चैत ११ गते जन्मदिन मनाउनुभएछ, कति वर्ष लाग्नुभयो ?
उमेरचाहिं नभनौं कि ?
बर्थ डे पार्टी त पत्रकार सम्मेलन जस्तो भयो भनिन्छ नि ?
त्यस्तो होइन । पत्रकार ऋषि धमलाले पार्टीमा आफ्ना धारणा व्यक्त गर्नुभएकाले कसैकसैलाई त्यो पत्रकार सम्मेलन जस्तो पनि लाग्यो होला ।
आफूलाई अभिनेत्री एलिजा भन्न रुचाउनुहुन्छ कि पत्रकार ऋषि धमलाकी श्रीमती ?
घर भित्र म श्रीमती धमला हुन्छु भने चलचित्रमा अभिनेत्रीका रूपमा सक्रिय छु ।
चलचित्रमा अभिनेत्री नै बन्ने योजनाचाहिं ?
आफूले लगानी र मेहनत गरेर निर्माण गरेको चलचित्रमा आफैंले किन अभिनय नगर्ने भन्ने कुरा भयो । अभिनय गर्ने धेरै अघि देखिको रहर पनि थियो ।
चलचित्र ‘अनुराग’ को काम कहाँ पुग्यो ?
एउटा गीतको छायांकन बाँकि थियो, त्यसका लागि यही साता मुस्ताङ जाँदैछौं । उताबाट फर्किएर डविङ गरेपछि प्रचार–प्रसारमा लाग्छौं । यो चलचित्र जेठ ११ गतेदेखि प्रदर्शनमा आउनेछ ।
चलचित्रको छायांकनअघि तीन–चार जना अभिनेता फेर्नुभयो, अहिलेका अभिनेताबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
चलचित्र फ्लोरमा जानु अघिसम्म कलाकार परिवर्तन हुनुलाई सामान्य नै मानिन्छ । हाम्रो चलचित्रमा पनि त्यस्तै भएको हो । समुन्द्र पण्डितका रूपमा हामीले नयाँ अनुहारलाई अभिनेताका रूपमा लिएका छौं । उनीसंग मेरो जोडी सुहाएको युनिटका सदस्यहरूको प्रतिक्रिया छ । आशा छ दर्शकहरूले समेत हाम्रो जोडीलाई मन पराउनुहुनेछ ।
आफ्नो कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
आफ्नो पहिलो चलचित्र भएकाले म त शतप्रतिशत सन्तुष्ट छु । मेरो उत्साहलाई दर्शकको साथ र सहयोगले थप उचाइमा पुर्याउनेछ ।
चलचित्रमा कस्तो विषयवस्तु समावेश छ ?
यो प्रेम कथामा आधारित चलचित्र हो, जसले टिनएजरदेखि हरेक उमेरका दर्शकको मन जित्न सक्छ ।
क्यामेराको अघिल्तिर नर्भस हुनु भयो कि भएन ?
छायांकनको पहिलो दिन हल्का अफ्ट्यारो लागेको थियो, यद्यपि भोलिपल्टदेखि नै म सामान्य भैसकेकी थिएँ । पछि–पछि त पहिलो चलचित्रमा अभिनय गर्दैछु जस्तै लागेन ।
आफूमा के कस्तो कमजोरी अनुभव गर्नुभयो ?
खासै धेरै कमजोरी त फेला पारेकी छैन, तर अभिनय र नृत्यको प्रशिक्षण लिएको भए अझ उत्कृष्ट काम गर्न सक्थें कि भन्ने लागेको छ ।