साप्ताहिक संवाददाता
सफलता र लोकप्रियताको मूल्य विवाद पनि हुन्छ । इन्डियन प्रिमियर लिग (आईपीएल) जति आकर्षक प्रतिस्पर्धा मानिन्छ, यो उत्तिकै विवादग्रस्त पनि छ । अर्को अर्थमा आईपीएलको अर्को नाम नै विवाद हो । विवाद पनि कति चर्को भने यसले प्रतियोगिताको अस्तित्व नै संकटमा पार्न सक्ने स्थिति पनि तयार भयो, तर प्रत्येक अवसरमा आईपीएलले आफ्नो अस्तित्व कायम राख्दै आयो । आईपीएलसँग जोडिएका प्रमुख पाँच विवाद :
मोदीको बर्खास्ती
आईपीएललाई ललित मोदीको सोच मानिन्छ । उनकै उत्कृष्ट योजनाअनुरुप अहिलेको आईपीएलको जन्म भएको थियो, तर विवादबीच मोदी सन् २००९ मा आईपीएल छाड्न बाध्य भए । त्यति मात्र होइन, मोदीको स्थिति कतिसम्म नाजुक भयो भने उनी भारत नै छाड्न बाध्य तुल्याइए र अहिले लन्डनमा निर्वासित जीवन व्यतीत गरिरहेका छन् । अहिले पनि उनी लन्डनबाट आईपीएलाई विवादमा तान्ने प्रयास गरिरहन्छन् । आईपीएल छाड्नुअघि उनीमाथि आर्थिक हिनामिनाको आरोप लागेको थियो । मोदीमाथि घुस लिएको, गलत अनुबन्ध गरेको, बाजी राखेको र गलत रूपमा पैसा सापटी दिएको आरोप थियो र पछि त्यो पुष्टि पनि भयो ।
स्पट फिक्सिङ
सन् २०१३ मा आईपीएल यस्तो विवादमा फसेको थियो, जसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो समस्याका रूपमा लिइन्छ । त्यो वर्षको प्रतियोगितामा राजस्थान रोयल्सका तीन खेलाडीमाथि स्पट फिक्सिङको गम्भीर आरोप लाग्यो । स्पट फिक्सिङका लागि सांकेतिक रूपमा उनीहरूले रुमाल प्रयोग गरेको प्रमाणित समेत भयो । त्यति बेला स्पट फिक्सिङको आरोप लाग्ने खेलाडी थिए, भारतका लागि खेलिसकेका एस श्रीसन्तसहित अंकित चौहान र अजिन चन्डिला । पछि यी तीनै जना खेलाडीमाथि भारतीय क्रिकेट बोर्डले आजीवन प्रतिबन्ध लगायो ।
फरक र बाझिएको रुचि
कन्फ्लिक्ट अफ इन्ट्ेरस्ट अर्थात् फरक र बाझिएको रुचि । यसले पनि आईपीएललाई ठूलै विवादमा तानेको थियो । एन श्रीनिवासन कुनै समय भारतीय क्रिकेट बोर्डका अध्यक्ष थिए । प्रतियोगितामा उनको टिम चेन्नाई सुपर किङ्स पनि खेलिरहेको थियो । यस्तोमा अध्यक्षको टिमले प्रतियोगिताका क्रममा बढी फाइदा लिएको आरोप पनि लाग्यो । नभन्दै अध्यक्षकै टिम प्रतियोगिताको इतिहासमा सबैभन्दा बढी सफल सावित हुँदै आएको छ । यी सबै विवादबीच श्रीनिवासन बोर्ड अध्यक्ष छाड्न बाध्य तुल्याइए । त्यसमाथि उनका ज्वाइँ गुरुनाथ मयप्पनमाथि बाजी राखेको आरोप लाग्यो । उक्त आरोपकै कारण चेन्नाइ सुपर किङ्समाथि निश्चित समयको प्रतिबन्ध लगाइयो ।
दक्षिण अफ्रिकामा सरेको प्रतियोगिता
आईपीएल वास्तवमै कति धनी प्रतियोगिता हो भने ऊसँग भारतमा मात्र नभएर सिंगै प्रतियोगिता विदेशमा आयोजना गर्न सक्ने क्षमता छ । सन् २००९ मा भारतमा आम चुनाव थियो, त्यसैले सरकारले आईपीएसललाई पूर्ण सुरक्षा दिन नसक्ने बतायो । यस्तोमा पूरा प्रतियोगिता नै दक्षिण अफ्रिकामा आयोजित गरियो । यसले गर्दा भारतीय सरकार र भारतीय क्रिकेट बोर्डबीच तनावको स्थिति सिर्जना भयो । सरकारलाई बोर्डको यो काम चित्त बुझेन र उसले पनि प्रतियोगितामाथि विशेषत: आर्थिक पक्षमा कडाइ गर्न थाल्यो ।
टिमको संख्या विवाद
यो प्रतियोगितामा कति टिम सहभागी हुन सक्छन्, भारतीय क्रिकेट बोर्डले कहिल्यै निश्चित गरेन । बोर्डले आफ्नो अनुकुल टिम थप्ने र बाहिर राख्ने काम गरिआएको छ । यो कामलाई लिएर बोर्ड ठूलै विवादमा तानियो र उसको चर्को आलोचना पनि भयो । जस्तो हैदराबाद, कोची र पुणेका टिमले कुनै समय प्रतियोगिता खेल्ने अवसर त पाए, तर निरन्तरता पाउन सकेनन् । प्रतियोगितामा उनीहरूको स्थानमा चेन्नाई सुपर किङ्स र राजस्थान रोयल्सले अवसर पाए । हैदरावाद, कोची र पुणेका टिममाथि अन्याय भएको अनुभव धेरैले गरे । त्यति मात्र होइन, डेकन चार्जस हैदराबादसँग बोर्डको झगडाका कारण अन्तिम समयमा हैदराबाद टिम नै बर्खास्तीमा पर्यो ।