साप्ताहिक संवाददाता
चलचित्र ‘शत्रु गते’ले रिलिजको २ साता पुरा गरेको छ । यो चलचित्रले २ सातामा ८ करोडको व्यापार गरेको वितरकको दाबी छ । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र कलेक्सन राम्रो भएकैले अधिकांश हलमा फिल्मले तेस्रो सातामा पनि निरन्तरता पाएको मोफसल वितरक विक्रम पराजुलीले बताएका छन् ।
काठमाडौं उपत्यकाभित्रको वितरण जिम्मा सम्हालेका गोपालकाजी कायस्थले पनि दर्शक संख्या बढ्दो भएको जनाए । ‘शत्रु गते’ को सो राजधानीका मल्टिप्लेक्समा समेत उल्लेख्य पाइरहेको छ । अन्य हलमा पनि फिल्मले सो र दर्शक राम्रै पाइरहेको छ, उनले बताए ।
‘दोस्रो सातामा एसईई दिएका विद्यार्थीको ओइरो लागेपछि चलचित्रको व्यापारले झनै पिकअप लिएको हो,’ पटकथा लेखकसमेत रहेका निर्देशक भट्टराईले भने, ‘त्यो तहका दर्शकले फिल्म अझ रुचाइदिनुभएको छ ।’
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरि पौडेल, वसुन्धरा भुसाल, रमेशरञ्जन झालगायतको अभिनय छ ।
मह सञ्चारको ब्यनारमा निर्मित ‘शत्रु गते’ लाई किरण केसीले प्रस्तुत गरेका हुन् ।