यही चैत २८ गते बुधबार देशले नयाँ मिस नेपाल पाउँदैछ । हिडेन ट्ेरजरले आयोजना गरिरहेको मिस नेपालको २३ औं संस्करणमा देशका विभिन्न भागको प्रतिनिधित्व गर्ने तथा विदेशमा बसोबास गर्दै आएका नेपाली युवतीहरू आफूलाई उत्कृष्ट सावित गर्न पछिल्ला सात हप्तादेखि कडा परिश्रम गरिरहेका छन् । मिस नेपाल–२०१८ को ग्रान्ड फिनाले दरबारमार्गस्थित होटल अन्नपूर्णमा हुँदैछ । साँझ ७ बजे प्रारम्भ हुने यो वर्षको मिस नेपाल प्रतियोगिताले राति १० नबज्दै नयाँ मिस नेपाल दिइसक्नेछ ।
आयोजक संस्थाका प्रमुख गोपाल सुन्दर लाल कक्षपति ‘मिस नेपाल–२०१८’ को सम्पूर्ण तयारी पुरा भैसकेको बताउँछन् । ‘प्रतियोगिताका लागि हामी करिब–करिब तयार भैसकेका छौं,’ कक्षपति भन्छन्— ‘केही प्राविधिक कार्यबाहेक अन्य सम्पूर्ण तयारी गरिसकेका छौं ।’ यो वर्ष मिस नेपालको इतिहासमै पहिलो पटक सबैभन्दा धेरै प्रतिस्पर्धी (२५ जना) मैदानमा छन् । काठमाडौंसहित पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्मका युवतीहरूले यसपटकको प्रतियोगितामा सहभागिता जनाएका छन् । त्यसबाहेक अमेरिका, बेलायत, अस्ट्ेरलिया तथा स्पेनमा बसोबास गर्दै आएका नेपाली चेलीहरू पनि मिस नेपालको उपाधि जित्ने सपना बोकेर काठमाडौं ओर्लिएका छन् । मिस नेपालका प्रतिस्पर्धीहरूको संख्या बढ्नुका आफ्नै कारण छन् ।
कक्षपतिका अनुसार अहिले मिस नेपालमा सहभागिता जनाउने युवतीहरूले दुई–तीन वर्षदेखि तयारी गरिरहेका हुन्छन् । त्यसरी तयारी गरेर प्रतिस्पर्धाको अडिसनमा सहभागी हुने युवतीहरूको संख्या बढिरहेको छ । ‘राम्रो शैक्षिक पृष्ठभूमि, आकर्षक व्यक्तित्व, पूर्ण पूर्वतयारी तथा अग्लो कद भएका आकांक्षीहरूको संख्या बढेकै कारण हामीले यो वर्ष प्रतिस्पर्धीहरूको संख्या २० बाट २५ पुर्याएका हौं, कक्षपति भन्छन्— यही वर्षदेखि मिस नेपालका चार मुख्य उपाधि विजेतालाई पहिलो पटक उस्तै पुरस्कार प्रदान गर्न लागिएको छ । यो वर्ष मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल तथा मिस नेपाल युनिभर्सको उपाधि जित्ने चार जना मुख्य विजेतालाई आकर्षक क्राउनसहित १–१ लाख रुपैयाँ प्रदान गरिनेछ । यी चारै जना विजेताले आगामी वर्ष विभिन्न देशमा सञ्चालन हुने मिस वल्र्ड, मिस अर्थ, मिस युनिभर्स तथा मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
मिस नेपाल–२०१८ का प्रतिस्पर्धीहरूले यो प्रतियोगिताकै इतिहासमा पहिलो पटक सर्वाधिक सात हप्ता प्रशिक्षण लिने मौका पाएका छन् । प्रतिस्पर्धीहरूको संख्या बढेसँगै प्रशिक्षण अवधिसमेत बढाइएको आयोजक संस्थाले जनाएको छ । करिब दुई महिनाअघि देशव्यापी अडिसन सम्पन्न भएपछि काठमाडौंमा फाइनल अडिसन लिइएको थियो । उक्त अडिसनबाट २५ जना युवती छनौट भएलगत्तै उनीहरूलाई धुलिखेलको एउटा रिसोर्टमा सञ्चालित क्लोज क्याम्पमा सहभागी गराइयो । चारदिने क्लोज क्याम्पका क्रममा सहभागीहरू एक–अर्काको नजिक मात्र भएनन्, मिस नेपालमा सहभागिता जनाएपछि जित्न मात्र होइन हार्न समेत सिक्नुपर्छ भन्ने कुरालाई पनि आत्मसात् गरे । त्यसक्रममा उनीहरूले ध्यान, योग, शारीरिक व्यायामदेखि आध्यात्मिक विषयसम्ममा प्रशिक्षण प्राप्त गरे ।
धुलिखेलबाट फर्किएपछि प्रतिस्पर्धीहरूले आयोजक संस्थाको कुपन्डोलस्थित कार्यालयकै प्रेक्षालयमा थप प्रशिक्षण लिए । त्यसक्रममा उनीहरूलाई ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, न्यायमूर्ति सपना प्रधान मल्ल, कोरियोग्राफर रचना शर्मा गुरुङसहित अनिल रघुवंशी, भवानी राणा, प्रतिभा श्रेष्ठ, प्रचण्डमान श्रेष्ठ, सुमन शाक्य, श्रद्धा मास्के तथा राजश्री राणा (स्टाइलिस) ले विविध विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
झन्डै तीन साता लामो उक्त प्रशिक्षणकै क्रममा सहभागीहरू रि–क्रिएसनका लागि पोखरा पुगे । पोखरामा तीन दिन बिताउने क्रममा उनीहरू विभिन्न क्रियाकलापमा सक्रिय भए । त्यसक्रममा उनीहरूले पर्यटकीय सहर पोखरामा स्कुटरी र्यालीसमेत निकाले । यामाहाले आयोजना गरेको उक्त र्यालीमा प्रतिस्पर्धीहरूले ‘हामी पोखरालाई माया गर्छौं’ लेखिएका झन्डा तथा ब्यानर बोकेर पोखराको फन्को लगाएका थिए । तालैतालको सहर पोखराका बारेमा प्रचार–प्रसार गर्न तथा त्यसलाई नजिकबाट चिन्न मिस नेपालको आयोजक संस्थाले उक्त कार्यक्रम आयोजित गरेको थियो । पोखरा भ्रमणका क्रममा उनीहरूले मनकामना मन्दिरको दर्शनमात्र गरेनन् पोखरामै बञ्जी जम्पको मज्जा समेत लिए ।
पोखराबाट काठमाडौं फर्किएपछि उनीहरू एकदिने खेलकुद प्रतियोगितामा सहभागी भए । मिस एथलेट प्रतियोगिताका लागि उनीहरू लगनखेलस्थित सैनिकको खेलकुद मैदानमा बिहानैदेखि मध्यान्हसम्म सक्रिय थिए ।
पछिल्लो एक सातादेखि उनीहरू मिस नेपालको ग्रान्ड फिनालेका लागि स्टेज–केन्द्रित अभ्यासमा व्यस्त छन् । त्यसक्रममा उनीहरूले क्याटवाक, आइ कन्ट्याक्ट, पोस्चर आदि विषयमा कोरियोग्राफर रचना शर्मा गुरुङसंग प्रशिक्षण लिइरहेका छन् ।
ग्रान्ड फिनाले भन्दा तीन दिन अघि उनीहरू प्रतियोगिता आयोजनास्थल अन्नपूर्ण होटलमा सञ्चालन हुने क्लोज क्याम्पमा सक्रिय हुनेछन् । ग्रान्ड फिनाले सम्पन्न भएको भोलिपल्ट मात्र सहभागीहरू आ–आफ्नो घर जान पाउनेछन् ।
यसपटकको प्रतियोगितामा २० देखि २४ वर्ष उमेरका मानविकी, व्यवस्थापन तथा विज्ञान संकाय अध्ययन गरेका युवतीहरू सहभागी छन् भने ५ फिट साढे ५ इन्चदेखि ५ फिट ९ इन्च अग्ला युवतीहरू प्रतिस्पर्धामा छन् ।
यसपटकको प्रतियोगितामा काठमाडौंबाट सर्वाधिक आठ जना युवतीले प्रतिस्पर्धा गरिरहेका छन् । महिमा सिंह, रोनाली अमात्य, शर्वाणी पाण्डे, प्रिया सिग्देल, अनाश्रुत पन्त, आष्मा ढुंगाना, मेघा श्रेष्ठ तथा एञ्जिता महत काठमाडौंबाट मिस नेपालमा प्रतिनिधित्व गर्ने प्रतिस्पर्धी हुन् । उनीहरूबाहेक अन्य प्रतिस्पर्धीमा भक्तपुरबाट तीन जना आस्था शाख, एलिशा बुढाथोकी तथा सृष्टि कार्की यो प्रतियोगितामा छन् । पोखरा, विराटनगर तथा भरतपुरका दुई–दुई जना प्रतियोगी यो प्रतिस्पर्धामा छन् । अनुपमा बास्तोला तथा शिक्षा संग्रौला बिराटनगरका हुन् भने सन्ध्या अधिकारी तथा सुष्मिता सापकोटा भरतपुरका हुन् । पोखराबाट भने ज्योत्सना क्षेत्री र ममता जोशीले प्रतियोगितामा भाग लिइरहेका छन् ।
यसबाहेक वीरगञ्ज, गोरखा, महेन्द्रनगर, दाङ, रुपन्देही, धनकुटा, झापा तथा हेटौंडाका एक–एक जना प्रतिस्पर्धी यो प्रतियोगितामा सामेल छन् । वीरगञ्जकी काश्या अधिकारी, गोरखाकी मनिता देवकोटा, महेन्द्रनगरकी लक्ष्मी पन्त, दाङकी शुभेच्क्षा श्रेष्ठ, रुपन्देहीकी लक्ष्मी पौडेल, धनकुटाकी सायरा लामा, झापाकी एलिशा अधिकारी तथा हेटौंडाकी श्रृंखला खतिवडाले पनि मिस नेपालको उपाधिका लागि कडा मेहनत गरिरहेका छन् ।
मिस नेपालका मुख्य उपलब्धि
सन् २०१६ को मिस वल्र्डमा नेपालकी सहभागी अस्मि श्रेष्ठ ‘ब्युटी विद प्रर्पोस’ को उत्कृष्ट पाँचमा पर्न सफल भएकी थिइन् ।
मिस नेपालको इतिहासमा पहिलो पटक सन् २०१० की विजेता सदीक्षा श्रेष्ठलाई बामा मोटर्सको चेरी कार प्रदान गरिएको थियो । त्यसअघि तथा पछि कुनै पनि विजेतालाई कार प्रदान गरिएको छैन ।
यही वर्षदेखि नै मिस नेपालकी एक जना उपाधि विजेताले मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न थालेकी छिन् । पहिलो पटक मोडल नग्मा श्रेष्ठले उक्त अवसर प्राप्त गरिन् । द हिडेन ट्ेरजरले आफ्नो २२ औं तथा मिस नेपालको २३ औं वार्षिकोत्सवका अवसरमा नग्मालाई पहिलो मिस नेपाल यूनिभर्स घोषणा गरेको थियो । नग्माले गत नोभेम्बर २६ मा अमेरिकामा सम्पन्न ६६ औं संस्करणको मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् ।
सन् २०१३ को मिस वल्र्डमा नेपालकी प्रतिनिधि इशानी श्रेष्ठले ब्युटी विद द पर्पसको उपाधि जितेकी थिइन् ।