साप्ताहिक संवाददाता
मुम्बई इन्डियन्स
टिम मालिक : मुकेश अम्बानी, नीता अम्बानी
प्रशिक्षक : महेला जयवद्र्धने
डिफेन्डिङ च्याम्पिन्स हो, मुम्बई इन्डियन्स अनि यसपटकको उपाधिको उत्तिकै बलियो दाबेदार पनि । मुम्बईले पछिल्लो पटक उपाधि जित्दाको टिमलाई नै कायम गरेको छ । रोहित शर्मा र जेपी डुमेनीले टिमको ब्याटिङ क्रम सम्हाल्नेछन् । बलिङतर्फ मुम्बईलाई केही कमजोर मान्न सकिन्छ, टिममा खासै नाम चलेका बलर छैनन । त्यसैले टिम अलराउन्डरहरूमा निर्भर रहनेछ । मुम्बईसँग हार्दिक पान्ड्याजस्ता धुरन्धर अलराउन्डर छन् ।
दिल्ली डेयरडेभिल्स
टिम मालिक : जीएमआर ग्रुप
प्रशिक्षक : प्याडी अप्टन
सन्दीप लामिछानेको टिम हो— दिल्ली डेयरडेभिल्स । दिल्लीले ब्याटिङकै कारण गत सिजनका अधिकांश खेल गुमाएको थियो । त्यसैले टिमले यसपटक गौतम गम्भीर, कोलिन मुनरो र ग्लेन म्याक्सवेललाई आफ्नो टिममा समावेश गरेको छ । दिल्लीले यसपटक बलर कगिसो रबादा , मोहम्मद सामी र अमित मिश्रा टिममा सामेल गरेको छ । क्रिस मोरिस ब्याट र बलबाट चम्किए भने प्रतियोगितामा दिल्लीको राम्रै सम्भावना छ ।
कोलकाता नाइटराइडर्स
टिम मालिक : शाहरूख खान, जुही चावला
प्रशिक्षक : ज्याक कलिस
कोलकाता नाइटराइडर्स यसपटक बलर हावी भएको टिम मानिएको छ । ब्याटिङतर्फ खासै ध्यान नदिँदा कोलकाताले चर्को मूल्य तिर्नुपर्ने हुनसक्छ । टिमका मु्ख्य ब्याट्सम्यान हुनेछन, रोबिन उत्थप्पा र दिनेश कार्तिके । बलिङ आक्रमणतर्फ टिमसँग सुनिल नारायण, कुलदीप यादव र मिचेल स्टार्क जस्ता खेलाडी छन् । यस्तै टिममा अनुभवी पीयूष चावला पनि छन् । अलराउन्डर आन्द्रे रसेलको प्रदर्शनले पनि धेरै हदसम्म कोलकाताको भाग्य निर्धारण गर्नेछ ।
किङ्स इलेभन पञ्जाव
टिम मालिक : प्रिटी जिन्टा र नेस वादिया
प्रशिक्षक : वीरेन्द्र सहवाग
पछिल्ला सिजनको तुलनामा यसपटक किङ्स इलेभन पञ्जाव केही बलियो देखिन्छ । पन्जाबसँग क्रिस गेल र आरोन फिन्च जस्ता ब्याट्सम्यान छन् । यस्तै केआर राहुल पनि टिमका प्रमुख ब्याट्सम्यान हुनेछन् । अक्षर पटेलले टिममा अलराउन्डरको भूमिका निर्वाह गर्नेछन् । पन्जाबका कप्तान रविचन्द्रन अश्विन हुन् । तर प्रश्न के छ भने अश्विन आफैं कति लयमा छन् ? चोटका कारण पोहोर उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।
सनराइज हैदराबाद
टिम मालिक : सन टीभी नेटवर्क
प्रशिक्षक : टम मुडी
प्रतियोगिताअघि नै सनराइज हैदराबादलाई ठूलो धक्का लागेको छ, हैदराबादले कप्तान डेविड वार्नरलाई गुमाइसकेको छ । त्यसैले ब्याटिङको जिम्मेवारी अब शिखर धवनमा केन्द्रित भएको छ । यस्तै न्युजिल्यान्डका कप्तान केन विलियम्स तथा मनिष पाण्डेले पनि ब्याटिङ क्रम सम्हाल्नेछन् । साकिब अल हसन उपयोगी अलराउन्डर सावित हुन सक्छन् । हैदराबादको बलिङ भुवनेश्वर कुमार तथा अफगानिस्तानका रसिद खानले सम्हाल्नेछन् ।
रोयल च्यालेञ्जर्स बैंगलोर
टिम मालिक : युनाइटेड स्प्रिट्स
प्रशिक्षक : ड्यानिएल भिटोरी
रोयल च्यालेञ्जर्स बैंगलोरको विशेषता नै हो— आक्रामक रूपमा खेल्ने र यो आक्रामक खेलको नेतृत्व गर्ने अरू कोही नभएर विराट कोहली आफैं हुन् । तय छ, यसपटक पनि बैंगलोरको टिम उपाधिको बलियो दावेदार हुनेछ । टिममा एकसेएक ब्याट्सम्यान छन्, कोहलीसँगै एबी डे भिल्लियर्स, क्विन्टेन डे कक, ब्रेन्डन म्याककलम । टिमको बलिङ तुलनात्मक रूपमा कमजोर छ । बैंगलोरले यसअघि पनि बलिङकै कारण खेल गुमाउने गरेको थियो । बैंगलोरसँग नाम चलेका कुनै पनि बलर छैनन ।
राजस्थान रोयल्स
टिम मालिक :मनोज बडाले र ल्याचलन मुर्डाेच
प्रशिक्षक : शेन वार्न
राजस्थान रोयल्सले दुई वर्षपछि प्रतियोगितामा पुनरागमन गर्दैछ, त्यसैले यो टिममाथि एक खालको दबाब हुनेछ । राजस्थानको विशेषता नै हो, प्रतिभाशाली तर कम नाम चलेका खेलाडीमा भर पर्ने । यसपटक पनि राजस्थानले त्यही प्रवृत्ति रोजेको छ । यद्यपि टिमसँग सनसनीपूर्ण अलराउन्डर बेन स्टोक्स नभएका होइनन् । टिमले बल ट्याम्परिङका कारण कप्तान स्टिभ स्मिथलाई गुमाइसकेको छ । उनको अनुपस्थितिमा अब टिमको जिम्मेवारी अजिन्के रहाणेले सम्हाल्नेछन् । धेरै अर्थमा टिमको बलिङ कमजोर नै छ, टिममा नाम चलेका कुनै बलर छैनन् ।
चेन्नाई सुपर किङ्स
मालिक : चेन्नाई सुपर किङ्स प्रालि
प्रशिक्षक : स्टेफेन फ्लेमिङ
आईपीएल इतिहासको सर्वाधिक सफल टिम हो— चेन्नाई सुपर किङ्स । यो टिमले पनि प्रतियोगितामा पुनरागमन गर्दैछ, त्यसैले प्रतिस्पर्धा थप रोमाञ्चक हुनेछ । आईपीएलमा चेन्नाईको टिम किन बलियो हुन्छ, किन यसले बढी खेल जित्छ र उपाधिमाथि कब्जा जमाउँछ भन्ने कुरा रहस्यमै छ । टिमका कप्तान हुन्— महेन्द्रसिंह धोनी । यो टिममा ब्याटिङ र बलिङ दुवैका स्टार खेलाडीको कमी छैन । सुरेश रैना, रवीन्द्र जडेजा, फाफ डु फ्लेसेस, ड्वेन ब्राभो, सेन वाट्सन आदि । चेन्नाईको सबैभन्दा बलियो पक्ष हो— प्रशस्त अलरान्डर खेलाडी हुनु ।