिन्छ । यसो गर्दा फेसबुक खोल्दा आईडी र पासवर्ड मागेपछि फेरि एडिसनल कोड माग्छ । उक्त कोड प्रयोगकर्ताको मोबाइलमा प्राप्त हुन्छ । यसबाट फेसबुक एकाउन्ट निकै सुरक्षित हुन्छ ।
लगइन अलर्ट
यदि कुनै व्यक्तिले आफ्नो फेसबुक एकाउन्ट खोल्यो भने लगइन एलर्टबाटै त्यसको जानकारी प्राप्त गर्न सकिन्छ । फेसबुक सेटिङको सेक्युरिटीमा उक्त फिचर फेला पर्छ । उक्त नोटिफिकेसन फोन वा इमेलमार्फत् प्राप्त गर्न सकिन्छ । लगइन अलर्टलाई ‘अन’ गरेपछि मोबाइल वा इमेल नोटिफिकेसनमध्ये कुनै विकल्प छनौट गर्न सकिन्छ ।
के गर्ने ?
सोसल मिडियामा कुनै निजी जानकारी पोस्ट नगर्ने ।
फेसबुकमा कुनै जानकारी पोस्ट गर्दा अडियन्समा ‘फ्रेन्ड्स’ वा ‘पब्लिक’ कुन चयन गर्ने भन्ने कुरामा सचेत हुनुपर्छ । जानकारी साथीभाइका लागि मात्र उपयुक्त छ भने पब्लिकभन्दा फ्रेन्ड्स नै चयन गर्नु उपयुक्त हुन्छ ।
आफ्नो टाइमलाइनमा अन्य व्यक्तिले पोस्टिङ गर्ने विकल्पलाई ‘डिजेबल’ गर्नुपर्छ ।
फेसबुक वालमा तपाईं दार्ही पाल्दा कस्तो देखिनुहुन्छ ? तपाईं अघिल्लो जन्ममा के हुनुहुन्थ्यो ? आदि एप देखिन्छन् । यी एप्सबाट प्रयोगकर्ताको व्यक्तिगत डाटा चोरी हुने खतरा हुन्छ । त्यसैले यस्ता एप प्रयोग गर्नेे कार्यबाट सकभर टाढै रहनु राम्रो ।
निजीपनको रक्षा सेटिङबाट
वेब ब्राउजरबाट फेसबुक लगइन गर्ने ।
स्क्रिनको माथिल्लो भागमा दायाँतिर रहेको ‘सेटिङ’ ट्याबमा क्लिक गर्ने ।
त्यसपछि बायाँतिरको ‘एप’ ट्याबमा क्लिक गरेपछि फेसबुक एकाउन्टसँग जोडिएका सबै एप देखिन्छन् ।
प्रत्येक एपमा क्लिक गर्दै जाँदा कुन एपमा कुन जानकारी सेयर गर्ने अनुमति दिइएको छ भन्ने कुरा थाहा हुन्छ ।
ती सबै जानकारीका साथ दिइएको विकल्पका आधारमा कुन जानकारी सार्वजनिक गर्ने–नगर्ने छनौट गर्न सकिन्छ ।
आफूलाई काम नलाग्ने एप डिएक्टिभसमेत गर्न सकिन्छ ।
आफ्ना पोस्ट वा जानकारी सेयर गर्ने साथीको संख्या आवश्यकताअनुसार सीमित गर्न सकिन्छ ।
यदि आफूलाई फेसबुक एकाउन्ट नै बन्द गर्न मन लाग्यो भने फेसबुकको हेल्प सेन्टरको सहयोग लिन सकिन्छ ।
फेसबुक एप चलाउँदा सावधानी
इन्टरनेटको संसारमा आफू सुरक्षित हुनु छ भने सुरक्षाका उपाय अवलम्बन गर्नु आवश्यक हुन्छ । पासवर्ड अति सुरक्षित राखे पनि फेसबुकमा एपहरू चलाउँदा सावधानी अपनाउनु भएन भने तपाईंको तथ्यांक पनि चोरी भएर त्यसको दुरुपयोग हुनसक्छ ।
अधिकांश फेसबुक एप मनोरन्जनका लागि निर्माण गरिएका हुन्छन् भने केही एप प्रयोगकर्तासँग साक्षात्कार गर्न । अहिले पनि फेसबुकमा ध्यान दिएर हेर्नुभयो भने विभिन्न प्रकारका एप आफ्नै वालमा देख्न सक्नुहुन्छ । आफ्नो तस्बिर विपरीत लिंगमा कस्तो देखिन्छ, भविष्यमा के बन्ने लगायत बिभिन्न प्रकारका एप अहिले भाइरल नै भैरहेका छन् । यस्ता अधिकांश एपले तपाईंको तथ्यांक संकलन गर्छन्, एप चलाउँदै तपाईंको कुन–कुन जानकारी एपले लिन्छ र त्यो कुन प्रयोजनका लागि प्रयोग हुन्छ भनेर प्रस्टसँग लेखिएको छ भने तपाईंले अनुमति दिएपछि मात्र तपाईंको जानकारी त्यो एपले राख्छ । तपाईंको सम्पर्कमा भएका सूची, इमेललगायतका सुचना लिन एपले सहमति माग्छ, तर हामीमध्ये अधिकांशले त्यस्तो सहमतिमा के–के छ भनेर पढ्दै नपढी सहमति जनाउँछौं ।
त्यसैले कुनै पनि एप चलाउनु अघि त्यहाँ के लेखिएको छ, तपाईंको कुन विवरण त्यो एपले राख्छ र कुन प्रयोजनका लागि प्रयोग गर्छ राम्रोसँग पढ्नुपर्छ । तपाईंसँग अनावश्यक कुराको अनुमति लिन सहमति मागिएको छ भने त्यस्ता एप प्रयोग गर्नुहुँदैन । आफूले प्रयोग गरेका एपहरू ट्रयाक गरिरहनुपर्छ र जुन एप चाहिँदैन, त्यसलाई हटाइदिनुपर्छ । यी कार्य फेसबुकको एप ड्यासबोर्डमा गएर गर्न सकिन्छ ।
फेसबुकसँग तपाईंका के–कस्ता तथ्यांक छन् ?
एकपटक सोच्नुहोस् त, तपाईंले फेसबुकलाई आफ्ना के–कस्ता जानकारी दिनुभएको छ ? तपाईंको फेसबुक प्रोफाइलमा भएका सबै तथ्यांक फेसबुकसँग सुरक्षित हुन्छ । तपाईंको नाम, उमेर, वैवाहिक अवस्था, तपाईंको ठेगाना, काम गर्ने कार्यालय लगायत अन्य सबै, त्यसका अतिरिक्त तपाईंले कुन पोस्ट लाइक गर्नुभयो, कुन–कुन पेज तपाईं नियमित हेर्नुहुन्छ, लाइक गर्नुभएको छ, तपाईंका तस्बिरहरू ! अझ तपाईं कुन–कुन वेबसाइटमा जानुभएको छ, त्यसको पनि अवलोकन गरी तपाईंका लागि उपयक्त विज्ञापन फेसबुकले देखाउँछ ।
फेसबुकसँग तपाईंको के–के तथ्यांक छ भनेर जान्न फेसबुकको सेटिङमा जानुपर्छ । त्यसपछि जेनरल सेटिङमा गएर पेजको अन्तिममा रहेको ‘डाउनलोड अ कपी अफ योर फेसबुक डाटा’ क्लिक गरेर फेसबुकले राखेको तथ्यांक हेर्न सकिन्छ ।
यसमा तपाईंले सेयर गरेका पोस्ट, तस्बिर, भिडियो, तपाईंले पठाएका सन्देश, च्याट तथा तपाईंको प्रोफाइलमा भएका सम्पूर्ण विवरण हुन्छन् ।