साप्ताहिक संवाददाता
भारतीय अभिनेता सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाइएको छ । अदालतको फैसलापछि प्रहरी नियन्त्रणमा रहेका सलमान खानलाई अहिले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।
स्वास्थ्य परीक्षणपछि उनलाई जोधपुरको केन्द्रीय कारागारमा लगिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहीबार दिउँसो विशेष अदालतले खानलाई २० वर्षअघि कृष्णसार मारेको अभियोगमा पाँच वर्षको कारागार सजाय सुनाएको थियो ।
सलमानलाई अदालतले ३ वर्षको जेल सजाय सुनाएको भए धरौटीमा छुट्न सक्ने बताइएको छ ।
३ वर्षभन्दा धेरैको सजाय सुनाइएका कारण उनले जेल बस्नु पर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् । अदालतले सलमानलाई वन्य जीव संरक्षणको धारा ९/५१ का अनुसार दोषी ठहर गरेको हो ।
सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको समयमा सलमान खानले कृष्णसार मारेको आरोप लागेको हो । साथै सलमानलाई उक्साउन सहयोग गरेको आरोपमा सैफ अली खानसहितका अन्य कलाकारको नाम पनि समावेश छ ।