साप्ताहिक संवाददाता
केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्लाई सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि सार्वजनिक सवारी साधनहरू रोकेर राष्ट्रपति भण्डारीको सवारी चलाइएपछि धेरैले त्यसमा असन्तुष्टि व्यक्त गरे भने कतिपयले त्यसलाई राजतन्त्रको रवाफसँग तुलना गरे । सामाजिक सञ्जालमा उठेका केही टीका–टिप्पणी :
मदन भण्डारी भन्थे– राजा पाल्नु भनेको हात्ती पाल्नु हो, राष्ट्रपति पाल्नु भनेको बोको पाल्नुजस्तै हो । तर सामाजिक बोका जङ्गली हुँडार, हात्ती, बाघ हुँदै सिंह बन्ने पथमा अग्रसर छन् । विडम्बना, हामीले बोकालाई हात्ती होइन राजा बनाएर पाल्नुपर्ने भयो— समयको खेल ।
च्यवन घिमिरे
राष्ट्रपतिको संसद्सम्मको सवारीका बारेमा नकारात्मक टिप्पणी मात्र आयो । सम्बोधन गर्न आउनु नै हुँदैनथ्यो कि ? यस्तो बेला कुन सवारी कसरी प्रयोग गर्ने ? बग्गीमा सवारी हुँदा नै जनताको राष्ट्रपति नभएको निर्णयमा पुगिहाल्ने कि रचनात्मक विकल्प पनि दिने ?
गोपाल खनाल
गणतन्त्रमा पनि उही पुरानै राजसी ठाँटको सवारीलाई जनताले पटक्कै मन पराएका छैनन् । यत्ति कुरा पनि राष्ट्रपतिलाई थाहा छैन होला ? कि राष्ट्रपति भएपछि जनताको आवाज सुनिँदैन वा सुन्न मन लाग्दैन ।
मञ्जरी
राष्ट्रपति राष्ट्रको शिर हो । लोकतान्त्रिक गणतन्त्र नेपालको सबैभन्दा ठूलो व्यक्ति राष्ट्रपति हो भन्ने कुरा भुल्नु राम्रो होइन । पक्ष–विपक्षमा नलागौं, यसले हित गर्दैन । बाटो हिंड्दा मोटरसाइकल सवार पाइलट र बग्गी अघिपछि लाएर नागरिकलाई दु:ख दिने संस्कारको अन्त्य हुनुपर्छ ।
सरस्वती सुब्बा
भनिन्छ, गणतन्त्र आयो लोकतान्त्रिक शासन सुरु भयो, तर राष्ट्रपतिको सवारी देख्दा राजतन्त्रको झलझली सम्झना आउँछ । भन्नुस् यो लोकतन्त्र कि राजतन्त्र ?
केदार मरासिनी
राष्ट्रपति, गणतान्त्रिक मुलुकको सर्वोच्च संस्था । राष्ट्रपतिको यस्तो ‘सवारी आकांक्षा’ ले सर्वोच्च संस्थाको गरिमा होइन, जनआक्रोश बढाउँछ । पदको गरिमा उसैले जोगाउनुपर्छ, जो उक्त पदमा छ ।
रामेश्वर बोहोरा
राष्ट्रपतिले म सुरक्षा नलिई हिंड्छु भन्दा सुरक्षा संयन्त्रले रोक्ला ? राष्ट्रपतिले ‘सडक बन्द गरेर भाषण गर्न जान्नँ, भोज खान जान्नँ, मन्दिर दर्शन गर्न जान्नँ, मेरो यात्राका कारण नागरिकले दु:ख पाउनु हुन्न’ भन्दा कर्मचारीतन्त्रले मान्दैन, भनेको हो भने किन राष्ट्रपति पदमा बसि’रा त ? वाहियात ।
दीपक भट्टराई
म राष्ट्रपति भएर संसद्मा भाषण गर्न जाने दिन त देशभरि नै गाडी चलाउन रोक्ने हो । राष्ट्रपति हिंडेको जनतालाई थाहा त हुुनुपर्यो नि यार † थोडी बाख्रा चराउन जान लागेको हो र ?
डिल्ली भट्टराई